शनिबार, आश्विन १७ गते २०८३

पुनर्बीमा सम्बन्धी अध्ययन गर्न समिति गठन

मंसिर २७, २०७८ सोमबार
पुनर्बीमा सम्बन्धी अध्ययन गर्न समिति गठन

 

बीमा समितिले पुनर्बीमा सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको हो । उक्त समितिमा निर्देशक सुशीलदेव सुवेदी, निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट दुई जना, जीवन बीमा कम्पनीको तर्फबाट एक जना, पुनर्बीमा कम्पनीहरुको तर्फबाट एकएक जना प्रतिनिधि रहने गरी अध्ययन समिति गठन गरिएको हो । समितिले नै गत मंसीर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा अध्ययन गर्न समिति बनाइएको जनाइएको छ । 

कम्पनीहरुलाई निर्देशन दिँदै समितिले आफ्नो सम्पुर्ण पुनर्बीमा व्यवसाय नेपाली बीमा कम्पनीलाई दिन भनेको थियो । तर बीमा कम्पनीहरुको चौतर्फी विरोध पछि बीमा समिति यस्तो समिति गठन गरेको हो । बीमा कम्पनीहरुले ज्ञापनपत्र मार्फत उक्त निर्देशन फिर्ता लिन समितिलाई अनुरोध गरेका थिए ।

बीमा कम्पनीहरुले स्वदेशी बीमा कम्पनीहरुले धारण गर्नसक्ने जोमिम तथा व्यवसाय दिन तयार भएको बताउँदै आएका छन् । तर एकै पटक व्यवसाय दिँदा पहिलादेखि नै सम्बन्ध बनाएका पुनर्बीमा कम्पनीले जोखिम लिन नमान्ने तथा सम्बन्ध नै बिग्रिने भन्दै यस्तो निर्देशनबाट फिर्ता लिन समेत अनुरोध गर्दै आएका छन् । कतिपय विदेशी पुनर्बीमा कम्पनीहरुले समितिको यस्तो निर्देशन पछि बाँकी दाबी भुक्तानी गर्नलाई नै आलटाल गर्दै आएका छन् । विदेशी पुनर्बीमा कम्पनीहरुले नेपाली बीमा कम्पनीहरु सँग व्यवसाय गर्दा यताबाट पठाउने प्रिमियम र उताबाट प्राप्त हुने दाबी रकमलाई मिलान गर्ने गरेको पाइन्छ । तर समितिको यस्तो निर्देशन पछि कम्पनीको यस्तो चक्र नै बिग्रन सक्ने उनिहरुको धारणा छ ।

अर्को तर्फ स्वदेशी पुनर्बीमा कम्पनीहरुले एकैपटक सम्पूर्ण नेपाली बीमा कम्पनीहरुको पुनर्बीमा व्यवसाय ह्याण्डिल नै गर्न सक्ने क्षमता नरहेको जानकार बताउँछन् । मुलुकका दुई पुनर्बीमा कम्पनीको पूँजीकोष १८–१९ अर्ब भन्दा धेरै छैन । यति थोरै पूँजीकोष र न्यून प्राविधिक जनशक्ति भएको यी दुई पुनर्बीमा कम्पनीलाई मात्र  व्यवसाय दिँदा आउने दिनमा दाबी भुक्तानीको विषयमा समस्या पैदा हुने आँकलन उनीहरुको छ ।