बुधबार, भाद्र ३ गते २०८३

क.पुष्पलाललाई सम्झिदा-डा.मथुराप्रसाद श्रेष्ठ

श्रावण ६, २०८३ बुधबार
क.पुष्पलाललाई  सम्झिदा-डा.मथुराप्रसाद श्रेष्ठ
Dr.Mathura.jpg
-डा.मथुराप्रसाद श्रेष्ठ
 
पुषपलाल! उहाँ मेरो पहिलो राजनैतिक गुरुहरूमा पनि प्रमूख। सात सालको मंसिर अन्त तिर हुनु पर्छ जुलुसमा झण्डै गोली लागेको हल्ला सुनेर बा आउनु भएर हामीलाई बन्दीपुर लानु भो। तेति बेला भन्दा पहिले हामीलाई गौरीभक्त प्रधान, बासुदेवान्द बैद्य आदिले मार्क्सबादी साहित्य पढन र मनन गर्न लगाई सक्नु भएको थियो। बन्दीपुर पुगे पछि मार्क्सवादी अध्ययन कायम राख्न दाजु कदम र कृष्णलालले सघाउनु भो। पुष्पलाल पनि तेहीं भूमीगत बस्नु भएकोले वाहांले द्वन्द्वात्मक भौतिकबादको अध्ययन सुरु गराउनु भो। बुझ्न सजिलो गर्न उहाँले लिनु भएको ब्रम्हाण्ड र मानव बिकाशको प्रबचनको श्रृंखला धेरै रोचक र अबिस्मरणीय थियो। केही दिन पछि पुष्पलाललाई सिपाहींहरूले खोजेको भनेर उहाा बसेको डेन (भूमीगत स्थल) सार्ने दाजुहरूसँगको निर्णय अनुसार झिसमिस बिहानै पुष्पलालसँग हिंडने मौका पाएँ। दुक्लै, कसैले शंका नगरोस् भनेर। बाटो मलाई थाहा नभए पनि उहाँलाई थाहा रहेछ। जंगल खोल्साखाल्सी हुँदै मेरो निम्ति कहाँ पुगियो पुगियो जस्तो लाग्यो। करिब १० बजे सम्मै हिंडि रह्यौं।
"भोक लाग्यो?" भनेर उहाँले सोध्नु भो। हो भनें, जंगलमा के पाईन्छ र मनमनै निराश भएर। राजनीतिमा भोक प्यास र सबै खाले समर्पणको आवस्यकता बारे छोटो तर बिर्सनै नसक्ने गरी सम्झाउनु भो। केहि छिन पछि एउटा खोलामा माछा मारिरहेको दुईजना माझी देखियो। अलिकति झींगे माछाहरू पारी सकेको थियो। बेच्न पहिला त मानेको थिएन तर पुष्पलालले केहि छिन अनुरोध गरे पछि मान्नु भो। सुका पैसा भाउ लगाउनु भो। वाहांले तिरे पछि परेको सबै जिउँदै झिंगे माछो पातमा राखि दिनु भो। मलाई बोक्न दिनु भो र फेरि बाटो लाग्यौं। करिब एक घण्टा अरू हिडे पछि एउटा गोठ देखियो र तेतै लागियो। कोही बस्तु बांधिएको थिएन। कोही पनि मानिस देखिएन। माथिल्लो खुला तलामा पराल, ओइलिसकेको केही घाँस, सानो चुलो, केही दाउरा र सानो पुरानो सन्दुक जस्तो काठको बाकस रहेछ । सांचो नलागेको बाकस खोली हेर्दा काठको कटौरामा थोेरै दूधकाे तर रहेछ। उहाँले आफ्नो खल्ति छाम्नु भो खाली रहेछ। तब, "ए मथुरा, तिमीसँग कति पैसा छ?" उहांले सोध्नुभयो ।
 
मसँग पनि सुका मात्र रहेछ, दिएँ। पुष्पलालले एउटा चुरोटको खाली बट्टाको खोल खोलेर भित्र पट्टी चिठ्ठी लेख्न थाल्नु भो गोठ मालिकलाई, "माफ गर्नु होला, कोही नभएकोले बाकस खोली अलिकति घिउ बनाउने तर, ताप्के र दाउरा चलाएँ, भोक मेट्न। बापतमा एक सुका छोडेको छुँ। अन्यथा नलिनु होला - बिबस बटुवा" भनि चीठ्ठी लेखी तेसैमा सुका पैसा पोको पारी राखि सन्दुक बन्द गर्नु भो। त्यो भन्दा पहिले मैले झिंगे माछा देख्या थिईन। कालो र खैरो रंगको वालावाला चलिरहेको झिंगेको पोका देख्दा घिन मान्दै "कसरी खान सकिन्छ" भने पछि मीठो हुन्छ भनि सम्झाउँदै तातो तर बाट निस्केको घिउमा तार्न थाल्नु भो पुष्पलालले। एकछिन पछि झिंगा माछा रातो, आकर्षक र मीठो बास आउने भयो।
 
पाके पछि तेही भांडोमा आधी आधी छुट्याई क्वाप क्वाप खाने हो भन्दै सिकाउनु भो। खान थाले पछि कस्तो लाग्यो भनि सोध्नु भो। मीठो रहेछ भन्दै खान थालें। पुष्पलालले एक दुईवटा मात्र खानु भई "मलाई पेट दुखेकोले यति मात्र खान्छु। बांकि तिमी सबै खानु" भन्दै मलाई कर गरी सबै खुवाउनु भो। पछि मलाई लाग्यो, सानो वच्चै छ, मेरो पेट् भर्दैन भनी उहांले त्यो बहाना बनाएको हुनु पर्छ भन्ने। तेस्तो अभिभावक जस्ताे बिर्सनै नसिकने ब्यक्तित्व । देश र जनताकाे निम्ति महान र त्याग गर्न सक्ने हुनु हुन्थ्यो पुष्पलाल! कहिलै बिर्सन सक्ने छैन म। तेस पछि जंगल जंगल बाटो भई सूर्यास्तकाे बेला एउट मगर गाउँमा हामी पुग्यौं। त्याहाँ बस्ने सबै जसोलाई चिन्नु हुंदो रहेछ पुष्पलालले। साँझ खाना खाइसके पछि उहाँहरू बैठक बस्न लाग्नु भो। मलाई भने सुत्न लाउनु भो।
 
काठमाण्डू, २०७६ साउन ०७
( २०७६ साउन ७ गते श्रद्धेय राजनैतिक गुरू, का. पुष्पलालको स्मृति दिवसमा उहाँसंगको एक अबिस्मरणीय दिनको सम्झनामा पहिले लेखेको एक लेखका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छु:मथुरा)