बुधबार, आश्विन २८ गते २०८३

बंगलामुखी साकोसको १९ औं साधारण सभा, कुल सम्पत्ति १ अर्ब ४४ करोड नाघ्यो


आश्विन २६, २०८३ सोमबार
बंगलामुखी साकोसको १९ औं साधारण सभा, कुल सम्पत्ति १ अर्ब ४४ करोड नाघ्यो

बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन संस्थाकी जेष्ठ सदस्य रामदेवी श्रेष्ठले गरेकी थिइन् । 

सभामा उपाध्यक्ष सरु श्रेष्ठले स्वागत मन्तव्य राख्दै सहकारीमार्फत् सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा काम गर्दै आएको बताइन् । मुलुकका कतिपय सहकारी संस्थामा आएको आर्थिक विचलनका कारण सहकारी क्षेत्रमा समस्यामा आउँदा त्यसको प्रभाव समग्र अभियानमा परेको उनले बताइन् । विषम परिस्थितिमा पनि सदस्यको बचतको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर वित्तीय परिचालन गर्दै आएको उनले सभामा जानकारी दिइन् ।

संस्थाका अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय मुलुकमा आएको आर्थिक मन्दीका कारण  सदस्यको व्यापार व्यवसायमा कमि आउँदा ऋण असुलीमा समस्या भएको बताए । संस्थाले नाफालाई मात्र नहेरी सदस्यहरुलाई राहत उपलब्ध गराउन संस्थागत रुपमा घाटा सहेर भए पनि वित्तीय सेवा प्रदान गर्दै आएको सभामा उनले जानकारी दिए । समुदायको सुख दुःखमा साथ दिँदै सदस्यहरुको आर्थिक क्रियाकलापलाई चलायनमान बनाउन संस्थाले सहजीकरण गर्दै आएकोे उनले बताए । संस्थाले सहकारी ऐन नियम र मापदण्डका साथै सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्दै अगाडि बढको र कारोबारलाई पूर्ण रुपमा पारदर्शी, सुरक्षित र व्यवस्थित गर्दै लगेको उनको भनाई छ । 

सभामा सचिव बाल कृष्ण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यको बचतको सुरक्षालाई ध्यानमा राखी उत्पादनशील क्षेत्रमा ऋण परिचालन गर्दै आएको जनाए । संस्थाले गत आ. व. मा सीपमुलक तालिम,स्वास्थ्य सचेतना, सहकारी शिक्षा तथा प्रविधिको प्रयोग,अध्ययन अवलोकन भ्रमण,सदस्यको उपचारमा सहयोग,कर्मचारी तथा पदाधिकारीको क्षमता विकास जस्ता तालिम आयोजना गरेको बताए । संस्थाले यस आर्थिक बर्षमा बचत परिचालनलाई व्यवस्थित गर्ने,वित्तीय जोखिम नियन्त्रण गर्ने, ऋण लगानी पूर्वको मुल्याङ्कन प्रणाली सुदृढ गर्ने,ऋण असुलीलाई प्राथमिकताका साथ अगाडि बढाउने र सदस्यको आवश्यकता अनुसार सेवा विस्तार गर्ने उनको भनाई छ ।

संस्थाका कोषाध्यक्ष  श्याम प्रधानले आर्थिक बर्ष २०८२\ ८३ को अर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कुल सम्पत्ति १ अर्ब ४४ करोड ७० लाख पुगेको सभामा  जानकारी दिए । संस्थाको बचत संकलन १ अर्ब ३४ करोड ३७ लाख, ऋण लगानी १ अर्ब ३ करोड ५९ लाख,शेयर पुँजी १४ करोड ३० लाख,जगेडा तथा अन्य कोष ४ करोड ६१ लाख पुगेको उनले उल्लेख गरे । संस्थामा ३ हजार ७५२ सदस्य आवद्ध रहेका छन् । संस्थाले ऋण जोखिम व्यवस्थापन कोषमा रकम जम्मा गरेकाले सदस्यलाई लाभांश नदिने जनाएको छ । सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक श्रीराम श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गर्दै कर्जा असुलीमा विशेष ध्यान दिन सुझाए । साधारण  सभाको अवसरमा एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो ।