बुधबार, भाद्र ३ गते २०८३

राष्ट्र बैंकको नयाँ व्यवस्थाः अबदेखि २०० र ५०० दरका भारु चल्ने


श्रावण ८, २०८३ शुक्रबार
राष्ट्र बैंकको नयाँ व्यवस्थाः अबदेखि २०० र ५०० दरका भारु चल्ने

नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँका नोट  ल्याउन, लैजान र सटही गर्न सकिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले नेपालमा नगद विदेशी मुद्रा भित्र्याउने तथा बाहिर लैजाने सम्बन्धी व्यवस्था संशोधन गर्दै अब यात्रुले भन्सार घोषणा नगरी नेपालमा ल्याउन पाउने अमेरिकी डलरको सीमा पनि बढाएर ५ हजार डलर पुर्‍याइएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले  ् जारी गरेको सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अब भन्सार घोषणा नगरी अमेरिकी डलर ५ हजारसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) नेपाल भित्र्याउन सक्नेछन्। यसअघि यो सीमा कम थियो। ५ हजार डलरभन्दा बढी रकम ल्याउँदा भने भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था यथावत् राखिएको छ। 

त्यस्तै भारत सरकारले सन् २०१६ नोभेम्बर ८ पछि प्रचलनमा ल्याएको २०० र ५०० दरका भारतीय रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। यसअघि ५०० र १००० दरका नोटको कारोबारमा प्रतिबन्ध रहेकामा नयाँ डिजाइनका २०० र ५०० दरका नोटलाई भने निश्चित सीमाभित्र अनुमति दिइएको हो। 

राष्ट्र बैंकले भने नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था भने यथावत् रहेको स्पष्ट पारेको छ। यस विषयमा २०८२ भदौ १० मा प्रकाशित पुरानो सूचना खारेज गरिएको पनि बैंकले जनाएको छ  ।