
सिर्जना शर्मा
बाँझो खेत भयो अनाज घरमा पस्दैन मान्छे नभै
खाडीको श्रम सीपले दिनहरू बित्लान् र के पो सधैँ !
साँच्चै के घरबारको मनभरी लाग्दैन माया कवै
"माया-सागर" उर्लिँदो छ दिलमा छैनौ तिमी नै सँगै !!
.
भो चाहिन्न चुरा, हिरा र गहना चाहिन्न साडी नयाँ
भो लाउन्न घडी विदेशतिरको केही नल्याऊ यहाँ
च्याँख्ला गुन्द्रुक सिस्नु-साग र ढिँडो औधी मिठो लाग्दछ
"छैनौ साथ तिमी" यही विरहले निद्रा क्षुधा भाग्दछ !!
.
फर्के बाकसमा निकै तर सदा तिम्रो सुरक्षा रहोस्
तिम्रो सीप कला र मेहनतले हाम्रो धरा चम्कियोस्
पैसाकै पछि दौडदै कति यहाँ मान्छे भए दास नै
फर्कन्छौ कहिले तिमी ? हृदयमा भो यत्ति धोको सधैँ !!.
.
हे प्यारा ! सुख मिल्छ साथ रहँदा, जाँदै नजाऊ पर
पैसाले भन जिन्दगीभर खुसी को नै भएको छ र ?
बारी खेत खनी मकै र गहुँ के रोपेर चल्दैन र ?
होला प्रेम पिई खुसी मनभरी भो, फर्क प्यारा ! घर !!
.
सिर्जना शर्मा
रुकुम
सिर्जना शर्मा