शनिबार, आश्विन १७ गते २०८३

पुँजीगत खर्च बढाउन अर्थमन्त्री शर्माको जोड, खर्च गर्न नसके स्थानिय र प्रदेशमा पठाउने

पौष २, २०७८ शुक्रबार
पुँजीगत खर्च बढाउन  अर्थमन्त्री शर्माको जोड, खर्च गर्न नसके स्थानिय र प्रदेशमा पठाउने

 पुँजीगत खर्च बढ्न नसकेपछि अर्थ मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग छलफल शुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर पूँजीगत खर्च बढाउन दबाब दिएका छन् । 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आआफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरे । समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको भन्दै उनले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न सुझाए ।

‘बजेटको ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन,’ उनले मन्त्रीहरुसाग भने, ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’ समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने समन्वयलगायत काम समयमै गर्ने प्रतिवद्धता उनको छ । बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने उनको भनाइ छ । ‘

 समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने समेत उनले बताए । ‘खर्च गर्नुस्, बजेट लिनुस्’, मन्त्री शर्माले भने, ‘खर्च गर्नुहुन्न त्यो बजेट समातेर बस्न पाउनुहुन्न ।’छलफलमाऊर्जा, जलस्रोत तथा सिँचाईँ मन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायत सहभागिता थिए ।