इन्द्रनारायण सुबेदी
अनुष्टुप्
दु:खी गरिबको नाउँ बिक्रीबाट बने दल
रहेछन् तिनका नेता महाभ्रष्ट महाखल ।।
सिन्डिकेट बनाएर आलोपालो गरी गरी
सम्झिए हुन्छ यो सत्ता हाम्रो मात्र सधैँभरि ।।
भोगमा बनिए लिप्त छाडिए जनताहरू
लम्पसार बनी बेचे स्वाभिमान र आबरु ।।
चेतनाको बल्यो आगो जनताले दिए बल
एकसाथ भए साफ शक्तिशाली ठुला दल ।।
हत्या हिंसा बलात्कार अपमान सही सही
समर्थन दिएका हुन् अनुशासनमा रही ।।
दुष्कर्मको पराकाष्ठा खप्न गाह्रो भयो जब
जनताले लिए बाटो विकल्पतर्फको तब ।।
न बच्यो राष्ट्रको सान न कुनै दृष्टि दर्शन
रोकिएन कसै गर्दा राष्ट्रघात र दोहन ।।
छन् कन्टेनरमा आज थन्किएका तिनै दल
जे गरिन्छ त्यही मिल्छ त्यही हो कर्मको फल ।।
छैनन् यो राज्यमा कोही हामी बाहेक भन्छ जो
परनिर्भरताभित्र दैनन्दिन रहन्छ जो
छोटिन्न्छ उसको आयु किनारा लाग्छ ढल्दछ
अकर्मण्य किनारामा नपुग्दै पनि गल्दछ ।।
इन्द्र नारायण सुवेदी