आइतबार, मंसिर ६ गते २०८३

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने


कार्तिक १४, २०८३ शनिबार
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो ।

कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ ।

शैक्षिक पदतर्फ इमर्जेन्सी मेडिसिनमा एमडीजीपी, रेडियोलोजीमा एमडी, मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएस्सी, बायोकेमेस्ट्री र फिजियोलोजीमा एमडी गरेका उम्मेदवारलाई अवसर खुलाइएको छ । सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

स्टाफ नर्स पदका लागि नर्सिङमा बीएस्सी वा पीसीएल उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । मिडवाइफरी तथा आईसीयूमा तालिम प्राप्त र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

आईटी सहायक पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । नेटवर्क तथा सिस्टम सपोर्ट, हार्डवेयर, सफ्टवेयर, सर्भर व्यवस्थापन, नेटवर्क समस्या समाधान र प्राविधिक सहयोगसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ । त्यस्तै, कलेजले सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पनि माग गरेको छ ।

यस्तै, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट र हेमोडायलाइसिस टेक्निसियन पदका लागि सम्बन्धित विषयको शैक्षिक योग्यता तथा तालिम आवश्यक पर्नेछ । कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ । प्रशासनिक सहायकका लागि सम्बन्धित विषयमा स्नातक तह र कम्प्युटर अपरेटरका लागि सम्बन्धित क्षेत्रमा स्नातक तह तथा आधारभूत ग्राफिक्ससम्बन्धी ज्ञान आवश्यक पर्ने सूचनामा जनाइएको छ ।