नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत उपर मुद्दा दायर भएको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानविन प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा बैंकका पदाधिकारीसमेत विरुद्ध मुद्दा दायर गरेपछि बैंकले सो कुरामा आपत्ति जनाएको हो ।
बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका पदाधिकारी विरुद्ध मुद्धा जायर गरेपछि बैंकले आपत्ति जनाएको हो । यस घटनाबाट बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको एवं बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहि संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाधरूपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त गराउन चाहन्छौं भन्दै बैंकले स्पष्ट पारेको छ ।
बैंकले विज्ञप्तिमा भनेको छ, ‘बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिनुहुन यसै विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछौं । बैंकका सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गर्दछौं ।’
नेपालपत्र संवाददाता