आइतबार, आश्विन २५ गते २०८३

८५ वर्षीय नभि पिल्ले नोबेल शान्ति पुरस्कार विजेता बनिन्!


आश्विन २४, २०८३ शनिबार
८५ वर्षीय नभि पिल्ले नोबेल शान्ति पुरस्कार विजेता बनिन्!
काठमाण्डाै । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम “नवी” पिल्लेलाई प्रदान गरिने भएको छ। नर्वेजियन नोबेल समितिले शुक्रबार यो घोषणा गर्दै उनलाई अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धन र शान्तिका लागि गरेको योगदानको कदर गरेको हो।
८५ वर्षीया पिल्ले भारतीय तमिल मूलकी हुन्। उनका हजुरबुबा-हजुरआमा सन् १८९० को दशकमा भारतबाट दक्षिण अफ्रिका गएका अनुबन्धित श्रमिक थिए। उनले आफूलाई “सबै पीडितहरूको आवाज” भनेर चिनाउँदै आएकी छिन्।
पिल्लेले रंगभेदी शासनकालमा नेल्सन मण्डेला लगायतका कार्यकर्ताको वकालत गरेकी थिइन्।
 
पछि उनी दक्षिण अफ्रिकाको उच्च अदालतमा न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनिन्। यसैगरी उनले रुवान्डा नरसंहारका मुद्दा हेर्ने अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्यायाधीशका रूपमा काम गरिन्। सन् २००८ देखि २०१४ सम्म उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त थिइन्।
 
NavyPillai.jpg
नोबेल समितिका अध्यक्ष जोर्गेन भाट्ने फ्राइड्नेसले पिल्लेलाई “असाधारण साहस र इमानदारीका साथ अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई अझ समग्र बनाउँदै लगेको” व्यक्तिका रूपमा प्रशंसा गरे। ज्ञातव्य छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पुरस्कार आफूले पाउनुपर्ने दाबी सन् २०२५ देखि नै गर्दै आएका थिए ।
 
उनले आफूले आठ युद्ध अन्त्य गरेको र नोबेल शान्ति पुरस्कारको हकदार भएको बताएका थिए। त्यसैले पिल्लेले आफ्नो नाममा पुरस्कार घोषणा भएपछि गरेको हल्का व्यङ्ग्यमा भनिन्, “तपाईंहरूले अलि बढी ताली बजाउनुभयो भने म यो पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु।” उल्लेखनीय छ, सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई प्रदान गरिएको थियो। उनले पछि आफ्नो पदक ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन्।