महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिट सेवा प्रवाहसम्बन्धी सम्झौता भएको छ।
सम्झौताबमोजिम अब विश्वका विभिन्न देशबाट आउने र आन्तरिक रेमिट्यान्स ग्राहकले महालक्ष्मी विकास बैंकका देशभर रहेका १०३ वटा शाखाबाट सहजै प्राप्त गर्न सक्ने जनाइएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन्।
यो सम्झौतापछि अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत सोझै आफ्नो बैंक खातामा रकम जम्मा गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ।
महालक्ष्मी बैंंकले ग्राहकहरुलाई छिटो, भरपर्दो र सुलभ तरिकाले रेमिटेन्स सुविधा प्रदान हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरिसकेको जनाएको छ। यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दती योजना पनि बैंकले संचालनमा ल्याएको छ। हाल यस योजनाअन्तर्गत ११।३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ।