बुधबार, भाद्र ३ गते २०८३

व्यर्थको घर,व्यर्थका साजबाज


जेठ १२, २०८३ मंगलबार
व्यर्थको घर,व्यर्थका साजबाज
(इन्द्रवज्रा)
-----------------------------
सत्ता थियो हात गयो बचेन
पैसा जमेको तर त्यो पचेन
फिर्ता गरेँ बाध्य भएर आज
बाटो नयाँ अक्कलले रचेन ।१।
 
आफू भएँ लज्जित पूर्ण नाङ्गो
झोलेहरूको मुख देख्छु बाङ्गो
बोल्ने हुती आज भएछ बन्द
गिज्याउँछन् यो छ भनी उटुङ्गो ।२।
 
फड्कारिएका पनि चाहिने भो
राखेर साथै गुण गाइने भो
उस्तै अहङ्कार र दम्भ पाली
यो देशमै बस्न नपाइने भो ।३।
 
पत्यारिलाले पनि साथ छोडे
मागेर छुट्टी अब हात जोडे
आवास बन्दैछ मसान घाट
आफ्नाहरूले पनि दृष्टि मोडे ।४।
 
के गर्नु के गर्नु हुँदैछ आज
सम्झन्छु सत्ता सुखभोग राज
उन्मादले होस गुमेछ सारा
छन् व्यर्थका यी घर साजबाज ।५।