बुधबार, भाद्र ३ गते २०८३

सदस्यलाई उद्यमशीलतामा जोड्दै नवयुवा साकोस

पौष २५, २०७८ आइतबार
सदस्यलाई उद्यमशीलतामा जोड्दै नवयुवा साकोस

 

सदस्यहरुमा सीप विकास गरी आर्थिक रुपमा सक्षम बनाउन नव युवा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सीपमूलक तालिमको आयोजना गर्दै आएको छ । सीप सिकाइ ससानो पुँजीबाट पनि सदस्यहरुलाई उद्यम गर्न सक्ने बनाउनु संस्थाको लक्ष्य रहेको छ । विशेषतः महिलाहरुलाई लक्षित गरी संस्थाले समयसमयमा विभिन्न सीपमूलक तालिमहरु दिँदै आएको छ । 

कुशन बनाउने, ब्युटिसियन, कपडाको झोला, तितौरा बनाउने, गुन्द्रुकको अचार बनाउने जस्ता थुप्रै तालिमहरु सञ्चालन गर्दै आएको संस्थाकी शिक्षा तथा सीप प्रवद्र्धन उपसमितिकी संयोजक मनि महर्जन बताउँछिन् । 

त्यसैक्रममा संस्थाले महिला सदस्यलाई एक हप्ते तितौरा बनाउने तालिम दिएको छ । संस्थाले सदस्यहरुलाई तालिमका अलावा उनीहरुमा व्यक्तित्व विकास गर्नका लागि प्रौढ शिक्षा, अँग्रेजी भाषा, उद्घोषण प्रशिक्षणका विभिन्न कार्यक्रम गर्दै आएको उनले बताइन् । संस्थाले हरेक महिनाको अन्तिम शनिबार सहकारी शिक्षा शिविरको आयोजना गरी सदस्यहरुलाई संस्था र सहकारिताको बारेमा समेत सिकाउँदै आएको छ । 

महिलाहरु थोरै पैसाका लागि पनि श्रीमान वा अभिभावकमा भर पर्नुपर्ने अवस्थालाई चिर्नका लागि संस्थाले तालिमहरु दिने गरेको हो । उनीहरुमा सीप तथा ज्ञानको विकास गरी ससानो व्यवसाय गरेर भएपनि आय आर्जन गर्न सकुन् र खर्चका लागि कसैमा भर पर्नु नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम गर्ने गरेको महर्जनले बताइन् । 

संस्थामा आवद्ध बेरोजगार सदस्यहरुलाई रोजगार बनाउनु, क्षमता अभिवृद्धि गरी समाजमा सम्मानकासाथ बाँच्ने बातावरण बनाउनु र संस्थाप्रति पनि सकारात्मक सोचको विकास गर्दै लैजानु संस्थाको लक्ष्य रहेको उनले सुनाइन् । महिलाहरुले तालिम लिउए उद्यम गरे दुई प्रतिशत कम ब्याजदरमा ऋण दिने र समयमा साँवाँब्याज भुक्तानी गरे त्यसमा दुई प्रतिशत थप छुट संस्थाले दिने गरेको छ । बिनाधितो १ लाखसम्म र सामुहिक जमानीमा पनि व्यवसाय गर्नका लागि ऋण दिने गरेको उनले बताइन् । तालिम पछि कतिपयले राम्रो व्यवसाय गरेको र कतिले भने आफ्नो घरायसी आवश्यकतामात्रै पूरा गर्ने गरी उत्पादन गर्ने गरेका छन् । कतिपयले ब्युटिसियन तालिम लिएर आफ्नो व्यक्तित्वमा निखार ल्याएका छन् भने आफुसँगै जोडिएका परिवारका अन्य सदस्यहरुलाई सौन्दर्य प्रदान गरेका छन् । यसबाट पनि उनीहरुको पैसा बाहिरिनबाट जोगिएको छ । कतिपयले कुशन, झोला बनाएर आफैं प्रयोगमा ल्याएका छन् । यसले पनि उनीहरुलाई केहि मात्रमा आत्मनिर्भर हुन अभिप्रेरित गरेको छ । 

हाल नवयुवामा ११०० भन्दा बढि महिला सदस्य आवद्ध रहेका छन् । संस्थाले दिने  तालिमहरुका कारण नयाँनयाँ सदस्यहरु थपिने क्रम बढ्दै गएको छ । आफैं पनि ब्युटिशियन भएको र एकजना महिला सक्षम भए परिवार नै सक्षम हुने भन्दै हरेक महिलाले केहि न केहि सीप सिकेर व्यवसाय गर्नुपर्ने औंल्याइन् । 

तालिम प्रशिक्षक आनन्दकुमारी महर्जनले एक साताको तालिममा सहभागिहरुलाई १४ प्रकारका तितौरा बनाउन सिकाएको बताइन् । खट्टु पाउँ, इमील पाउँ, सेतो क्याण्डी, लप्सी क्याण्डी, आँप पिरो र झोल, कागती, सुख्खा पाउँ लगायत १४ प्रकारका आइटम बनाउन उनले सिकाएकी छिन् । २०६५ सालबाट आफु पनि यस्तै तालिम लिएर व्यवसायी बनेको उनले सुनाइन् । खाद्य तथा अनुसन्धान विभागबाट दुईपटक तालिम लिएको र माग अनुसार विभिन्न समुहहरुलाई आफुले तालिम दिँदै आएको उनल खुलाइन् । सीप सिकेर व्यवसाय गर्न चाहनेहरुले सानो पुँजीबाट पनि राम्रै आम्दानी गर्न सक्ने उनको अनुभव छ । 

