बुधबार, भाद्र ३ गते २०८३

जति बाँड्याे उत्ति बढ्ने धन नै विद्या हाे, सबै छाेरीहरूलाई शिक्षा दिनुपर्छ

आषाढ १५, २०७८ मंगलबार
जति बाँड्याे उत्ति बढ्ने धन नै विद्या हाे, सबै छाेरीहरूलाई शिक्षा दिनुपर्छ

 

भारत मणिपुर राज्यकी एक उदीयमान नेपाली साहित्यकार सीता देवी छेत्रीका तीनवटा साहित्यिक कृतिहरू पनि प्रकाशित भइसकेका छन् । तीमध्ये एउटाको २७ जूनका दिन भर्च्यूअलमा विमोचन पनि भइसकेको छ । शिक्षण पेशाबाट भर्खरै सेवानिवृत्त भएकी स्रष्टा सीतादेवी साहित्यमा निरन्तर लाग्ने सुरसारमा हुनुहुन्छ । उहासँग नेपालपत्रन्युजले गरेको अन्तरसम्वाद यहाँ प्रस्तुत छ :

 

सीतादेवीजी, तपाईं भारतको एउटा सानो राज्य मणिपुरबाट प्रतिनिधित्व गर्नु हुँदोरहेछ। मणिपुरको कति जनसंख्या छ, नेपालीहरू कति संख्या छन्। उनीहरूको राजनीतिक, आर्थिक सामाजिक र साँस्कृतिक स्थिति के कस्तो रहेछ, कृपया संक्षेपमा बताईदिनुस् न ।

धन्यवाद । मणिपुर भारतको पूर्वाञ्चलको सानो र बर्मा सिमानामा पर्ने एउटा राज्य हो। एउटी शिक्षिका भएको नाताले हाम्रो सँस्कृति र भाषालाई जगेर्ना गरी यसो गोरेटो देखाउने प्रयास हो मेरो ।

मणिपुर राज्यको कूल जनसंख्या पैँतिस लाखभन्दा केहि बढि छ। यहाँ नेपालीहरू पचासदेखि पच्पन्न हजार जति छन् भन्ने अनुमान छ। राज्यभरि छरिएर बसोबास गरेको हुँदा यकिन गरेर भन्न अप्ठेरो पर्छ। सरकारको जागिर खाएकोले होला कि मैले राजनीतिमा त्यति रूचि राखेको छुइन।

मणिपुरमा सामाजिक र साँस्कृतिक स्थिति अति राम्रो छ भन्दा अतियुक्ति नहोला। अहिलेसम्म आफ्नो परम्परा कायम राख्न केहि कसर छोड्दैनन्। यिनीहरूको एउटा नियम छ, मान्छे मर्दा, श्राद्धमा जाँदा, मन्दिर जाँदा, धनी, गरीब सबैको पहिरन एउटै हुन्छ। मणिपुरको नृत्य र हथकरघामा बुनेको वस्त्र विश्वमै प्रसिद्ध छ। आफ्नो संस्कृतिको रक्षाको लागि सबै सधैँ तत्पर रहन्छन्।

तपाईं शिक्षण पेशामा लागेर अवकाश लिने बेला भएको छ, कहिलेदेखि यो पेशामा लाग्नु भयो ?

मैले पहिला चौध वर्ष जति प्राइभेट स्कूलमा पढाएको थिए। पछि सरकारी जागीर भयो। मलाई सरकारी स्कूलमा एक्काइस वर्ष मात्र सेवा गर्न जुऱ्यो, उमेरको हिसाबले। यही २०२१ के जून महिनाबाट म सेवामुक्त भएकी छु।

तपाईंको लामो शिक्षण पेशाका तीता-मीठा अनुभवहरू के कस्तो रहे ?

मेरो शिक्षण पेशाका तीता-मीठा अनुभवहरू त धेरै छन्। धेरै चोटी टाढा-टाढा सरूवा भएर जानुपर्ने स्थिति थियो। दुई वर्षको लागि त सरूवा भएको ठाउँमा डेरा लिएर बस्नु परेको थियो। मेरो धेरै ठाउँहरूमा सरूवा भयो। कहिले बिहान सात बजे निस्किने र साँझ छः बजे घर पुग्ने गर्थे। महिलाको घरको जिम्मेवारी धेरै रहन्छ। यातायातको असुविधा, एउटी महिलाको लागि ठूलो चूनौतिको सामना गर्नु पर्ने थियो।

तपाईं साहित्य लेखनतिर कुन प्रेरणाले लाग्नु भयो ? कुन-कुन साहित्यिक विधामा कलम चलाउनु भएको छ? अहिलेसम्म कुन-कुन प्रकाशोन्मुख छन्?

यस बारे मेरो लामो कथा छ। साहित्यमा रुचि सानैबाट भएपनि आफूबसेको ठाउँमा त्यस्तो परिवेश नभएकोले लेख्न सकेको थिइन। लेख्नलाई माहोल पनि चाहिँदो रहेछ। सुरू-सुरूमा त भारतीय उपन्यास रातभरिनै पढ्ने गर्थे। जब म नेपाली साहित्य परिषद् मणिपुरको पदमा रहेकी थिए, त्यसबेला बर्माबाट तीन दिवसीय साहित्यिक कार्यक्रमको निम्तो आएको थियो परिषद्लाई। परिषदका सह-सचिव साहित्यकार श्री राहुल राई बोगिको मेरो घरमा आउनु भयो। उहाँले खबर सुनाएपछि मलाई भन्नु भयो – बर्मामा वाचन गर्नको लागि दुई-तीनवटा राम्रो कविता लेख्नुहोस् है। मलाई त कविता लेख्न आउदैन भनी सुनाए। कविता वाचन गर्नै पर्छ भने म जान्न भनेकी थिए उसबेला। उहाँले छक्क पर्दै भन्नुभयो – अमुई.. एकजना गुरुआमा भएर यस्तो भन्नु हुन्छ ? कोशिश गर्नु होला। हजुर न गई त हुँदैन। म अलिक हतारमा छु, भन्दै विदा लिएर निस्किनु भयो। उहाँ त जानु भयो, तर मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो। मेरै स्कूलमा कति शिक्षिका थिए कसैले लेख्दैनन्, सोचे दिनभरि। साँझ परेपछि किन पछि सर्नु, सोच्दै कलम र कपी समाई बसेँ। कताबाट कस्तो भाव आयो पत्तै नपाई दुईवटा कविता लेखेँ। उहाँले मलाई नझकझकाएको भए म कहिले यस क्षेत्रमा आउने थिइन होला। अहिलेसम्म कविता, कथा, लेख, यात्रा संस्मरण लेख्दै आएकी छु। मेरो अहिले एउटा कथा संग्रह प्रकाशोन्मुख छ।

