अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिदर घट्ने जनाएको छ । आईएमएफले बुधबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य अद्यावधिक, जुलाई २०२६ प्रतिवेदन अनुसार यस वर्ष विश्व अर्थतन्त्र ३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।
युद्धजन्य तनाव, ऊर्जा आपूर्तिमा देखिएको जोखिम र विश्वव्यापी अनिश्चितताका कारण विश्वको आर्थिक वृद्धिदर घट्ने उसले जनाएको हो । आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने अनुमान गरेको थियो । पछिल्लो प्रतिवेदनमा भने इरान युद्धबाट उत्पन्न ऊर्जा संकट, हर्मुज जलघाँटीमा बढेको तनाव र विश्व ऊर्जा बजारमा परेको दबाबलाई समेट्दै वृद्धिको अनुमान ०.१ प्रतिशत बिन्दुले घट्ने प्रक्षेपण गरेको हो ।
यद्यपि सन् २०२७ मा भने विश्व आर्थिक वृद्धिदर ३.४ प्रतिशत पुग्ने आईएमएफको अनुमान छ । आईएमएफका अनुसार युद्ध र ऊर्जा आपूर्तिमा देखिएको अवरोधले ऊर्जा आयातमा निर्भर देश तथा कमजोर अर्थतन्त्र भएका मुलुकहरू बढी प्रभावित भएका छन् । विशेषगरी हर्मुज जलघाँटीमा बढेको अमेरिका–इरान तनावले विश्व ऊर्जा बजारमा अनिश्चितता थपेको आईएमएफले जनाएको छ ।
नेपालपत्र संवाददाता