आफ्नो क्षमताअनुसारको पुँजी लगानी गरी घरमै बसेर पनि यो व्यवसाय गर्न सकिने हुँदा यसबाट तत्कालै लाभ लिन सकिने उनको भनाई छ । बजारको पनि त्यति ठूलो समस्या नभएको भन्दै उनले सीप र जाँगर हुनेले राम्रो आम्दानी गर्न सक्ने उनले जनाइन् । तितौरा बनाउनका लागि नुन, बीरेनुन, खुर्सानी, हिँग, चिनी, कलर, सोडियम बेन्जोइड र सोडाको आवश्यकता पर्छ । कच्चा पदार्थको मुल्य अनुसार तितौराको मुल्य पनि फरकफरक हुन्छ । तालिममा सहभागि केशरी डंगोल पेशाले बुटिक गर्दै आएको भएपनि यसलाई अतिरिक्त व्यवसायको रुपमा अघि बढाउने सोचमा छिन् । बुटिकको व्यापार सिजनमा मात्र हुने तर पाउँको व्यापार बारैमहिना हुने हुँदा यसबाट राम्रै आम्दानी गर्न सकिने उनको ठम्याई छ । सबै गृहणी महिला आम्दानी श्रोत हुँदैन, सहकारीले समुहमा यस्ता तालिम दिएर आफुहरुलाई सीप विकासका साथै उद्यम गर्न बातावरण बनाइदिनु सराहनीय कार्य भएको उनले सुनाइन् । ‘हेर्दा सानो जस्तो देखिन्छ तर यसबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भनिन् ‘मान्छेहरु महिना १०–१५ हजार कमाई हुने मात्र काम ठान्छन् तर सानासानो व्यवसायबाट पनि राम्रो आम्दानी लिन सकिन्छ ।’

तालिममा सहभागि अर्की प्रशिक्षार्थी अमिता महर्जन पनि किराना व्यापार गर्छिन् । व्यापारमा रहँदा बचेको समयलाई उपयोग गरी थप आय आर्जन गर्ने सोचमा उनी छिन् । पाउँ  बनाउन जाने आफ्नै पसल भएकाले विक्री गर्न समेत सहज हुने उनको भनाई छ । ‘सहकारीले यस्तो तालिम दिनु हाम्रो लागि धेरै राम्रो कुरो हो, उनले थपिन्, काम शुरु गरेपछि त आम्दानी भइहाल्छ नि ! घरमा त्यसै बसेका दिदी बहिनीका लागि त यो धेरै लाभाविन्त गराउने काम हो ।’

संस्थाका अध्यक्ष अशोक महर्जन संस्थाले सदस्यहरुको हरेक पाटोलाई ध्यान दिँदै आएको बताउँछन् । सदस्यहरुलाई हरेक अवस्थामा सघाउ पु¥याउनु संस्थाको दायित्व भएको र सदस्य आर्थिक रुपमा सबल भए मात्रै संस्था माथि उठ्ने उनको भनाई छ । ‘संस्थाभन्दापनि सदस्य माथि उठ्नुपर्यो’, उनले भने ‘अनिमात्र संस्थाको दीगोपनालाई सघाउ पुग्छ ।’

‘सहकारीको मुल्यमान्यता पनि सदस्यकै उत्थान हो, वित्तीय कारोबार मात्रै गरियो भने सहकारी हुन सकिँदैन, सदस्यलाई आवश्यकता अनुसार तालिम, सीप दिएर जीवनस्तर उकास्नु सहकारीको मूल मर्म हो,’ उनले थपे । संस्थाले धेरैलाई तालिम दिए पनि सबै जना व्यवसायी बन्न नसक्नु मुख्य चुनौति रहेको उनले बताए । राज्यका कतिपय नीतिले गर्दा सहकारीको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्न नसकेको उनको भनाई छ । मुलुकको आयात प्रतिस्थापनका लागि सहकारीले भूमिका खेल्न सक्छ तर यसका लागि राज्यले सही नीति र बातावरण दिनुपर्छ । महर्जन थप्छन् ‘मुलुकमा ३० हजार सहकारी छन्, ३० हजारले १÷१ वटा वस्तु उत्पादन गरेपनि आयात प्रतिष्थापन सम्भव छ ।’ राज्यले सहकारीलाई उत्पादनमा लाग्न भनेपनि उत्पादनमुखी बातावरण बनाउन नसक्दा ठोस परिणाम प्राप्त हुन नसकेको उनले बताए । सहकारीलाई अनुदान भन्दा पनि बजारीकरणका लागि राज्यले दरिलो नीति बनाइदिनुपर्ने उनको माग छ । सहकारी महासंघले बजारीकरण गर्ने भनेपनि त्यो हुन नसकेको र विभिन्न सहकारीले उत्पादन गरेका वस्तु एकै ठाउँबाट विक्री गर्ने व्यवस्था भए राम्रो हुने उनको धारणा छ । आम्दानी गर्ने सबैको इच्छा हुन्छ तर कतिपयलाई बजार व्यवस्थापनकै कारण उत्पादनमा लाग्न नसकेको उनको ठम्याइ छ ।

संस्थाले आयोजना गरेको एक हप्ते तितौरा बनाउने तालिममा १२ जना सदस्यको सहभागिता रहेको थियो ।