बुधबार, भाद्र ३ गते २०८३

जनसेवा साकोसको छलाङ्ग, खराब कर्जा अनुपात ०.१८ प्रतिशत


श्रावण ५, २०८३ मंगलबार
जनसेवा साकोसको छलाङ्ग, खराब कर्जा अनुपात ०.१८ प्रतिशत

 
पोखरा – १९ पुरुन्चौर, कास्कीमा मुख्य कार्यालय रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले गत असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार १ बर्ष भन्दा  मुनिको भाखा नाखेको ऋण ०. १८ प्रतिशत रहेको छ ।  

पछिल्लो समय सहकारी संस्थामा ऋण असुली मुख्य समस्या भइरहेको भनिरहँदा जनसेवाले भने ऋण असुलीमा राम्रो उपलब्धि हासिल गरेको छ । संस्थामा १ बर्ष भन्दा माथि भाखा नाघेको ऋण शुन्य प्रतिशत रहेको व्यवस्थापक प्रेमसागर अधिकारीले बताए । संस्थाले सदस्यहरुको परियोजना र व्यवस्थित तरिकाले ऋण लगानी गर्ने गरेकाले असुलीमा सफलता मिलेको उनको भनाई छ । अर्कोतर्फ   सहकारी ऐन अनुसार सदस्य बनेको ३ महिना पछि मात्र ऋण लगानी गर्ने र त्यसबिचमा सदस्यको आनीवानीका साथै वित्तीय अवस्थाका बारेमा समेत पहिचान भइसक्ने हुँदा ऋण लगानी र असुलीमा सहज भएको उनले बताए । संस्थाले ऋण लगानीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्ने र सञ्चालक समिति र ऋण उप समितिको भनसुनका आधारमा लगानी नगर्ने उनले प्रष्ट पारे ।

व्यवस्थापनमार्फत् प्रक्रिया पुरा गरी गरेको लगानी असुलीमा समेत सहज हुने उनको बुझाई छ । अर्कोतर्फ संस्थाले अनुत्पादक क्षेत्र र एउटै सदस्यलाई ठुलो ऋण लगानी नगरी सदस्यको क्षमताको आधारमा मात्र ऋण लगानी गरेको उनले जनाए ।  सञ्चालक समिति र कर्मचारीबिच हुने  हरेक बैठकमा ऋण असुलीलाई संस्थाले पहिलो एजेन्डा बनाउने गरेको उनको भनाई छ । जसले गर्दा संस्थाले आर्थिक मन्दीका बिचमा पनि ऋण असुली शतप्रतिशत गर्न सकेको व्यवस्थापक अधिकारी बताउँछन् ।

त्यसैगरी संस्थाले गत आ.ब.मा कुल सम्पत्तिमा ९.७३ अर्थात ४ करोड ३७ लाख ८० हजार आर्थिक वृद्धि गर्न सफल भएको छ । गत आ.ब.सम्म संस्थाको शेयर पुँजी ४ करोड ३० लाख,जगेडा कोष २ करोड ९९ लाख ४५ हजार, अन्य कोष ५२ लाख४८ हजार र संस्थागत पुँजी ३ करोड २५ लाख पुगेको छ । त्यस अवधिमा संस्थाले ३९ करोड ९९ लाख ९९ हजार बचत संकलन गरी ३१ करोड ४१ लाख ५१ हजार ऋण लगानी गरेको छ ।

२ हजार ५६४ सदस्य रहेको संस्थाको कुल सम्पत्ति ४९ करोड ३६ लाख १६ हजार पुगेको छ । संस्थाबाट ४८२ जना सदस्यले ऋण लिएर उद्यम व्यवसाय गर्नुका साथै आवश्यकता अनुसार विभिन्न उदेश्यका लागि ऋण उपयोग गरेका छन् । संस्थाले गत आ.ब.मा १ करोड ११ लाख ७५ हजार शुद्ध नाफा आर्जन गर्न सफल भएको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सञ्चालन हुँदै आएको संस्था सदस्य र समुदायको उन्नत्तिको सारथी बनेको छ ।