काठमाडौँ । सरकारले भारत, चीन र इजरायलका लागि नयाँ राजदूत नियुक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीनै देशका लागि राजदूत नियुक्त गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार डा. निश्चलनाथ पाण्डेलाई गणतन्त्र भारतका लागि, डा. कल्याणराज शर्मालाई जनवादी गणतन्त्र चीनका लागि र सुरेशकुमार कर्णलाई इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति पौडेलसमक्ष तीनै जनाले पद तथा गोपनीयताको शपथ लिएका थिए । समारोहमा सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
यसअघि गत भदौ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो । सुनुवाइपछि सम्बन्धित मुलुकमा सहमति (अग्रिमो) का लागि नाम पठाइएकामा भारत, चीन र इजरायलबाट सहमति प्राप्त भएपछि उनीहरूको नियुक्ति प्रक्रिया अघि बढेको हो ।
नेपालपत्र संवाददाता