शनिबार, कार्तिक ८ गते २०८३

आयात–निर्यात दुवै बढ्याे, सबैभन्दा धेरै डिजेल आयात र प्रमुख निर्यात भटमास तेल


आषाढ ९, २०८३ मंगलबार
आयात–निर्यात दुवै बढ्याे, सबैभन्दा धेरै डिजेल आयात र प्रमुख निर्यात भटमास तेल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (जेठ मसान्तसम्म) नेपालको वैदेशिक व्यापारमा उल्लेख्य विस्तार देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार १४.८ प्रतिशतले बढेको हो।

यद्यपि व्यापारको आकार बढे पनि आयातको निर्भरता यथावत् रहँदा व्यापार घाटा झन् विस्तारित भएको छ। ११ महिनामा व्यापार घाटा १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.७ प्रतिशत बढी हो।

आयात र निर्यात दुवैमा वृद्धि

तथ्यांकअनुसार ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात १६ खर्ब ४४ अर्ब रुपैयाँ थियो। यसरी आयात १५.१६ प्रतिशतले बढेको देखिन्छ। त्यस्तै निर्यात २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निर्यात १२.२८ प्रतिशतले वृद्धि भएको हो। तर निर्यातको वृद्धि दर आयातभन्दा कम भएकाले व्यापार असन्तुलन झन् बढेको देखिन्छ। कुल व्यापारमा निर्यातको हिस्सा १२.८ प्रतिशतमा सीमित छ भने आयातको हिस्सा ८७.२ प्रतिशत पुगेको छ।

यस वर्ष आयात वृद्धिका पछाडि केही प्रमुख कारण देखिन्छन् । तीमध्ये अर्थतन्त्रमा माग क्रमशः सुधार हुँदै जानु, निर्माण तथा पूर्वाधार गतिविधिमा वृद्धि, पेट्रोलियम पदार्थको उच्च आयात मुख्य छन् । त्यस्तै कच्चा पदार्थ तथा औद्योगिक सामग्रीको आयात विस्तार, खाद्य तेल उद्योगका लागि भटमास तथा सूर्यमुखी तेलको कच्चा पदार्थ आयात बढ्नु र मोबाइल फोन, औषधि, मल तथा धातुजन्य वस्तुको माग बढ्नु जस्ता कारण देखिन्छन् । 

यस अवधिमा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तुहरूमा डिजेल – १ खर्ब ५२ अर्ब ६८ करोड रुपैयाँ, कच्चा भटमास तेल – १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँ, पेट्रोल – ६८ अर्ब १८ करोड रुपैयाँ, फलामजन्य उत्पादन – ५३ अर्ब ६९ करोड रुपैयाँ, एलपी ग्यास – ५२ अर्ब २२ करोड रुपैयाँ, स्मार्टफोन – ४३ अर्ब ४५ करोड रुपैयाँ रहेका छन्  । त्यसैगरी हट रोल्ड फलाम/स्टिल सिट, औषधिजन्य सामग्री, सुन, डिएपी मलको परिणाम  पनि उल्लेख्य रहेकाे छ ।  नेपालको ऊर्जा, कृषि, सञ्चार तथा औद्योगिक क्षेत्र आयातमा अत्यधिक निर्भर रहेको यसले पुष्टि गर्छ।

निर्यात वृद्धि

त्यस्तै, निर्यात तर्फ वृद्धिका मुख्य कारणहरूमा भारततर्फ प्रशोधित खाद्य तेलको निर्यात विस्तार, ठूलो अलैंचीको राम्रो निर्यात, गलैँचा तथा हस्तकलाजन्य वस्तुको अन्तर्राष्ट्रिय माग, जूट, कपडा तथा पशुखाद्यजन्य उत्पादनको निर्यात वृद्धि, भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार ले गर्दा देखिन्छ । विशेषगरी नेपालमा आयात गरिएका कच्चा खाद्य तेल प्रशोधन गरी भारत निर्यात गर्ने उद्योगहरूले निर्यात वृद्धिमा मुख्य योगदान दिएको छ । 

निर्यात वृद्धिमा प्रशोधित भटमास तेल – १ खर्ब १३ अर्ब रुपैयाँ, ठूलो अलैंची – १२ अर्ब रुपैयाँ, ऊनी गलैँचा – ९ अर्ब ३८ करोड रुपैयाँ रहेका छन् । त्यसपछिको परिमाण सूर्यमुखी तेल, प्रशोधित पाम ओलिन, जूटका कपडा, फेल्टजन्य उत्पादन, पोलिस्टर धागो, मिश्रित फलफूलको जुस र पशुखाद्य रहेका छन्र । नेपालको निर्यात अझै पनि केही सीमित वस्तुमा केन्द्रित रहेकाे यसले देखाउँछ।

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। साे अवधिमा भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँको आयात भएकाे छ भने २ खर्ब २८ अर्ब रुपैयाँको निर्यात भएकाे छ । यता, चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँको आयात भएको छ भने निर्यात केवल करिब १६० करोड रुपैयाँ बराबरमा सीमित रहेकाे छ।

पछिल्ला केही वर्षयता निर्यातमा भइरहेकाे वृद्धि वैदेशिक व्यापारका लागि सकारात्मक संकेत हो। भटमास तथा सूर्यमुखी तेल उद्योगले निर्यातमा नयाँ सम्भावना देखाएका छन्। परम्परागत नेपाली उत्पादनको माग अझै कायम छ। भारतीय बजारले नेपाली उत्पादनलाई ठूलो अवसर प्रदान गरिरहेको छ।अर्काेतर्फ ऊर्जा, खाद्यान्न, मल, औषधि, धातु तथा प्रविधि सबै क्षेत्रमा उच्च आयात निर्भरता बढिरहेकाे छ।

केही वस्तुमा मात्र निर्यात केन्द्रित हुँदा जोखिम उच्च छ। निर्यातजन्य धेरैजसाे पदार्थमा स्थानीय मूल्य अभिवृद्धि कम रहेकाे छ। अन्य मुलुकहरूसँगकाे निर्यात विस्तार हुन सकेको देखिएकाे छैन।