सोमबार, भाद्र ८ गते २०८३

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्त ऋणी


भाद्र ७, २०८३ आइतबार
सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्त ऋणीहरूले  धर्ना कार्यक्रम स्थगित गर्दै घर फर्किएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका ऋणीहरू सरकारसँग सहमति भएपछि आइतबार आ–आफ्नो गन्तव्यतर्फ फर्किएका हुन् ।

नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको थियो । आइतबार बिहान करिब ९ बजेदेखि विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा साझा यातायातका बसमार्फत बिदाइ गरिएको थियो ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको छ ।सरकार र ऋणीका प्रतिनिधिबीच भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि जारी धर्ना तत्कालका लागि स्थगित भएको हो ।