पुष्पलालको स्मृतिमा (शार्दूलविक्रीडित)
================================

इन्द्रनारायण सबेदी
भत्क्यो लिच्छवि मल्लकाल अघिको त्यो दुर्ग सिंहासन
राणा काल गयो, गयो अनि यता पञ्चायती शासन
भोग्दैछौँँ गणतन्त्र यो मुलुकमा झन् भारको मार छ
जित्दैनन् किन पुष्पलाल जनता झन् हार नै हार छ ।१।
तिम्रो नाम भजाउँछन् डलरका साटेर पोकाहरू
छाडी देश विदेशमा पुगिसके नाङ्गा र भोकाहरू
नेपालीसँग छैन नागरिकता किन्छन् विदेशी सब
सारा वैभव स्रोत साधनहरू छन् बन्धकीमा अब।२।
सत्ता नायक लक्ष्यहीन परका साम्राज्यका दास छन्
गर्छन् प्राण उतै विसर्जन स्वयं सामन्तका सास छन्
तिम्रो शाश्वत मार्गचित्र युगको बाटो हरायो यहाँ
सीमास्तम्भ उखेलिए सँगसँगै माटो हरायो यहाँ ।३।
तिम्रा दृष्टि विचार ती समयका सिद्धान्त ती चिन्तन
त्यो सङ्घर्ष र राष्ट्रभक्ति युगको आदर्श त्यो जीवन
हाम्रा निम्ति छ पुष्पलाल अहिले सन्मार्ग सञ्जीवनी
लड्दै छौँ अझसम्म मुक्तिपथको त्यो लाल झन्डामनि।४ ।
धेरै जीवन मृत्युमा बदलिए सङ्घर्षका नाउँमा
आयो सङ्घ प्रदेशबाट चुहुँदै सत्ता पुग्यो गाउँमा
यी जम्मै तहको विरासत लिने छोटे रजौटाहरू
थारा भैँसी समान छन् चइतका पालेर खै के गरूंँ।५।
यौटा अद्भुत चेतना सँगसँगै नेतृत्व हाँक्ने बल
देऊ फेरि पछार्न यो मुलुकमा छन् देशद्रोही खल
भिन्नै संरचना बनाउन यहाँ बालेर दीपावली
गर्छौँ आज अठोट स्वच्छ मनले अर्पेर श्रद्धाञ्जली ।६।
================================
३ बर्ष अधि २०७९ श्रावणकाे १२ मा रचित
इन्द्र नारायण सुवेदी