शुक्रबार, कार्तिक ७ गते २०८३

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यक्रम


जेठ ८, २०८३ शुक्रबार
महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यक्रम

 

महालक्ष्मी विकास बैंक ले ३२औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, रक्तदान तथा सांस्कृतिक प्रवर्द्धनलगायत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले जेठ २ देखि ७ गतेसम्म वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको जनाएको छ । यसअन्तर्गत केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरता सहित प्रभातफेरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा र विप्रेषण सेवाबारे जानकारी दिइएको बैंकले जनाएको छ ।

त्यस्तै, निःशुल्क स्वास्थ्य, दन्त तथा आँखा शिविर सञ्चालन गरी करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । बैंकले देशभर रक्तदान कार्यक्रम सञ्चालन गरी २०० पिन्ट रगत संकलन गरेको जनाएको छ । वार्षिकोत्सवकै अवसरमा विभिन्न महालक्ष्मी मन्दिरमा सरसफाइ सामग्री हस्तान्तरण, बगैँचा मर्मत तथा डिजिटल दक्षिणा प्रवर्द्धनका कार्यक्रम पनि गरिएको बैंकले जनाएको छ ।

बैंकले स्थानीय संस्कृति झल्काउने पोशाकसहित कर्मचारी सहभागितामा सांस्कृतिक प्रस्तुति आयोजना गर्नुका साथै नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समितिलाई खानेपानीका लागि पानी ट्यांकी हस्तान्तरण गरेको जनाएको छ । यसैबीच, बैंकले हरेक वर्ष आयोजना गर्दै आएको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता” का तस्बिरसमेत प्रदर्शन गरेको छ । पाँचौँ संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट प्रतियोगिता पनि यही जेठ महिनामा आयोजना गरिने बैंकले जनाएको छ ।