बुधबार, भाद्र ३ गते २०८३

फर्जी खर्च देखाएपछि प्राइम लाईफलाई बीमा समितिले गर्‍यो कारवाही 

माघ १७, २०७८ सोमबार
फर्जी खर्च देखाएपछि प्राइम लाईफलाई बीमा समितिले गर्‍यो कारवाही 

 

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको  छ । कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०६३ विपरित कार्य गरेका कारण समितिले कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

कम्पनीले अभिकर्तालाई वैदेशिक रोजगार बीमालेखको कमिशन प्रत्यक्ष रुपमा दिन नमिले पछि फर्जी कर्मचारी खडा गरेर तलब भत्ता बापत निकासा गरेको थियो । यहि विषय सञ्चार माध्यममा सार्वजनिक भए पछि बीमा समितिले कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कम्पनीले सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारी नाममा ठुलो रकम खर्च गरेको भेटिएको थियो ।

सोही निरीक्षणका क्रममा बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थित रुपले बैदेशिक रोजगार बीमा नगरेको देखिएकोले बीमा ऐन २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।