यस आर्थिक वर्षको नौ महिनामा नेपालमा पौने ४२ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालमा ६१५ उद्योगका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत ४२६ उद्योगमा ४ अर्ब ९ करोड रुपैयाँ र अप्रुभल रुटमार्फत १८९ उद्योगमा ३७ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। यी उद्योग सञ्चालनमा आएपछि २२ हजार ३१६ जनाले रोजगारी पाउने अनुमान गरिएको छ। नौ महिनाको अवधिमा ४२ उद्योगका लागि शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) तथा शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत १० अर्ब ९४ करोड रुपैयाँ प्रतिबद्धता आएको छ भने ३८ उद्योगका लागि प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) स्वीकृत गरिएको विभागले जनाएको छ।
नौ महिनामा ८ ठूला, ८ मध्यम र ५९९ साना उद्योगमा एफडीआई प्रतिबद्धता आएको छ । चैतमा महिनामा मात्रै ६१ उद्योगमा १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । चैतमा अटोमेटिक रुटमार्फत ४९ उद्योगमा ६६ करोड ८ लाख रुपैयाँ र अप्रुभल रुटमार्फत १२ उद्योगमा ४६ करोड ८४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो।
संख्याका हिसाबले सूचना प्रविधिमूलक क्षेत्रका ३४६ उद्योग अग्रस्थानमा छन् भने रकमका आधारमा कृषिमूलक क्षेत्रमा २२ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। विभागका अनुसार पर्यटन क्षेत्रमा १६४ उद्योगमा ११ अर्ब ४६ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा ३८ उद्योगमा २ अर्ब ५४ करोड र सेवामूलक क्षेत्रमा ४७ उद्योगमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
नेपालपत्र संवाददाता