शनिबार, आश्विन १७ गते २०८३

बीसौं शताब्दी बिकास र बिनाशको बास्तबिकता

मंसिर १४, २०७८ मंगलबार
बीसौं शताब्दी बिकास र बिनाशको बास्तबिकता
purbadhar.jpg
—लोकनारायण सुबेदी
बितेको बीसौ शताब्दी राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृति हरेक किसिमले बिर्सन नसकिने शताब्दी हो । पहिलो कुरा त त्यो शताब्दीले दुइ दुइ बिश्व युद्धलाई झेल्यो । करोडौं मानिस र असंख्य सम्पत्ति त्यसमा स्वाहा भयो । यसै शताब्दीमा बैज्ञानिक समाजबादको बिकास र एक किसिमले बिनाश पनि भयो तथापि त्यसको धेय र उदेश्य अमररुपमा त्यही शताब्दीले स्थापित गरिदियो । अनि त्यसै शताब्दीमा, तनाबयुक्त नै सही बिश्व राजनीतिमा एक किसिमको स्थायित्व देखियो । त्यसले गर्दा त्यो शताब्दी तीब्र आर्थिक बिकासको शताब्दी पनि बनेर गयो । त्यसै शताब्दीमा हरेक क्षेत्रमा बिज्ञान र प्रबिधिले अपूर्ब बिकासको उच्चाई पक्रियो । यसमा पनि बीसौं शताब्दीको सबैभन्दा महत्वपूर्ण खोज यदि कुनै औंल्याइन्छ भने त्यो ‘एण्टीबायोटिक्स’को खोज मानिन्छ । यसले अनेक किसिमका रोगहरुसँग लडिरहेको बिश्वलाई एउटा नयाँ आशाको सञ्चार मात्र गरेन यसले चिकित्सा शिक्षा र बिज्ञानमा नयाँ उच्चाई र नबीन आयाम पनि स्थापित गरेर छाड्यो ।
हुन त आज पनि हामी नयाँ पुराना मलेरिया, डेङ्गु र चिकेनगुनिया र जीका भाइरस जस्ता रोगहरुबाट पीडित र आक्रान्त छौं । तिनले हैरान पारिनै रहेका छन् । तर एक डेढ शताब्दीभन्दा पहिला प्लेग जस्तो महामारीले जस्तो किसिमले बिश्वलाई सन्त्रास धकेल्दथ्यो आजको बिश्व त्यस्तो स्थितिबाट निकै टाढा पुगिसेको छ । यसको श्रेय भने पूर्णरुपले तिनै ‘एण्टीबायोटिक्स’को खोजलाई नै जान्छ । यो एण्टीबायोटिक्सको खोजभन्दा पहिला बिश्वमा ब्याक्टेरियाको संक्रमणसँग लड्ने कुनै पक्का रामबाण तरीका उपलब्ध थिएन । परम्परागत औषधीहरुलाई यस्ता रोगहरुलाई पूर्णरुपमा परास्त गर्न सक्तैनथे । प्रायः ती औषधीहरु रोगसँगभन्दा बढी रोगका लक्षणहरुसँग लड्ने गर्दथे । केही बर्षमा नै एण्टीबायोटिक्स ती रोगहरुसँग लड्ने एउटा बिश्वासिलो हतियार बन्न पुगे । ती चाँडै नै सर्बसुलभ पनि भए । तर बिसौं शताब्दी बित्दाबित्दै तिनल पनि आफ्नो औषधीय असर गुमाउदै जान थाले ।
एण्टीबायोटिक्सको कठिनाई के छ भने तिनले आरम्भमा ब्याक्टेरियालाई मारिदिन्छन् तर चाँडै नै धेरैजसो ब्याक्टेरियाले आफु भित्रको प्रतिरोधी क्षमता बिकसित गर्ने गर्दछन् । यस पछि त ती ब्याक्टेरियालाई मार्ने नयाँ नयाँ औषधी अर्थात एण्टीबायोटिक्स चाहिने गर्दछ र तिनको खोज अनुसन्धान पनि शुरु हुन्छ । अनि नयाँ एण्टीबायोटिक्स बढी प्रभाबकारी पनि हुन्छन् र बजारमा मँहगो पनि हुन्छन् । वास्तवमा ती औषधी कम्पनीहरुका लागि बढी नाफाका सौदा बन्ने गर्दछन् । त्यसले अब नयाँ एण्टीबायोटिक्सको खोज, र त्यसको परीक्षण, ट्रायल आदि आदि सबैको एउटा तन्त्र नै बनिसकेको छ । अनि एण्टीबायोटिक्सको यो लडाईमा ब्याक्टेरिया नै अहिले धेरै अगाडि बढेको देखापरिरहेको स्थिति रहेको बिज्ञहरु बताउँछन् ।
