चालु आवको पहिलो चार महिनाको अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आएको छ । यस अवधिमा ३ खर्ब १२ अर्ब ४२ करोड विप्रेषण मुलुक भित्रिएको छ ।
अघिल्लो वर्ष भने सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६,३८२ पुगेको छ । अघिल्लो वर्ष भने सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।
यस अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई रु.३४५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।