हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएलले अबदेखि जलविद्युत क्षेत्रमा कर्जा लगानी गर्दा सह–वित्तीयकरण (कन्सोर्टिएम) कर्जामा नेतृत्व गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले एचआईडीसीएललाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएसँगै सह–वित्तीयकरण गर्ने बाटो खुलेको हो ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।
नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले कम्पनी स्थापना गरेको हो । संस्थाको कूल पूँजी २२ अर्ब बराबर छ । कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ ।