११ बुँदे घोषणा पत्र जारी गर्दै चौंथो ललितपुर साकोस समिट २०७८ सम्पन्न भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघंको आयोजना भएको सम्मेलन बचत तथा ऋण सहकारी अभियानलाई सुदृढ, दिगो एवम् मर्यादित बनाउने उद्देश्यसहित समापन भएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको समिटको समापन बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा सम्पन्न समिटले साकोस अभियानलाई मार्गनिर्देशित गर्ने गरी ११ बुँदे घोषणा पत्र जारी गरेको हो ।
घोषणा पत्रमा वित्तीय कारोबारको नियमित मासिकरुपमा पूर्ण विश्लेषण गर्दै ऋण जोखिम घाटाइने उल्लेख छ । घोषणापत्रमा वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शिता बनाइने उल्लेख छ । त्यसका लागि नियमित मासिक प्रतिवेदन पेश गर्दै अर्धवार्षिकरुपमा संस्थागत वित्तीय विवरण सार्वजनिक गर्ने घोषणापत्रमा उल्लेख छ । स्व–सहयोग, स्व–शासन र स्व–उत्तरदायित्वको मर्मलाई आत्मसात गर्दै संघ मार्फत विद्यमान कानुन र सहकारीका मूल्यमा आधारित अनुगमनको दायरामा रहि स्तरीकृत एवम् प्रमाणिकृत संस्था सञ्चालन गर्ने घोषणपत्रमा उल्लेख छ ।
समान कार्यक्षेत्र र दोहोरो सदस्यता रहेका संस्था एकीकरण गर्न अगुवाई एवम् सहजीकरण गर्ने उल्लेख छ । सहकारीको गुणात्मक विकासका लागि एकीकरण अभियान चलाइने भएको छ । साकोसको सुशासन व्यवस्थापनका लागि संख्यात्मक विकासलाई गुणात्मक विकासमा रुपान्तरण एकीकरण अभियान सञ्चालन हुने भएको छ । कोसको स्रोत अभियानको सञ्जाल मार्फत परिचालन गरी ‘एकका लागि सबै, सबैका लागि एकको सहकारी’ को मर्मलाई व्यवहारिक कार्यान्वयन गर्न ललिपुरका सहकारी एकमत भएका छन् ।
वित्तीय सहकारीको प्रबद्र्धन, विकास, अनुगमन तथा नियमन प्रणालीलाई प्रभावकारी एवम् चुस्त बनाउन तथा समिटका प्रतिवद्धता कार्यान्वयन गर्न उल्लेख छ । बचत तथा ऋण सहकारी संस्थालाई अन्तर्राष्ट्रिय विशिष्टता र राष्ट्रिय कानुनको सापेक्षित प्रयोगको आधारमा सञ्चालन एवम् आफ्ना सदस्यहरुलाई सुसूचित गर्दै ललितपुर जिल्लाको साकोस अभियानको स्वनियमनमार्फत सुशासन प्रबद्र्धनका लागि स्थानीय तहसँग समन्वय गरी साझा अभियान सञ्चालन गर्ने जनाइएको छ ।
ललितपुर जिल्लामा सञ्चालित साकोसमा विनियम, आन्तरिक कार्यविधि र प्रविधिमा एकरुपताको लागि संघ मार्फत सञ्चालन गर्ने अभियानलाई संस्थामा कार्यान्वयन गर्ने घोषणापत्रमा समेटिएको छ । आवधिक रणनीतिक व्यावसायिक योजना तर्जुमा गरी नविनतम प्रविधि आन्तरिकीकरण, युवा पुस्ता आकर्षण गर्दै नेतृत्व विकास एवम् हस्तान्तरण प्रभावकारी बनाइने उल्लेख छ ।
ललितपुर जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाको एकीकृत सूचना प्रणालीको विकास गर्ने बताइएको छ । ‘साकोसमा शुद्धता, बचत संघको प्रतिबद्धता’ लाई आत्मसात गर्दै चौथो साकोस समिट गोदावरीमा सम्पन्न भएको थियो ।
२०६९ देखि साकोस समिट हुँदै आएको छ । समिटमा साकोस अभियानका नेतृत्वकर्ता, व्यवस्थापनका कर्मचारी र स्थानीय तहका प्रतिनिधिले जिल्लाको वित्तीय सहकारी अभियानलाई सुदृढ, दिगो एवम् मर्यादित बनाउन प्रतिबद्धता सहित यो साझा घोषणापत्र जारी गरिएको छ ।