यस क्रममा अहिले त यस्ता यस्ता ब्याक्टेरिया बिकसित भइसकेका या भइरहेका छन् तिनमाथि नयाँ पुराना कुनै पनि एण्टीबायोटिक्सको असर नै हुँदैन । यस्ता ब्याक्टेरियालाई ‘सुपर बग’ भन्ने गरिएको छ । जुन सुपर बगहरु आज बिस्तारै बिस्तारै सारा संसार भरी फैलिदै गएका छन् । बितेको निक्कै समयदेखि यी सुपर बगहरु यस्तो समस्या बने कि अहिलेसम्मको बिकसित चिकित्सा बिज्ञानसँग त्यसलाई चिर्ने या तोड्ने कुनै उपचार थिएन । तर बैज्ञानिकहरुले यसको पनि उपचारको खोजी गरेका छन् ।
बैज्ञानिकहरुले एउटा ‘पेप्टाइड पालिमर’ तयार गरेका छन् जसले कुनै पनि प्रकारका ब्याक्टेरियाहरुलाई सर्बनाश तुल्याउन सक्त छन् । अहिले बिकसित भएको ‘सुपर बग’लाई पनि । ताराको आकारको यो पालिमर मूलरुपमा एउटा प्रोटिन हो, जसका बारेमा के दाबी गरिन्छ भने यसले ब्याक्टेरियालाई त मार्छनै यसले मानिसको शरीरलाई भने कुनै किसिमको नोक्सानी पु¥याउँदैन । हुन त यो नोक्सानीको कुरालाई प्रायजसो बेग्लै किसिमले हेर्ने गरिन्छ । कुनै औषधीले के कति नोक्सानी गर्दछ त्यो परीक्षणको क्रममा स्पष्ट हुने गर्दछ जबकि कतिपय बेलामा यसको लगातार धेरै उपयोग गरेको लामो समय पछि मात्र थहा हुन आउँदछ । अनि नोक्सान पनि दुइ किसिमले हेर्ने गरिन्छ । सोझै नोक्सान हुने र साइड इफेक्टको रुपमा नोक्सान हुने ।
आमरुपमा एण्टीबायोटिक्सको प्रत्यक्ष नोक्सानबाट बच्ने प्रयत्न गरिन्छ र मूख्य के हेरिन्छ भने साइड इफेक्टलाई के कति हदसम्म बेवास्ता गर्न सकिन्छ । के दृष्टिकोण पनि राखिन्छ भने यदि यो नोक्सानी या असर औषधीले फाइदा गर्ने कुराको तुलनामा कम या मामोली छ भने त्यसलाई रहन दिइन्छ, अर्थात् सही मानिन्छ । एण्टीबायोटिक्सले के नोक्सानी गर्दछ भन्ने थाहा हुँदा हुँदै पनि अहिलेका लागि त्यसको कुनै बिकल्प बिकसित हुन सकेको छैन । त्यसैले पछिल्लो पटक बिकिसत पेप्टाइड पालिमर पनि त्यत्तिकै प्रभावी भएर जाने देखिन्छ । तर औषधी होस्, कि खेतपाती होस्, कल कारखाना होस् कि इन्धनको कुरा होस् यो प्रकृति मैत्री भएन भने त्यसको दुष्परिणाम भने ढिलो चाडो निस्कन्छ भन्ने कुरा अनुभवले पटक पटक सिद्ध गर्दै ल्याएको छ । आजको बातावरणको बिनाश, बन जंगलको बिनाश, मौसममा गडबडी पहिले कहिल्यै नसुनिएका कोरोना जस्ता रोग ब्याधीहरु अनि, बाढी पहिरो,सामुद्रिक आँधी बिकराल अबस्था आदिले यही कुरा औल्याउँदछन् । त्यसैले बिज्ञान र प्रबिधिको सुरक्षित र बतावरण मैत्री उपयोग र बिकासलाई बढी जोड दिनु आज सर्बोपरी बिश्व आवश्यकता बनेको छ । बास्तमा मानब समाज र प्रकृतिलाई तिनका अधिशासित नियम(गभर्निङ्ग लज अफ सोसाईटी एण्ड नेचर)लाई सही किसिमले परिपालना गरिएन र मानिएन भने मानब समाज र प्रकृति दुबै भित्र गडबडी पैदा हुने र असमान्य स्थिति पैदा हुने अहिलेसम्मको अध्ययन र अनुभवले प्रष्ट पारेको छ ।