शनिबार, आश्विन १७ गते २०८३

सीपीसी : पार्टी स्थापनाको शतबार्षिकीमा -‘कहिल्यै नबिर्स– तिमीले किन शुरु गरेका थियौ ।’

आषाढ १८, २०७८ शुक्रबार
सीपीसी : पार्टी स्थापनाको शतबार्षिकीमा  -‘कहिल्यै नबिर्स– तिमीले किन शुरु गरेका थियौ ।’

न्यूज एजेन्सी । चिनीयाँ कम्युनिस्ट पार्टी स्थापनाको सय बर्ष पुगेको छ । यस अवसरमा सांघाई सहरका बिलबोर्डहरुमा जताततै देखिन्छ– ‘कहिल्यै नबिर्स– तिमीले किन शुरु गरेका थियौ ।’
यस्तै लेखिएका बोर्डहरु देशका अन्य शहर र राजधानी बेइजिङ्गमा पनि छ । चीनले जुलाई १ मा कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने गरेको छ । पार्टी स्थापनाको एक सय वर्ष पुगेको अवसरमा यसपटक विशेष रुपले मनाउँदैछ ।

यही अवसरमा हिजाे बिहीबार  तियानमेन चोकमा भएकाे  विशाल भेलालाई महासचिव शी जिनपिङ्ग ले सम्बोधन गर्दै चीन कुनै बिदेशी शक्तिबाट नदब्ने कडा चेतावनी दिएका छन।

 

विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी
एक सय वर्षअघि रुसी बोल्सेभिक क्रान्तिबाट प्रभावित भएर केही दर्जन युवाहरु सांघाईस्थित फ्रान्सको नियन्त्रणमा रहेको क्षेत्रमा कम्युनिस्ट पार्टी स्थापना गर्न भेला भएका थिए। तर, केही दिनपछि प्रहरीले हस्तक्षेप ग¥यो र उनीहरु भागेर नजिकैको च्यासिङमा पुगे। त्यहीँको एउटा तालमा डुंगामा बसेर १३ जनाले परस्परमा छलफल टुंग्याएका थिए।

यसरी लुकिछिपी शुरू गरिएको पार्टी अहिले विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली राजनीतिक आन्दोलन बनेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापना हुँदा कम्युनिस्ट पार्टी स्थापना हुँदा चीन गरीब र गृहयुद्धबाट आक्रान्त मुलुक थियो। त्यसबेला पार्टीका जम्मा सदस्य ५० जना थिए।

१९२७ मा च्याङ काइ सेकको आक्रमणमा परेर अत्यन्त कमजोर भएको कम्युनिस्ट पार्टीले लाल सेना गठन ग¥यो। १९३४–३५ माको लङ मार्चसँगै माओ त्सेतुङ पार्टी नेताको रुपमा उदाए। खासगरी ग्रामीण जनसंख्याको समर्थन कम्युनिस्ट पार्टीलाई रह्यो। माओ १९४५ मा अध्यक्ष बने। कुशल रणनीतिकार माओकै नेतृत्वमा १९४९ कम्युनिस्ट पार्टी सत्तामा पुग्यो। सोही वर्षको अक्टोबर १ मा अध्यक्ष माओले जनगणतन्त्र चीन स्थापनाको घोषणा गरे। च्याङ काइ सेक भागेर ताइवान टापुमा पुगे।

सत्तामा पुगेपछि माओले औद्योगिक विकासमा जोड लगाए। तर, उनका कतिपय नीति नराम्ररी असफल भए। १९७६ मा माओको मृत्युलगत्तै चीनमा राजनीतिक र आर्थिक सुधार भए। त्यसपछिको पाँच दशकमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तीव्र आर्थिक वृद्धि भइरहेको छ। जसका कारण करोडौँ मानिसहरु गरिबीबाट मुक्त भएका छन् र चीन विश्वको प्रमुख शक्तिराष्ट्रका रुपमा उदाएको छ।

स्थापनाको ३० वर्षपछि सत्ता कब्जा गरेको चिनियाँ कम्युनिस्ट पार्टीमा अहिले सदस्य ९ करोड बढी छन् भने यो पार्टीको नेतृत्वमा विश्वको २० प्रतिशत जनसंख्या छ। यही पार्टीको नेतृत्वमा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ र महाशक्ति अमेरिकाको आत्मविश्वासलाई पनि कमजोर बनाइरहेको छ।

एक सय वर्षको उमेरमा चिनियाँ कम्युनिस्ट पार्टी झनझन् शक्तिशाली हुँदै गएको देखिन्छ। २१ औँ शताब्दीमा सत्तामा रहेका सिमित कम्युनिस्ट पार्टीमध्ये एक हो चिनियाँ कम्युनिस्ट पार्टी। जुन सात दशकदेखि सत्तामा छ।

चीनमा केही हदसम्म कम्युनिस्ट पार्टी र सरकारको संरचना एकीकृत छ। कम्युनिस्ट पार्टीले व्यवस्थापिकामा दुई तिहाइ ओगटेको छ। केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गर्छ। तर चीनको एक मात्र पार्टी भने होइन कम्युनिस्ट पार्टी। नेसनल पिपुल्स कंग्रेसमा अन्य साना पार्टीहरुको पनि प्रतिनिधित्व छ। तर, उनीहरुले कम्युनिस्ट पार्टीको प्रभुत्वलाई स्वीकार्छन्।

