बुधबार, भाद्र ३ गते २०८३

'सामाजिक क्रान्तिहरु इतिहासका इञ्जिन हुन्'- कार्ल मार्क्स 

माघ २५, २०७८ मंगलबार
'सामाजिक क्रान्तिहरु इतिहासका इञ्जिन हुन्'- कार्ल मार्क्स 

      'सामाजिक क्रान्तिहरु इतिहासका इञ्जिन हुन्'- कार्ल मार्क्स - यो उक्ति बिश्व इतिहासलाई बदल्ने,नयाँ माेड दिने र त्यसका लागि सही बाटो हिडाउन अथक प्रयत्न गर्ने ती महान ब्यक्तित्वका हुन् जसले मानब समाजका, मानिसहरूका युगौं पुराना दुःखकष्टबाट उनीहरुलाई मुक्त गर्न बर्ग बिभाजित समाजमा बर्ग संघर्षको अपरिहार्यतालाई औंल्याए । ती महान दार्शनिक तथा सामाजिक क्रान्तिका द्रष्टा हुन् कार्ल मार्क्स । हुन पनि याे मार्क्सकाे कुनै मनिचन्ते कुरा थिएन बिश्वकाे समग्र बद्लिदाे र बद्लिदै आएको यथार्थ बस्तुगत बिश्लेषणकाे अनिबार्य बैज्ञानिक तथा कालजयी सारतत्व थियो ।

      द्वन्दात्मक तथा ऐतिहासिक भौतिकबादका प्रणेता तथा प्रयाेक्ता कार्ल मार्क्सले जुन योगदान मानब जातिका निमित्त दिएका छन् त्यस कोटीको योगदान मानब सभ्यताको इतिहासमा आजसम्म अरु कसैले दिन सकेको छैन । तर यति कारणले मात्र उनी महान बनेका होइनन् । उनले मानब सभ्यताको बिकासलाई निरन्तर परिवर्तनशीलता र गतिशीलतामा हेर्ने, ब्याख्या गर्ने र तदनुरुप चल्ने जुन अखण्डनीय बैज्ञानिक बाटो देखाएका छन् त्यो आज पनि उत्तिकै सान्दर्भिक छ । यो कुरा इतिहासको अन्त्य भयो, सिद्धान्तको अन्त्य भयो भन्दै पूँजीवादी शोषण र शासनलाई नित्य र शाश्वत मान्नेहरुले पनि अस्वीकार गर्न सकेका छैनन् र कदापि सक्ने पनि छैनन् ।

       मार्क्सवाद कुनै शून्यबाट जन्मेको कुरा होइन । यो त बिश्वको बस्तुगत स्थितिको सबैभन्दा सुन्दर, सबैभन्दा बिश्वासिलो, सबैभन्दा भरपर्दो र सबैभन्दा सही बाटो देखाउने उत्कृष्ट सामाजिक बिज्ञान हो । यसले बिश्व - जुन प्रकृति र मानब समाजको योगले बनेको छ, लाई सही किसिमले ब्याख्या,बिश्लेषण गर्दछ अनि प्रकृति र समाजका अधिशासित नियमहरुले नै प्रकृति र मानब समाजलाई सञ्चालन गर्दछ भन्ने मान्यता स्थापित गर्दछ । मार्क्सवादको सार बस्तु नै के हो भने शोषणमा आधारित मानब समाजलाई बदल्न सकिन्छ र बदल्नु पर्दछ र यसलाई राजनीतिक, आर्थिक,समाजिक तथा साँस्कृतिक सबै किसिमका शोषणबाट मुक्त गरेर मानब समाजलाई एउटा सुसभ्य, सुसँस्कत, मानबीय र उच्च गरीमायुक्त समाज बनाउन सकिन्छ । यसका निमित्त समाजका अधिशासित नियमहरुलाई बुझेर तदनुरुप चल्नु सक्नु र चल्न सिक्नु पर्दछ । त्यही समाजलाई बदल्न सकिन्छ ।

      मानब समाजका बिकृति र बिसंगतिहरुबाट यसलाई मुक्त गरेर अर्थात् सबै किसिमका भेदभाव, बिषमता, असमनाता र अमानबीयतालाई सदाका निमित्त अन्त्य गरेर समानता, न्याय, समृद्धि र उच्च मानबीयताको मूलबाटो देखाउने ती महान क्रान्तिकारी दार्शनिक तथा आमूल क्रान्तिकारी बिश्व समाज परिवर्तनका अप्रतिम पथ प्रदर्शक हुन् र रहिरहने छन् ।