साहित्य क्षेत्रमा चुनौती र सम्भावना के के रहेका छन्? यस क्षेत्रका मूलभूत समस्याहरू केकस्ता रहेछन् ?

साहित्य क्षेत्रमा के-के चुनौती र समस्याको सम्भावना हुन्छ, यो हरेक लेखकलाई ज्ञान भएकै कुरा हो। यहाँ पुस्तक लेखिसक्यो तब छपाउनुको समस्या आउँछ। मणिपुरमा नेपाली छापाखानाको सुविधा छैन। आफै सिलगढी लगेर जानु पर्छ। यहाँ सङ्घ-संस्थाहरू छन् तर सरकारको सहयोगमा अनुदान अहिलेसम्म प्राप्त भएको छैन। यहाँ प्रकाशन संस्थाहरू रहेतापनि लेखक स्वयंले सबै खर्च र बन्दोवस्त गर्नुपर्छ। पुस्तक तयार पारेर विमोचन गरिन्छ तर पाठकवर्ग भेटिदैनन्। धेरै पुस्तक दराजमा सजिएर रहन्छन्।

तपाईंले नेपाली, भारतीय, चिनीयाँ र विश्वका अन्य देशका साहित्यहरूमा कतिको चाख राख्नु भएको छ ?

मैले नेपाली र भारतीय पुस्तक मात्र अध्ययन गरेकी छु। एउटी महिला हुनाको नाताले घर-परिवार, कार्यक्षेत्रमा जानु पर्नाले चाख लागे पनि विश्वका साहित्यहरू पढ्न भाग्यले जुराएको छैन अहिलेसम्म।

साहित्य र समाजको अन्तरसम्बन्ध कस्तो हुन्छ? अनि तपाईंलाई कस्तो हुनु पर्दछ जस्तो लाग्छ?

साहित्य समाज र जातिको दर्पण हो। कुनै पनि जातिको समाजमा साहित्य छैन भने त्यस जातिको विकास हुँदैन। साहित्य र समाजको सम्बन्ध नङ र मासुको जस्तो छ। मलाई लाग्छ साहित्य र समाजमा कुनै भेदभाव नरहोस्।

नेपाली भाषा बाहेक अरू भाषा-भाषीहरूको साहित्यको स्थिति के कस्तो रहेको पाउनु हुन्छ मणिपुरमा?

मणिपुर सानो राज्य भएतापनि धेरै जनजातिको बसोबास छ। यहाँको मुख्य भाषा मितैलोन हो। मणिपुरीहरू आफ्नो भाषा साहित्यमा अग्रगामी छन्। उनीहरूको साहित्य उच्चस्तरीय रहन्छ। प्रत्येक वर्ष साहित्य अकादेमी, दिल्लीद्वारा दुई, तीन पुस्तकले पुरस्कार प्राप्त गरेको हुन्छ ।

साहित्य चिन्तनधारामा तपाईं आफूलाई कहाँ खड़ा भएको पाउनु हुन्छ? केहि बताईदिनु हुन्छ कि?

म आफैँलाई कसरी भन्न सक्छु होला। यो अलिक अप्ठ्यारो प्रश्न सोध्नु भएछ। साहित्य क्षेत्रमा म त्यति माथि खड़ा हुन सकेको छु जस्तो मलाई लाग्दैन।

एक उदीयमान महिला साहित्यकारको नाताले समग्र समाज र खासगरी महिला समुदायलाई केहि भन्न चाहनु हुन्छ कि?

साहित्यकारको नाताले नभएर एउटी नारीको नाताले मलाई लाग्छ, सबै पढेर साक्षर बनुन्। विद्ध्या यस्तो धन हो, कसैले चोरेर लग्न सक्दैनन्, जति बाँड्यो उति नै बढ्ने धन हो। घरमा एउटी छोरी-बुहारी साक्षर छिन् भने त्यो घरको आँगन जहिल्यै हरियो-भरियो रहन्छ। घरमा सुख-शान्ति ल्याउँछ। सकेसम्म आफ्नो खुट्टामा उभिन कोशिस गरे अति राम्रो हुन्छ । नारीले चाहे एउटा झोपडीलाई महल बनाउन सक्छन्।

sitadevi2.jpg

स्रष्टा परिचय

नाम                   – सीता देवी छेत्री

माता                 – स्व. तारादेवी लामिछाने छेत्री

पिता                  – स्व. गोपालसिंह लामिछाने छेत्री

शिक्षा                 – स्नातक, बी.एड.

सन्तति               –   एक छोरी

कृतिहरू            एउटै धराम (कविता संग्रह २०१७)

                        मूल पेरको छोरो (कथा संग्रह २०१८)

                        चर्किएको मन (कथा संग्रह २०२१)