शहीदकाे साच्चाे पहिचान

इन्द्रनारायण सुबेदी
(मन्दाक्रान्ता)
=========================
झण्डा बोकी अमुक दलको स्वार्थमा लिप्त बन्ने
मारी सोझा गरिब निमुखा पुर्न भन्डार खन्ने
लोभी पापी असुर मतिको छोप्न खोटो खराबी
स्वेच्छाचारी पनि सहिदको निम्ति गर्दैछ दाबी।१।
भेडा बाख्रा सरह यिनले मूल्य तोकेर लिन्छन्
बाँचे डस्छ्न् मुलुक यिनले मारिए झन् उधिन्छन्
यी ब्वाँसाका अधिपति सबै छन् महाभ्रष्ट जाली
राख्छन् आफ्नै वरिपरि यिनै मूर्खलाई उचाली।२।
हत्या गर्ने कलुष मुहुडा छल्छ बाँधेर पट्टी
आसामी झैँ लिनदिन गरी साहुको बन्न झट्टी
त्यो खेतालो पनि सहिदको शैलमा उक्लिँदैछ
सच्चा हाम्रा युग सहिदको अस्मिता फुक्लिँदैछ।३।
मर्छन् कोही सडकबिचमा काल खोज्दै जँड्याहा
गुण्डागर्दी दिनदिन गरी मर्छ कोही भँडाहा
ती पाखण्डी पनि सहिदको हेर्दछन् नित्य दाउ
साँच्चै हाम्रा प्रिय सहिदको हुन्छ के मूल्य भाउ।४।
तातो रातो रगत जसले देशलाई चढाए
मर्दा मर्दै पनि समरमा राष्ट्रको गीत गाए
ती मात्रै हुन् सहिद गुणका स्तम्भ शैलाधिराज
बाँकी जो छन् सहिद बनिने लाउंँछन् व्यर्थ ताज।५।
==================================