बुधबार, भाद्र ३ गते २०८३

प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको आग्रह


श्रावण ११, २०८३ सोमबार
प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको आग्रह

 वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न  आग्रह गरेको छ। विभागले  एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१०) बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ । विभागका अनुसार वि।सं। २०७६÷०३÷०२ र २०७६÷१२÷२४ लगायतका विभिन्न मितिहरूमा राजपत्रमा सूचना प्रकाशन गरी यस्ता वस्तुहरूको पैठारीमा शर्त वा निश्चित अवधि तोकी वा पूर्ण रूपमा मनाही गरिएको छ । 

 सरकारले बन्देज लगाएका यस्ता वस्तुहरू अहिले पनि बजारमा भौतिक रूपमा मात्र नभई विभिन्न डिजिटल प्ल्याटफर्महरू (अनलाइन माध्यम) मार्फत समेत निर्बाध रूपमा बिक्री वितरण भइरहेको गुनासो र उजुरीहरू प्राप्त भएको विभागले जनाएको छ । यसरी प्रतिबन्धित वस्तुहरूको व्यापार भइरहेको प्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ । विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व र शर्त बन्देजहरूको पूर्ण पालना गरी मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।