जबजब चीन र विश्वमा नयाँ प्रवृत्ति देखा पर्छ, त्यसले चिनियाँ कम्युनिस्ट पार्टीको शासनलाई अन्त्य गर्ने भविष्यवाणी गरिन्छ। कहिले इन्टरनेटको आविष्कारले कम्युनिस्ट पार्टी पतन हुन्छ भनियो, कहिले उपभोक्तावाद र मध्यम वर्गको विस्तारले। भर्खरै पनि कोभिड–१९ चीनका लागि ‘चेर्नोबिल मोमेन्ट’ बन्ने दाबी गरिएको थियो।

सन् १९९१ मा ‘आफ्टर लेनिनिजमः द न्यु वर्ल्ड डिसअर्डर’ शीर्षकको लेखमा अमेरिकी राजनीतिशास्त्री केन जाविटले १९८९ देखि विश्वभर लेनिनवादी पार्टीहरु लोप हुने क्रम सुरु भएको दाबी गर्दै चिनियाँ कम्युनिस्ट पार्टी पनि केही समयभित्रै समाप्त हुने बताएका थिए।

chinese leaders.jpg

सोभियत संघमा मिखाइल गोर्बाचोभ त्यस्ता पहिलो नेता थिए, जो १९१७ को क्रान्तिपछि जन्मेका थिए। उनी सत्तामा पुग्नेबित्तिकै सोभियत संघको पतन भएको थियो। चीनमा पनि १९४९ को क्रान्तिपछि जन्मेर सत्तामा पुग्ने पहिलो नेता हुन् सी चिनफिङ। त्यही आधारमा सी सत्तामा आउनेबित्तिकै चीन छिन्नभिन्न हुने भविष्यवाणी कतिपयले गरेका थिए।

जनवरी २०१३ मा न्युयोर्क टाइम्समा निकोलस क्रिस्टोफले लेखेका थिए, ‘उनकै (सी) निगरानीमा तियानमेन चोकबाट माओको शव बाहिर निकालिनेछ।’ तर, सी सत्तामा आएको एक दशक पुग्न लाग्यो, माओको शव पूर्ववत् छ। बरु, थुप्रैले माओकालमा फर्किन खोजेको भन्दै सीको आलोचना गर्न थालेका छन्।

चीन र चिनियाँ कम्युनिस्ट पार्टीको भविष्यबारे गरिएका एकपछि अर्को भविष्यवाणीहरुलाई यो पार्टीले बेकार साबित गर्दै आएको छ।

बितेको सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो शक्ति भनेकै नयाँ वातावरणमा अनुकूलन हुने क्षमता हो। माओको उदय सुनिश्चित गर्ने लङ मार्चदेखि देङ स्यायोपिङको आर्थिक सुधारसम्म हेर्दा कम्युनिस्ट नेताहरुले विचारधारालाई पन्छाएर व्यवहारिक निर्णय गरेको देखिन्छ।

आर्थिक नीतिमा अपनाइएको यही व्यवहारिकताका कारण चीनको जीडीपी १९७० यता करिब ५० गुणा बढेको छ। यही दशकभित्रै यसले अमेरिकालाई उछिन्ने देखिएको छ।

२००८ को वित्तीय संकटपछि अमेरिकी आर्थिक मोडेल सबैभन्दा उत्तम भन्ने विचारमा परिवर्तन आउन थालेको थियो। अहिले चीनले पश्चिमा मोडलको विकल्प प्रस्तुत गरेको कतिपयको दाबी छ। महामारी नियन्त्रणमा सफल भएसँगै चीनको आत्मविश्वास झनै बढेको देखिन्छ।

‘महामारीपछि चिनियाँ जनता भविष्यप्रति विश्वस्त भएका छन्,’ कम्युनिस्ट पार्टीले सञ्चालन गरेको स्टडी टाइम्स नामक म्यागेजिनका पूर्वसम्पादक देङ युवेन भन्छन्, ‘तर, समयसँगै हरेक चिज बदलिन्छ। आगामी सय वर्षको यात्रा कठिन हुनेछ।’

वास्तवमै चीन र कम्युनिस्ट पार्टीसामु ठुल्ठूला चुनौती खडा छन्। जनसंख्या वृद्धिदर अत्यन्त न्यून छ। वातावरणीय विपत्ति बढ्दो छ। आर्थिक असमानतामा भएको वृद्धिले धेरैको जीवन कठिन बनाएको छ। घरजग्गाको मूल्य आकासिँदो छ, ऋण बढ्दो छ। राम्रो स्कुल, राम्रो रोजगारीका लागि युवाहरुले तीव्र प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

अमेरिकासँग तनाव बढ्दै गएको छ। चीनको उदयले आफ्नो नेतृत्वमा रहेको विश्व व्यवस्था खतरामा परेको अमेरिकी बुझाइ छ भने वासिङ्टनले शीतयुद्धकालीन मनस्थिति नत्यागेको बेइजिङको आरोप छ। अर्कोतिर, सी चिनफिङले आफ्नै कार्यकालभित्र ताइवानलाई चीनमा एकीकरण गर्ने सोच बनाएको कतिपयको अनुमान छ। त्यसो हुँदा युद्धको खतरा कायमै रहेको विश्लेषकहरु बताउँछन्।

त्यसबाहेक अहिलेसम्म शीले आफ्नो उत्तराधिकारी को हुने भन्ने संकेत गरेका छैनन्। उत्तराधिकारीका लागि हुने प्रतिस्पर्धाले पनि जटिलता निम्त्याउन सक्ने अनुमान थुप्रैले गरेका छन्।

बिभिन्न समाचार श्राेतहरूकाे सहयाेगमा