बुधबार, भाद्र ३ गते २०८३

सानो राष्ट्रका लागि उत्तम छिमेकी सानो सेनासहितको धनि देश-यदुनाथ खनाल


जेठ २६, २०८३ मंगलबार
सानो राष्ट्रका लागि उत्तम छिमेकी सानो सेनासहितको धनि देश-यदुनाथ खनाल
 
‘सरदार’ उपाधि प्राप्त, प्रा. यदुनाथ खनाल (वि.सं. १९७०–२०६१) अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका नेपालका कुटनीतिज्ञ हुन् । विदेश नीति वा अन्तर्राष्ट्रिय सम्बन्धमा यिनका विचार वा सूत्रहरू शाश्वत र सर्वस्वीकार्य मानिन्छ ।
परराष्ट्रमन्त्री, परराष्ट्र सचिव, भारत, चीन र अमेरिकाका लागि नेपाली राजदूतका रुपमा पनि जिम्मेवारी सम्हालेका स्व. खनाल नेपाली, अँग्रेजी, संस्कृत लगायतका धेरै भाषाका ज्ञाता थिए । कलकत्ता विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा एम.ए. गरेका उनले यी भाषामा १ दर्जनजति पुस्तक लेखेका छन् ।
 
सरदार यदुनाथ खनाल सानै उमेरमा तनहुँबाट काठमाडौँ बसाई आए । उनले त्रिचन्द्र कलेजमा शिक्षकका रुपमा सेवा शुरू गरे । ७० को दशकमा दक्षिण एशियाका साना मुलुकहरूमा सार्वभौम अस्तित्व जोगाउने ठूलो खतरा आइपरेको थियो । सिक्किम भारतमा बिलय, पाकिस्तानको विभाजन तथा बाँग्लादेशको रुपमा नयाँ राष्ट्रको जन्म, अफगानिस्तानमा सोभियत संघको सेनाको सशक्त उपस्थिति जस्ता खतराको कालो बादल मण्डराईरहेको बेलामा भारत र चीन ‘दुई ढुङ्गाको तरुल’ को रुपमा रहेको नेपालको स्वाधीन अस्तित्व जोगाउनमा उनको असाधारण योगदान इतिहासमा अङ्कित छ ।
 
उनले राजा महेन्द्रदेखि गिरिजाप्रसाद कोइरालासम्मलाई परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा गहकिला सल्लाह दिए । गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराई (किसुनजी) पहिलो पटक प्रधानमन्त्री भएको बेला खनाल उहाँहरूका विदेश मामिला प्रमुख सल्लाह रहेका थिए । नेपाल आएका सबैजसो जिम्मेवार विदेशीहरू उनलाई भेट्न लालायित हुन्थे । २०६१ असोज १४ बिहिबार ९२ वर्षको उमेरमा उनको निधन भयो । आफ्नो निधनबारे कसैलाई थाहा नदिई र ठूलो तामझाम नगरी सामान्य ढङ्गले पशुपति आर्यघाटमा दाहसंस्कार गरिदिनु भन्ने उनको अन्तिम इच्छा थियो, त्यस्तै भयो ।
 
स्व. खनालको माथिको विचार अन्तर्राष्ट्रिय स्तरको अँग्रेजी म्यागजिन ‘न्युजवीक’ मा भारिन्द्रा तारजी वित्ताची (Varindra Tarzie Vittachi-१९२१–१९९३) नामक श्रीलंकाली स्तम्भ लेखक (पत्रकार) ले सेप्टेम्बर २५, १९९२ को अंकमा The Whale and Minnows (ह्वेल र भुरा माछा) शीर्षक लेखमा उल्लेखित थियो । मैले अमेरिकी पुस्तकालयबाट सो लेख फोटोकपी गरेर संकलनमा लिएको थिएँ :
"For a small country the best neighbor is a rich country with a small army like Japan; the most dangerous is poor country with big army."
२०७९ जेठको यसै बेलातिर परराष्ट्र मन्त्रालयले‌ 'यदुनाथ खनाल प्रवचन माला' कार्यक्रम सम्पन्न गरेको थियो। त्यो निकै प्रभावकारी भएको थियो।