काठमाडौं । उद्यमी तथा विकास अभियन्ता प्रसिधा बी. पाण्डेले नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पुर्याउने आर्थिक दृष्टिसहित नयाँ पुस्तक सार्वजनिक गरेका छन्।
पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी, आतिथ्य तथा पर्यटन क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव रहेका पाण्डेले ‘प्राइम मिनिस्टर एन्ड प्रस्पेरिटी : गेटिङ नेपाल टु १०० बिलियन डलर जीडीपी’ पुस्तकमार्फत नेपालको आर्थिक सम्भावना उपयोग गर्ने उपाय प्रस्तुत गरेका छन्।
पुस्तकमा उत्पादन, निर्यात, रोजगारी, लगानी तथा सार्वजनिक आम्दानी बढाउन राष्ट्रिय प्राथमिकता स्पष्ट गरी प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। पाण्डेले प्रधानमन्त्री कार्यालयलाई थप प्रभावकारी बनाउँदै लक्ष्य, जिम्मेवारी, समयसीमा र सार्वजनिक प्रतिवेदनसहितको ‘प्राइम मिनिस्टर डेलिभरी सिस्टम’ प्रस्ताव गरेका छन्।
दक्षिण कोरिया, मलेसिया, भियतनाम, भुटान र सिंगापुरका आर्थिक विकासका अनुभवबाट सिक्दै नेपालको स्रोत र सम्भावनालाई दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्न समन्वित शासन र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पुस्तकमा उल्लेख छ।
पाण्डे होटल एसोसिएसन नेपालका पूर्व अध्यक्ष तथा शाङ्ग्रिला हस्पिटालिटी ग्रुपका अध्यक्ष हुन्। पुस्तक जनै पूर्णिमाको अवसरमा काठमाडौंका प्रमुख पुस्तक पसल तथा अमेजन, एप्पल बुक्सलगायत अनलाइन माध्यमबाट सार्वजनिक गरिएको हो।
पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने पाण्डेले बताएका छन्।
नेपालपत्र संवाददाता