शनिबार, आश्विन १७ गते २०८३

पुनर्बीमा बारे विवाद उठेपछि बीमा समितिले जारी गर्‍यो विज्ञप्ति

मंसिर १४, २०७८ मंगलबार
पुनर्बीमा बारे विवाद उठेपछि बीमा समितिले जारी गर्‍यो विज्ञप्ति

 

पुनर्बीमा कम्पनीका विषयमा विवाद उठेपछि बीमा समितिले स्पष्टोक्ति दिएको छ । पुनर्बीमा कम्पनीलाई पुरै बीमा व्यवसायको एकाधिकार दिने गरी निर्देशन दिइएको भन्दै बीमा व्यवसायी रुष्ट भएको खबर विभिन्न सञ्चारमाध्यममा आएको थियो । 

सोमबार विज्ञप्ति जारी गर्दै बीमा समितिले पछिल्लो समय सञ्चार माध्यममा आएको समाचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्देशनको बचाउ गरेको छ । 

समितिले एक विज्ञप्ति जारी गर्दै  प्रचलित नियम अनुसार नै निर्देशन जारी गरिएको दावी गर्दै यसलाई अन्यथा नलिई सहज रुपमा परिपालना गराउन बीमा कम्पनीहरुसँग आग्रह गरेको छ । गुनासाहरु भए बीमा कम्पनी तथा सरोकारवालाहरुसँग छलफल गरेरसमस्या समाधान गर्न सकिने आशस समेत विज्ञप्तिमा उल्लेख छ । 

मुलुकमा विदेशी विनिमय सञ्चिति कम भएको र विदेशी मुद्रा बाहिरिनबाट जोगाउनका लागि यस्तो निर्देशन जारी गरिएको बीमा समितिको जनाएको छ । त्यस क्रममा कुनै विद्यमान कानून तथा निर्देशिकाहरु उलंघन नगरिएको भनाइ बीमा समितिको छ । 

स्वदेशी कम्पनीलाई उनीहरुको आर्थिक क्षमताले नधान्ने पुनर्बीमा व्यवसाय पनि जबरजस्ती उनीहरुलाई नै दिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था बीमासमितिको निर्देशनबाट सिर्जना भएको भनेर आएका समाचार आम जनतामा भ्रम सिर्जना गर्ने र बीमा एवं पुनर्बीमा व्यवसायको विकासलाई अवरुद्ध पार्ने नियोजित उद्देश्य भएको गम्भीर आरोप बीमा समितिले लगाएको छ ।

बीमा समितिले गत शुक्रबार बीमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै पुनर्बीमा स्वदेशी कम्पनीहरुमा गराउन भनेको थियो । स्वदेशी कम्पनीहरु अस्वीकृत गरेको अवस्थामा मात्रै विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन निर्देशन दिइएको छ ।