नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ४० अर्ब रूपियाँ निक्षेप तान्ने भएको छ । आज दिउसो ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले ४९ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेको जनाएको छ ।
यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । बैंकहरुले ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ ।
बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपियाँ र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
नेपालपत्र संवाददाता