निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको तयारी गरेको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्ने बुझिएको छ ।
आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाएमा त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ । यसअघि प्रधानमन्त्री देउवाले पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए ।
देउवाले पार्टीका नेताहरूसँगको भेटमा जेठ ४ मै निर्वाचन हुने जानकारी दिएका थिए। नेपाली काँग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका थिए । त्यसका लागि केही दिनमै मिति घोषणा गरिने जानकारी पनि देउवाले कांग्रेस बागमती प्रदेशका नेताहरुलाई दिएका छन्।
कांग्रेस सभापतिसमेत रहेका देउवाले जेठ ४ मा हुने भनिएको स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिएको बुझिएको छ ।