बुधबार, कार्तिक १२ गते २०८३

‘अर्नब चक्रवात’ले वर्षा र हिमपातको जोखिम, सतर्कता अपनाउन अपील


कार्तिक ११, २०८३ मंगलबार
‘अर्नब चक्रवात’ले वर्षा र हिमपातको जोखिम, सतर्कता अपनाउन अपील

 

काठमाडाैं।  बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषको प्रभावले नेपालमा बिहीवार बेलुकादेखि शनिवारसम्म वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले जलवाष्पयुक्त हावा ल्याउने र माथिल्लो वायुमण्डलीय प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ। उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्छ।

पोखरेलले अहिले नै आत्तिनुपर्ने अवस्था नरहे पनि सतर्क रहन आग्रह गरेकी छन्। विशेषगरी उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने, पहिरो जोखिम भएका सडकमा हिँड्ने तथा धान काट्ने किसानले मौसमको पूर्वानुमान हेरेर गतिविधि तय गर्नुपर्ने उनले बताइन्।

चक्रवात नेपाल नजिकिँदै गर्दा कमजोर वा शक्तिशाली हुने अवस्थाअनुसार यसको प्रभाव फरक पर्न सक्ने भएकाले विभागले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। सर्वसाधारणलाई हल्लाको पछि नलागी विभागका आधिकारिक सूचना र पूर्वानुमान हेर्न आग्रह गरिएको छ।