नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट अधिक तरलता व्यवस्थापन गर्न प्रयोग हुँदै आएको ‘स्थायी निक्षेप सुविधा’ (एसडीएफ) लाई दैनिक रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ। यसअघि आइतबार, मंगलबार र बिहीबार मात्रै उपलब्ध हुने उक्त सुविधा अब राष्ट्र बैंक खुलेको प्रत्येक दिन प्रयोग गर्न सकिने जनाएको छ ।
राष्ट्र बैंकले आजदेखि लागू हुने गरी खुला बजार कारोबार सम्बन्धी कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा कायम गरेपछि केन्द्रीय बैंकले कार्यालय खुल्ने सबै दिन स्थायी निक्षेप सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । स्थायी निक्षेप सुविधा बैंक तथा वित्तीय संस्थासँग रहेको अधिक तरलता एक दिनका लागि राष्ट्र बैंकमा राख्ने व्यवस्था हो । यसअघि बैंकहरूले तीन दिन अवधिका लागि मात्रै यस्तो सुविधा प्रयोग गर्न पाउँथे । नयाँ व्यवस्थाअनुसार अब दैनिक रूपमा अधिक तरलता राष्ट्र बैंकमा राख्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बैंकिङ कारोबार समयभित्र स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउनेछन् । यसरी राखिएको रकमको साँवा तथा ब्याज भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा हुनेछ । राष्ट्र बैंकले स्थायी निक्षेप सुविधामा हाल २.७५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । यसको न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने सोभन्दा माथिको रकम ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
नेपालपत्र संवाददाता