शनिबार, कार्तिक ८ गते २०८३

सीईओ पाण्डेको पक्राउप्रति बैंकर्स संघहरुको आपत्ति, ‘कर्जा असुली प्रकृया अगाडि बढाउनु गलत होइन’


बैशाख ३१, २०८३ बिहीबार
सीईओ पाण्डेको पक्राउप्रति बैंकर्स  संघहरुको आपत्ति, ‘कर्जा असुली प्रकृया अगाडि बढाउनु गलत होइन’

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत  ज्योति प्रकाश पाण्डेको पक्राउप्रति गम्भीर आपत्ति जनाएका छन् ।

चारवटै छाता संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेलाई पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो । विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था प्रचलित कानून र को निर्देशनअनुसार सञ्चालन हुने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुलीका विषयमा बैंकलाई विशेष अधिकार दिएको जनाइएको छ । कर्जा असुली प्रक्रिया अघि बढाउनु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीभित्र पर्ने संगठनहरूको भनाइ छ । 

‘सर्वसाधारणको निक्षेपबाट सञ्चालित बैंकजस्ता संस्थाका सीईओलाई कर्जा असुलीकै विषयमा पक्राउ गर्दा बैंकको साखमा नकारात्मक असर पर्नुका साथै समग्र वित्तीय स्थायित्वमै असर पर्न सक्छ,’ विज्ञप्तिमा उल्लेख छ । संगठनहरूले अनुसन्धान प्रक्रियामा ‘पहिले सुन अनि थुन’ को सिद्धान्त अपनाउन आग्रह गर्दै पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राखेर अनुसन्धान गर्नुपर्ने उनीहरूको जोड छ ।