शनिबार, आश्विन १७ गते २०८३

देशभरका विद्यालयको नक्शांकन गर्दै शिक्षा मन्त्रालय

फाल्गुण २, २०७८ सोमबार
देशभरका विद्यालयको नक्शांकन गर्दै शिक्षा मन्त्रालय

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताएका छन् । 

खबर एजुकेशन मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेबसाइट’ मार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको जनाएका हुन् । 

देशभरका सार्वजनिक विद्यालयमा केको आवश्यकता छ, त्यो अनलाइन मार्फत हेरी आवश्यकता अनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायतका शीर्षकमा बजेट छुट्याउन सकिने छ । 

‘सबै विद्यालयको भौतिक अवस्था, विद्यार्थीको संख्या वेभसाइटमा अपडेट भएपछि त्यहाँ चाहिने आवश्यक पूर्वाधार, आइसीटी ल्याब बनाउने गरी मन्त्रालयले तयारी गरेको छ’ मन्त्री पौडेलले भने, ‘कुन जिल्लामा कुन विद्यालयको अवस्था कस्तो छ भन्ने अब वेबसाइटमा हेरेर थाहा हुन्छ ।’

मन्त्रालयमा आउने सबैले सार्वजनिक शिक्षा सुधारको कुरा नगर्ने बताउँदै अधिकार प्राप्तिको कुरा लिएर आउने गरेको उनले बताए । 

विद्यालय राम्रो बनाउन प्रधानाध्यापक नै सक्रिय हुनुपर्ने बताउँदै व्यवस्थापन समितिको समन्वयमा विद्यालय नमुना बनाउन सकिने तर्क गर्नुभयो । उनले आवश्यक १८ हजार शिक्षकको विज्ञापन भएर परीक्षाको चरणमा रहेको उल्लेख गरे । 

७५३ स्थानीय पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने काम भइरहेको बताउँदै भएकालाई नियमन गरी थप व्यवस्थित गरिने उनको भनाई थियो ।