शनिबार, आश्विन १७ गते २०८३

पुष्पलाल जन्मेको एक सय बर्ष पुग्दा


भाद्र १२, २०८३ शुक्रबार
पुष्पलाल जन्मेको एक सय बर्ष पुग्दा

शिब भटराई

अहो ! आज पन्ध्र असार २०८२, पुष्पलाल जन्मेको पनि एक सय वर्ष पूरा भइसकेको छ । जम्मा ५४ वर्ष मात्र बाँचे उनी । त्यसमा पनि सक्रिय जीवन भनेको २० देखि २५ वर्षको मात्र रह्यो । राजनीतिक दृष्टि र दर्शन अनि संघर्ष र समर्पणलाई समयसीमाले नसमातेर होला, एकनिष्ठ निष्ठाले पुष्पलालको कृयाशील तर यति छोटो वर्षगणनाबीच पनि नेपाल र नेपालीको नयाँ राजनीतिक इतिहास निर्माणमा मूल बाटो बनाउने कर्म कसैले आजपर्यन्त गर्न सकेको छैन । 

हो, पुष्पलालभित्र, नेपालमा आमूल परिवर्तन गर्ने दृढ इच्छाशक्ति र अदम्य आकांक्षा थियो । २००७ सालको सेरोफेरोमा महान् बलिदानी महायज्ञमा आहुत भएका शहीदहरुको शहादतले उनलाई संघर्षशील हुने प्रेरणा प्राप्त भयो । देशमा विद्यमान क्रुर एकतन्त्री शासन सदाका लागि अन्त्य गर्ने प्रतिज्ञामा प्रतिवद्ध भए पुष्पलाल । बाटो कठोर संघर्षको थियो तर गन्तब्य निश्चित गरिसकेका युवा पुष्पलालका प्रेरणापथ दाजु गंलालालको प्रकाशलाई पच्छ्याउँदै नयाँ इतिहास निर्माण गर्ने अभियानमा लागे पुष्पलाल । राणाशासन विरुद्धको अभियानको केन्द्र जस्तै थिए भारतको बनारस, कलकत्ता र पटना । तर पुष्पलाल पुगे बनारस । 

पश्चिमेली उदारवादलाई अँगालो हालेर सामन्त र शोषकसित मिलेमतो गर्दै सत्ता हत्याउने गर्हित अभिप्रायले गठित नेपाली राष्ट्रिय काँग्रेस र नेपाली काँग्रेसभित्र अलिदिन अल्झिए पनि पुष्पलाल तर त्यहाँ धेरैदिन बल्झिएनन् । राजनीतिक र नागरिक अधिकारको अर्थ बुझ्न ठूलो विज्ञता र एमए, बिए नै पढेको नै चाहिन्छ भन्ने डा. डिल्लीरमण रेग्मीको उत्तरबाट मर्माहत भए । अनि बनारसकै हरिश्चन्द्र कलेजमा आइएमा नाम लेखाए । देशले खोजेको पुष्पलाल–कलेजको कक्षा कोठामा अटाएनन् । अध्ययनको दिशा नै फेरियो ।

मयाक्सिम गोर्कीको आमा उपन्यासले देखाएको क्रान्तिकारी बाटो र गोपाल प्रसाद रिमाल र विजयबहादुर मल्ल जस्ता बामपन्थी विचारहरुको संगतले ‘लालसलाम’ र ‘कमरेड’ शब्दका अनुयायी भइसकेका पुष्पलाल अब कालजयी कम्युनिष्ट घोषणापत्रको  नेपालीमा अनुवाद गर्न तल्लीन भए । इतिहासले उनकै काँधमा बिसाएको भारी–आम नेपालीको विचार, चिन्तन, दर्शन र कर्ममा उतार्न । 

पुष्पलालमा आमूल परिवर्तनको आन्दोलनलाई क्रान्तिकारी दिशा दिने हुटहुटी थियो । त्यसैलाई पूर्णता दिन वैचारिकरुपमा बलियो संगठनको निर्माणमा उनले कम्मर कसे । सन् १९४९ मा पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र दुर्गादेवी समेतको बैठकले भारतको कलकत्तास्थित श्याम बजारको २८ नविन सरकार लेनको एक कोठामा बसेको बैठकले नेपालमा कम्युनिष्ट पार्टीको  आधार तयार गर्न जग बसायो । पुष्पलाल संस्थापक महामन्त्री बने । नेपालको राजनीतिले नितान्त नवीन इतिहासको मार्गचित्र कोर्याे । 

निश्चय पनि बाटो कठीन र कठोर थियो । ठूलो संघर्ष र बलिदानको थियो । तर क. पुष्पलालको दृढ इच्छाशक्तिको अगाडि ती पराजित हुनैपर्यो । ती कठिन उपक्रमहरुले नै होला ७ सालको राणा विरुद्धको संघर्ष होस् या १७ सालको पञ्चायत विरुद्धको संघर्ष होस् पुष्पलाल स्वयंको विचारको उपस्थिति नभएको कुनै पनि संघर्ष नेपाली माटोमा सफल हुन सकेनन् । पुष्पलाल नभएका अथवा उनका विचारले साथ नदिएका आन्दोलनलहरु त्यसै निष्प्रभावी भएर हराए । तर पुष्पलालले प्रस्थापित गरेको संयुक्त संघर्षको अमोघ अस्त्रले पञ्चायत ढल्यो, त्यतिमात्र होइन राजतन्त्र नै ढल्यो । नेपाली राजनीतिक आकाशमा गणतन्त्रकाे विहानी  आयो । नयाँ इतिहास निर्माणको बाटो छेक्नेहरु पाखा लागे । प्रायः सबै बापन्थी भन्नेहरूले आआफ्नो घरमा पुष्पलालकै फोटो टाँसे । 

हो, मरणशील शरीर लिएर आएका पुष्पलालको हाम्रा सामु भौतिक शरीर छैन तर पुष्पलालले नेपाल र नेपालीहरुका लागि गरेका त्याग, समर्पण र योगदानको मोल अनमोल छ। हाम्रो सानो सोच र विचारभित्र अटाउन सक्दैसक्दैन । पुष्पलाल र मेरो चिनाजानी र विचारको आदानप्रदानबाट प्रभावित मेरा आस्था र विश्वासले मलाई अहिलेपर्यन्त मेटिँदै नमेटिने सम्झना र श्रद्धाको भारी बोकाउनु भएको छ । त्यसलाई नबिर्सने धेरै पक्ष र पाटा मसित बसिरहेका छन् । एउटा बहुपक्षीय आदर्श जीवनयात्रा सफल पारेर मरणशील जीवन छोडेका हाम्रा महान् नेतामा मेरो शतत अभिवादन एवं श्रद्धासुमन समर्पण। बितेका सय वर्षभन्दा धेरै सयवर्षसम्म बाँचिरहनेछन् कमरेड पुष्पलाल !

पाल्पा,

हाल कमनपा 

२०८२ असार १५