शुक्रबार, कार्तिक ७ गते २०८३

विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो लेटाङमा पहिलो मानवविहीन स्मार्ट सबस्टेसन


आषाढ ११, २०८३ बिहीबार
विद्युत् प्राधिकरणले  सञ्चालनमा ल्यायो लेटाङमा पहिलो मानवविहीन स्मार्ट सबस्टेसन

नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, भरपर्दो र स्वचालित बनाउने लक्ष्यसहित निर्माण गरेको लेटाङ ३३/११ केभी, ८ एमभीए क्षमताको मानवविहीन (अनम्यान्ड) स्मार्ट सबस्टेसन सफलतापूर्वक सञ्चालनमा ल्याएको छ।


मोरङको लेटाङमा निर्माण गरिएको उक्त सबस्टेसन असार ५ गते परीक्षण, कमिसनिङ र चार्जिङ सम्पन्न गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। नेपाल विद्युत् प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरअन्तर्गत निर्माण भएको यो सबस्टेसन अटो रिकलोजर (एआर) तथा स्काडा (एससीएडीए) नियन्त्रण प्रणालीमा आधारित नेपालको पहिलो मानवविहीन वितरण सबस्टेसन भएको प्राधिकरणले जनाएको छ।


२०७९ वैशाख ६ गतेदेखि निर्माण सुरु भएको आयोजना चार वर्षपछि सम्पन्न भएको हो। आयोजनाको निर्माण जिम्मेवारी जय दुर्गे इन्फ्रा इन्जिनियरिङले वहन गरेको थियो। सबस्टेसनमा ८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ। यसमा ३३ केभीतर्फ चार वटा बे र ११ केभीतर्फ पाँच वटा बे निर्माण गरिएको छ। साथै नियन्त्रण कक्ष र कर्मचारी आवाससहितको कार्यालय भवन पनि निर्माण गरिएको छ।

करिब १० करोड रुपैयाँ लागतमा सम्पन्न भएको आयोजनाबाट लेटाङ नगरपालिका र बेलबारी नगरपालिका क्षेत्रका हजारौं उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् वितरण प्रणालीमा देखिँदै आएको न्यून भोल्टेज, बारम्बार हुने ट्रिपिङ तथा विद्युत् अवरोधका समस्या न्यूनीकरण हुने प्राधिकरणको विश्वास छ।

सबस्टेसनमा प्रयोग गरिएको अटो रिकलोजर र एससीएडीए प्रणालीमार्फत दूरस्थ निगरानी तथा नियन्त्रण गर्न सकिने भएकाले सञ्चालन प्रक्रिया पूर्ण रूपमा स्वचालित बनेको छ। यसबाट वितरण प्रणालीको विश्वसनीयता बढ्नुका साथै सञ्चालन तथा मर्मतसम्भार खर्चमा समेत उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।


प्राधिकरणका अनुसार लेटाङ क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज र अनियमित विद्युत् आपूर्तिको समस्या रहेको थियो। स्थानीय उपभोक्ताबाट लगातार गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले वैकल्पिक व्यवस्था मिलाउँदै सबस्टेसन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार कोशी प्रदेश कार्यालयले विराटचोक–केरुङ ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएर सबस्टेसनलाई द्रुत गतिमा सञ्चालनयोग्य बनाएको जनाएको छ।