शनिबार, आश्विन १७ गते २०८३

नेपाल पत्रकार महासंघले दलका कार्यकर्तालाई भन्यो: महासंघ छाड

मंसिर ५, २०७८ आइतबार
नेपाल पत्रकार महासंघले दलका कार्यकर्तालाई भन्यो: महासंघ छाड

 

नेपाल पत्रकार महासंघले कुनैपनि राजनीतिक दलमा आवद्ध आफ्ना पदाधिकारीलाई राजिनामा दिन भनेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको हो ।

पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।

‘‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

महासंघमा विभिन्न तहमा रहेका पदाधिकारी अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशनमा कार्यसमितिमा चुनिएका छन् भने महाधिवेशन प्रतिनिधि बनेका छन् । यसरी दलीय राजनीतिमा सहभागी भएकाहरुलाई महासंघ छाड्न आग्रह गरिएको महासंघका एक पदाधिकारीले बताए ।

कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने भन्दै महासंघले महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा पनि कुनै दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्ध रहेको बताएको छ ।

महासंघका केन्द्र, प्रदेश र शाखा समितिका पदाधिकारी विभिन्न दलको कार्यसमितिमा निर्वाचित हुँदा र प्रतिनिधि बन्दा उनीहरुको स्वतन्त्रताको विषयमा सार्वजनिक प्रश्न उठेका बेला महासंघले उनीहरुलाई नैतिकता देखाउन भनेको हो ।

गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५ मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ’ व्यवस्था रहेको पनि महासंघले बताएको छ ।

FNJ Press Release.jpg