नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्यअनुसार सार्वजनिक सवारीको भाडा स्वतः समायोजन हुने “वैज्ञानिक प्रणाली” तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्। पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दा पनि भाडा नबढाइँदा व्यवसायी मारमा परेको उनले बताए।
उनका अनुसार डिजेलमा दुई पटक गरी ५५ रुपैयाँसम्म वृद्धि भइसकेको छ भने पेट्रोलको मूल्य पनि उकालो लागिरहेको छ। यस्तो अवस्थामा बागमती प्रदेश बाहेक अन्यत्र भाडा समायोजन नहुँदा देशभरका यात्रुवाहक र मालवाहक सेवा प्रभावित भएका छन्। वार्षिक रूपमा हुने भनिएको भाडा पुनरावलोकन अहिले प्रभावहीन भएको उनको दाबी छ।
सिटौलाले हवाई सेवा र नेपाल आयल निगममा जस्तै स्वचालित मूल्य/भाडा समायोजन प्रणाली सडक यातायातमा पनि लागू गर्नुपर्ने बताए। यस्तो प्रणाली लागू भए इन्धन सस्तो हुँदा भाडा पनि घट्ने भएकाले उपभोक्तालाई समेत लाभ पुग्ने उनको तर्क छ।
उनले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले इन्धन खपत घट्नुको सट्टा बढेको दाबी गर्दै यसको पुनरावलोकन र निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गर्न सुझाव दिएका छन्। भाडा समायोजन नभए व्यवसायीले कडा कदम चाल्न सक्ने चेतावनी दिँदै उनले सार्वजनिक यातायातलाई क्यासलेस र जीपीएसमा आधारित प्रविधिमैत्री बनाउनुपर्ने पनि बताए।
स्वचालित भाडा प्रणाली लागू भए इन्धनको मूल्य बढ्दा भाडा स्वतः बढ्ने र घट्दा घट्नेछ, जसले व्यवसायीको लागत व्यवस्थापन सहज बनाउनेछ भने यात्रुले पनि पारदर्शी र समयानुकूल भाडा तिर्ने व्यवस्था बस्ने अपेक्षा गरिएको छ।
नेपालपत्र संवाददाता