शनिबार, आश्विन १७ गते २०८३

एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने

माघ ९, २०७८ आइतबार
एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले एसईई परीक्षा वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन् ।


उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने  हामीले निर्णय गरेका छौं । अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्छौं ।’

कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए ।

कोभिडका कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताए । उनले भने, ‘अहिलेको समयलाई हेरेर परीक्षा गर्नसक्ने सबै परिस्थितिलाई आंकलन गरेर हामीले कसरी कुन मोडालिटीबाट गर्ने भन्ने कुराहरु अलि पछि गर्छौं ।’

यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।