शुक्रबार, कार्तिक ७ गते २०८३

मध्यपूर्व संकट सामान्य बन्दै गएसँगै भारतले हटायो एलपीजी प्रतिबन्ध


आषाढ १२, २०८३ शुक्रबार
मध्यपूर्व संकट सामान्य बन्दै गएसँगै  भारतले हटायो एलपीजी प्रतिबन्ध

मध्यपूर्वमा उत्पन्न युद्ध र हर्मुज जलघाँटीमा देखिएको अवरोधपछि प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सामान्य बन्दै गएसँगै भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ। भारतको पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर–घरेलु प्याक गरिएको एलपिजीमाथिको अस्थायी प्रतिबन्ध हटाइएको र आपूर्ति पूर्वसङ्कटकालीन अवस्थामा फर्काइएको जनाएको छ। मन्त्रालयका अनुसार संकटका बेला रोकिएको बल्क एलपिजी आपूर्तिलाई पनि अहिले पूर्ववत् स्तरको करिब ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ। 

विश्वको दोस्रो ठूलो एलपिजी आयातकर्ता भारतले आफ्नो अधिकांश ग्यास मध्यपूर्वबाट आयात गर्दै आएको छ। हर्मुज जलघाँटीमा देखिएको अवरोधका कारण आपूर्ति शृङ्खलामा गम्भीर असर परेको थियो, जसले घरेलु बजारमा मूल्यवृद्धि र नियन्त्रणात्मक नीतिहरू निम्त्याएको थियो। 

अमेरिका–इरान तनावपछि प्रभावित बनेको हर्मुज जलघाँटी पुनः सञ्चालनमा आउने सहमति भएसँगै ऊर्जा ढुवानी क्रमशः सहज बन्दै गएको छ। त्यसपछि भारतले आपूर्ति व्यवस्थालाई सामान्य अवस्थामा फर्काउने प्रक्रिया अघि बढाएको हो। ऊर्जा संकटका क्रममा सरकारले एलपिजीको मूल्य समायोजन गर्नुका साथै आपूर्ति नियन्त्रणका अस्थायी उपायहरू अपनाएको थियो। साथै वैकल्पिक ऊर्जा स्रोत विस्तारका लागि कोइला ग्यासिफिकेसन योजनामा समेत लगानी बढाइएको थियो।