शनिबार, आश्विन १७ गते २०८३

रहस्यमय, अन्यौलपूर्ण र अनिश्चित वर्तमान स्थितिको सही विकल्प


आश्विन १२, २०८३ सोमबार
रहस्यमय, अन्यौलपूर्ण र अनिश्चित वर्तमान स्थितिको सही विकल्प

मार्क्सबादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट समाजको राजनीति केवल व्यक्ति वा दलको इच्छाशक्तिको उपज नभई तत्कालीन आर्थिक आधार र त्यसमाथि खडा भएको राजनीतिक-वैचारिक अधिरचनाको परिणाम हुन्छ भन्ने कुरा बुझ्नु र मनन गर्नु आवश्यक छ । नेपालको वर्तमान राजनीतिमा देखिएको रहस्य, अनिश्चितता र अन्यौललाई मार्क्सवादी दृष्टिकोण र सिद्धान्तका प्रमुख आयामहरूबाट यसरी विश्लेषण गर्न सकिन्छ ।

१. आधार र उपरीसंरचनाको द्वन्द्व

मार्क्सवादका अनुसार आर्थिक उत्पादन सम्बन्धले राजनीति, कानून र विचारधाराको तय गर्दछ। यस हिसावले हेर्दा नेपालको वर्तमान स्थिति निम्नानुसारको देखिन्छः

क. साम्राज्यबाद परस्त अर्ध–सामन्ती र नव–उदारवादी पुँजीवादी धरातल निर्माण भएको कारणले नेपालमा सामन्तवादका अवशेषहरू अझै बाँकी छन् भने अर्कोतर्फ साम्राज्यबादप्रति आत्मसमर्पणले गर्दा दलाल पुँजीवादी अर्थतन्त्र सर्बत्र हाबी छ र त्यसले कब्जा जमाएको छ।

ख. यसले गर्दा राजनीतिक अन्यौलको कारण र उत्पादनका साधनहरू(जग्गा, उद्योग, जलस्रोत)मा जनताको पहुँच छैन। अर्थतन्त्र उत्पादनमुखी नभई विप्रेषण र आयातमा आधारित छ। यसरी भौतिक आधार नै कमजोर र दलाल पुँजीवादी भएकाले त्यसमाथि बनेको राजनीतिक उपरीसंरचनामा सङ्कट र अस्थिरता देखिनु अनिवार्य छ।

२. दलाल पुँजीवाद र बुर्जुआ वर्गको सम्झौता 

मार्क्सवादी विश्लेषकहरूको नजरमा नेपालका प्रमुख राजनीतिक दलहरू र तिनका नेतृत्व बुर्जुआ (पूँजीपति) वा दलाल पुँजीपति वर्गको हितमा रूपान्तरित भएका छ ।

क.  क्रान्तिको विचलन – २००७, २०४६ वा २०६२/६३ का आन्दोलनहरूले सत्ताको अनुहार बदले पनि उत्पादक शक्ति र उत्पादन सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउन सकेनन् ।

ख. वर्ग–हितको रक्षा : क्रान्तिकारी भनेर चिनिएका शक्तिहरू पनि सत्तामा पुगेपछि क्रोनी क्यापिटलिज्म र स्वार्थ समूहको प्रभावमा परे। दलहरू बीचको प्रतिस्पर्धा सिद्धान्तको लागि नभई ुलुटको भागबण्डाका लागि मात्र सीमित छ, जसले राजनीतिलाई अन्यौलग्रस्त बनाएको छ।

३. वर्ग सङ्घर्ष र श्रमशक्तिको पलायन

नेपालमा मजदुर, किसान र न्यून–मध्यम वर्ग चरम मारमा छन्।

श्रमशक्तिको विस्थापन : युवा वर्गको व्यापक वैदेशिक रोजगारी पलायनलाई माक्र्सवादी भाषामा ‘श्रमको अलगाव’  र दलाल पुँजीवादले सिर्जना गरेको बाध्यताका रूपमा हेरिन्छ। देशभित्रै क्रान्तिको सम्भावना वा विद्रोहलाई रोक्न युवा श्रमशक्तिलाई देशबाहिर पठाएर रेमिट्यान्समा आधारित मार्क्सवादी- लेनिनवादी दृष्टिकोणले साम्राज्यवादी र नव उपनिवेशवादी शक्तिहरूको हस्तक्षेपलाई आन्तरिक अस्थिरताको मुख्य कारण मान्छन् ।

क. नेपाल जस्तो भू–राजनीतिक रूपमा संवेदनशील देशमा वैदेशिक पूँजी, अनुदान र सहायताका नाममा आउने शक्तिहरूले आफ्ना अनुकूलको राजनीतिक वातावरण बनाउन खोज्छन्।

ख. वैदेशिक हस्तक्षेपले गर्दा नेपालका शासकहरू आफ्ना जनताप्रति भन्दा पनि बाह्य शक्तिहरूप्रति उत्तरदायी हुने गर्दछन्, जसले गर्दा निर्णय प्रक्रिया रहस्यमय बन्न पुग्छ। द्वन्द्वात्मक भौतिकवाद अनुसार ‘पुरानो मरिरहेछ र नयाँ जन्मन सकिरहेको छैन’ भन्ने सङ्क्रमणकालीन अवस्था नै वर्तमान अन्यौलको अवस्था हो।

ग. अन्तरविरोध विद्यमान साम्राज्यवादपरस्त सामन्ती तथा दलाल पुँजीवादी व्यवस्थाले जन्माएको विकृति भष्टाचार, बेरोजगारी र जनताको आकांक्षा विकास, सुशासनबीच गम्भीर विरोधाभास उत्पन्न भएको छ।

घ. निकास : मार्क्सवादी दृष्टिकोण अनुसार यो अन्यौलको समाधान सामान्य अनुहार फेराइ वा सुधारवाद बाट सम्भव छैन। यसका लागि उत्पादन सम्बन्धमा व्यापक रूपान्तरण, साम्राज्यबादपरस्त सामन्ती दलाल पुँजीवादी संरचनाको अन्त्य, र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै नयाँ जनवाद मार्फत समाजवादतर्फको यात्रा नै अन्तिम र वास्तविक निकास हो।