शनिबार, आश्विन १७ गते २०८३

बाल–श्रमको सबैभन्दा प्रमुख कारण नै गरीबी

मंसिर १२, २०७८ आइतबार
बाल–श्रमको सबैभन्दा प्रमुख कारण नै गरीबी
सन्दर्भ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस
laliipur.jpg
लोकनारायण सुबेदी
हरेक बर्ष २० नोभेम्बरका दिन बाल दिवस मनाइने गरिन्छ । प्रत्येक बर्ष यो दिन बाल अधिकारको चर्चा गर्ने गरिन्छ । तर बिभिन्न जोखिमपूर्ण काममा लागेका, पढ्न लेख्न नपाएका र बिभिन्न किसिमले अपहेलित बन्न बाध्य पारिएका तथा शोषण उत्पीडनमा परेका बाल बालिकाका निम्ति हामीले के ग¥यौ प्रश्न जीवन्त छ । यतिबेला अरु कुरालाई छाडेर बाल श्रमको कुरा गर्ने हा भने बाल मजदुरीको इतिहास शायद त्यत्तिकै पुरानो हुनसक्दछ जत्तिको पुरानो स्वयम मानब समाजको इतिहास रहेको छ । समाजमा के देखिदै आएको पनि छ भने प्रायजसो आमा बाबुले नै आफ्ना बाल बच्चाहरुलाई आर्थिक उपयोगको लायक बस्तु सम्झिने र बुझने गर्दछन् । अनि त्यही आधारमा उनीहरुवाट काम लिने पनि गर्दछन् । हाम्रो जस्तो कृषि आधारित अर्थब्यबस्थाहरुमा पशुहरु चराउने, घास दाउरा ल्याउने, या मल, बिऊ बोक्ने, छर्ने पिउने पानी ओसार्ने आदि जस्ता कामका लागि बाल–बच्चाहरुको उपयोग सामान्यरुपमा हुने गर्दछ । यसका साथै गरीब देशहरुमा आज बिद्यालय जाने उमेरका लाखौलाख बालकहरु या त होटेलमा भाडा माज्दै गरेको देख्न पाइन्छ या सडक किनारामा ढुङ्गा कुट्रदै गरेको या शहरका पेटीहरुमा खातेको संज्ञा पाएका सडक बालकाको रुपमा अलपत्र परिरहेको । औद्योगिक कल कारखानाहरुमा पनि गरीब देशहरुमा बाल श्रमिकहरुबाट धेरै काम लिने गरिन्छ । अब त धनी देशहरुमा पनि यस्ता बाल बच्चाहरुको आर्थिक उपयोग गरिनु पर्ने माग निकै नै बढ्न थालेको छ र यस सम्बन्धी आवाज समेत उठ्न थालेको देखिदै आएको छ ।
बिकसित पहिलो बिश्वका कतिपय प्रबुद्ध नागरिकहरुको मान्यता के रहेको पाइन्छ भने ‘भूमण्डलीकरणका केही प्रमुख पापहरुमध्येमा एउटा ठूलो पाप वास्तवमा बाल मजदुरी नै हो । तिनीहरुको बिचार के छ भने जुन बाल हातले उनीहरुका लागि सस्तो कपडा, खेलौना र ह्याण्ड ब्याग आदि बनाउदछन् तिनले त बिद्यालयहरुमा र खेलकूदका मैदानहरुमा आफ्नो क्षमता र सीप देखाउन पाउनु पर्ने हो तर त्यसबाट उनीहरु बिमुख र बञ्चित छन् । केही भूमण्डलीकरण बिरोधी अमेरिकी नागरिकहरुको के भनाइ पनि रहेको पाइन्छ भने बाल मजदुरीका कारणले अमेरिकाले अब गरीब देशहरुसँग स्वतन्त्र ब्यापारको नीतिमा पुनर्बिचार गर्नु पर्ने भएको छ । उनीहरु के मान्दछन् भने तेश्रो बिश्वका देशहरुमा अन्यायपूर्ण तलब भत्ताहरुभन्दा पनि बढ्ता ध्यान बाल मजदुरीको समस्यामा दिइनु पर्ने आबश्यकता अझ बढेको छ । यसलाई उपेक्षा गरिनु वा वेवास्ता गरिनु हुदैन भन्ने कुरा उनीहरुले उठाउने गर्दै आएका छन् ।
हुन पनि आज बिश्वस्तरमा बाल मजदुरीको बिरुद्ध सबैभन्दा बढी आवाज घन्काउने शक्तिशाली संस्था संयुक्त राष्ट्र संघको अन्तर्रा्ष्ट्रिय श्रम संगठन नै देखापरेको छ । यो संगठनले अहिलेसम्म नैतिकताको आधारमा बाल श्रमको बिरोध गर्दै आएको देखिन्छ । तर अब संगठनको के तर्क छ भने बाल श्रमिकहरुबाट मजदुरी गराउनु आर्थिकरुपले पनि ठूलो घाटाको सौदा हुन्छ । संगठनको त्यस अबधारणाका अनुसार पाँचदेखि सत्र बर्ष उमेरका बिश्वका प्रत्येक छैटौ बालक आज बिश्वमा बाल मजदुरकोे रुपमा रहेको तथ्य छ । अफ्रिका तथा एशियाका गरीब देशहरुमा यो अनुपात अझ धेरै दयनीय छ । धनी देशहरुमा लगभग एक शताब्दी पहिला नै बाल मजदुरीलाई कानुनीरुपले प्रतिबन्धित गरिदिएको थियो । अब के ती देशहरुले पनि गरीब देशमा हुने बाल श्रम प्रतिबन्ध लगाउन आबाज उठाउनु पर्ने होइन — एकथरिको तर्क छ पर्दैन । कुनै पनि आमा बाबुले बच्चालाई तब मात्र मजदुरी गर्नका लागि लगाउने गर्दछन् जब उनीहरुसँग अरु कुनै उपाय हुदैन । बाल श्रमको जनक र संसारको सबैभन्दा डरलाग्दो बिमारी गरीबी नै हो । आजका धनी राष्ट्रहरुको अनुभवले पनि यही बताउदछ । १९औ शताब्दीमा जब आजका धनी देशहरुको आर्थिक अबस्था राम्रो थिएन त्यतिबेला भने बाल श्रम मजाले फलि फुलिरहेको थियो । हुन त मूख्य धाराका सबैजसो अर्थशास्त्रीहरु आज बाल श्रमको बिकल्पलाई गलत बिकल्पहरुमध्ये सबैभन्दा उपयुक्त पनि मान्ने गर्दछन् । तर अब केही अर्थशास्त्रीहरुले यस तर्कलाई नकार्न थालेका छन् । उनीहरुको के मान्यता छ भने गरीबी बाल मजदुरीको कारण होइन त्यसको परिणाम हो । यसलाई अनेक किसिमले हेर्न सकिन्छ । पहिलो, यदि एउटा बच्चालाई काममा लगाइयो भने ऊ पढाईसँगै कुनै काम बिशेषमा योग्यता हासिल गर्नबाट बञ्चित हुन्छ जुन योग्यताले उसलाई भबिष्यमा राम्रो नोकरी वा रोजगारी पाउने सम्भावना हुनसक्दथ्यो । दोश्रो, कामदारहरुसँग बिशेष योग्यता नहुनुका कारणले लगानीकर्ताहरुले त्यो देश बिशेष वा क्षेत्र बिशेषमा आफ्नो लगानी लगाउन चाहदैनन् । यसका अतिरिक्त, बच्चाहरुबाट काम लिन सकिने स्थितिमा बयस्कको बेतन वा पारिश्रमिक पनि घटाइने गरिन्छ ।
केही बर्ष पहिलाको संयुक्त राष्ट्र संघको एउटा प्रतिबेदनमा के भनिएको थियो भने बाल श्रमलाई समाप्त पार्ने हो भने अर्थात त्यसको मूल्य चुकाउने किसिमले नयाँ बिद्यालयहरुको स्थापना गर्नु पर्ने छ तथा बाल श्रमिकहरुका परिबारहरुको आम्दानीमा हुने घाटाको परिपूर्ति गरिनु पर्ने हुन्छ । त्यति बेला आउने बीस बर्षमा यस कार्यक्रमको लागि कुल बजेट मात्र १२ सय करोड डलर हुने अनुमान पनि गरिएको थियो । जुन अमेरिकाको सकल घरेलु उत्पादनको केबल सात प्रतिशत मात्र हो । अन्तर्रा्ष्ट्रिय श्रम संगठनको के मान्यता रहेको छ भने बाल श्रम समाप्त हुनाले हुने आर्थिक लाभ यसभन्दा सात गुणा बढी हुने छ । यदि यस प्रकृयालाई समाप्त पारियो या पार्न सकियो भने राम्रो स्वास्थ्यको कारण तथा दुर्घटना आदिमा कम ज्यान जाने हुनाले मानब पूँजी बढ्ने छ । संगठनको के भनाई पनि रहेको छ भने बाल बच्चाहरुको पढाई लेखाईबाट हरेकको आम्दानी बढ्ने छ । यस नयाँ तर्ककासाथ बाल श्रम–समस्याको बिरोध गर्नाले शायद राम्रो परिणाम प्रकट हुन सक्ला । जे भए पनि यस सन्दर्भमा गरीवी निवारण र सामाजिक सुरक्षाको सुनिश्चिततालाई प्राथमिकता दिन सक्ता मात्र बाल श्रम उन्मूलन गर्न सकिने ठोस आधार तयार हुने कुरालाई भने सम्वन्धित सबैले आत्मसात गर्नु आजको पहिलो अपरिहार्य आवश्यकता हो । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा यति कुरालाई मात्र बुझ्ने बुझाउने र तदनुपको आचरण गर्ने हो भने पनि तुलनात्मकरुपमा बाल बालिकाको हितमा निक्कै अघि बढ्न सकिने छ । वास्तवमा ध्यान यसैमा केन्द्रित हुनुपर्ने आजको समयको ज्वलन्त माग हो । तर न राज्य, न नीजी क्षेत्र कोही पनि जिम्मेवारीपूर्वक यस दिशामा अग्रसर हुने र बाल बालिकाको भाग्य र भबिष्यलाई खतरामा पार्ने कुराका बिरुद्ध दृढतापूर्वक उभ्भिने इच्छा शक्ति देखाउन सकिरहेको पाइदैन । यो भने बिडम्बनापूर्ण कुरा छ ।