बुधबार, भाद्र ३ गते २०८३
बिन्धवासिनी साकाेसकाे ३३औं वार्षिकोत्सव

बैंक जस्ताे हाेइन सहकारी, सदस्यकाे सुःख दुःखमा सारथी बन्नुपर्छ


फाल्गुण ६, २०८२ बुधबार
बैंक जस्ताे हाेइन सहकारी, सदस्यकाे सुःख दुःखमा सारथी बन्नुपर्छ


बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थालाई विस्तार गरी ठूलो बनाउने उदेश्यका साथ २०५० सालमा सुरु गरिएको हो र त्यही दिशामा संस्था अगाडि बढिराखेको पनि छ । संस्थामा ५९ हजार भन्दी बढी सदस्य आवद्ध भएका छन् भने १७ वटा सेवाकेन्द्रबाट सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवा दिँदै आएको छ । संस्थाले सुरुदेखि नै सहकारी मुल्य, मान्यता र सिद्धान्तमा सञ्चालित भएर सदस्य र समुदायलाई राम्रो सेवा दिइराखेको छ । ३३ बर्षसम्म आइपुग्दा संस्था सफलतर्फ नै अग्रसर छ । 

बिन्धवासिनी सहकारीले गरेको हेरेक क्रियाकलापलाई मैले हेरिराखेको छु । यस आर्थिक बर्षको पुससम्मको कार्यप्रगति मगाएर हेरेँ । संस्थाले गरेको कामप्रति म सन्तुष्ट नै छु । संस्थाले लघुवितको माध्यमबाट महिला सहभागितालाई बढाएर लगेको थियो । जसकारण संस्थामा पुरुष भन्दा महिलाको सहभागिता बढि थियो । लघुवितको क्षेत्रमा राम्रो काम गरेको भन्दै अकुले समेत संस्थालाई सम्मान गरेको थियो । तर एउटाले केही नयाँ काम गर्यो भन्ने अर्काले पनि त्यही कामको नक्कल गर्ने चलन छ । डुब्लिकेशनका भरमा एउटा संस्थाले राम्रो गरेको छ भन्दै अर्को संस्थाले पनि राम्रो गर्छ भन्ने हुँदैन ।

सहकारी भनेको सदस्यको हितमा काम गर्ने र उनीहरुलाई सेवा दिने संस्था हो । बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रीत हुँदा कतिपय संस्थामा बचत अपचलनका घटना भए ।  बचत ऋणको काम त बैंक तथा वित्तीय संस्थाले नै गरिहाल्छन् । सहकारीले त सदस्यहरुलाई हरेक क्षेत्रमा सेवा दिनुपर्छ । राजनीतिक आडमा ठुुलाबडा भनिएकाहरुले तल्लो वर्गले साग, आलु, दुध र चिया बेचेर जम्मा गरेको बचत अपचलन गरे । यो आपराधिक कार्य हो । राज्यले समेत सहकारीमा डुबेको बचत फिर्ता गराउन सकेको छैन । सहकारीको बचत अपचलन गर्ने व्यक्तिहरु अधिकांश पहुँचवाला नै छन् । उनीहरुको सम्पत्तिबाट असुलउपर गरी सदस्यहरुको बचत फिर्ता गर्नुपर्ने हो, त्यो काममा ढिलाई भइराखेको छ । यसले गर्दा सहकारीप्रति जनमानसमा नकारात्मक धारणा विकास भएर गएको छ । सहकारीप्रति नै वितृष्णा पैदा हुन पुगेको छ ।

हामीले बिन्धवासिनी सुरु गर्दा सदस्य र समुहमा आधारित संस्थाको रुपमा गरेका थियौं, त्यसैले सफल पनि भयौं । विशाल बिन्धवासिनीको परिकल्पना गरेकाले त्यो पुरा हुँदै गएको छ । संस्थामा १० तहसम्मका कर्मचारी कार्यरत छन् । सहकारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी दिएको छ । संस्था सफल छ तर समयसापेक्ष केही सुधार गरेर जान मेरो आग्रह छ ।

समाजको लागि सहकारी धेरै राम्रो हो । मैले २०२८ सालेदेखि सहकारीमा काम गरेको हुँ । कृषि विकास बैंकमा जागिर खाँदा थुप्रै जिल्लाहरुमा पुगेर संस्थाहरुको निरीक्षण गरे । निरीक्षक पदमा नियुक्ति लिएर धेरै वटा संस्थाहरुको निरीक्षणका साथै ती संस्थाहरुलाई वित्तीय अनुसशासनमा सञ्चालन हुनको लागि प्रशिक्षण दिएँ । सर्वसाधारण जनताको लागि सहकारी अति नै उत्तम माध्यम हो । बैंकहरुले पुँजीपतिलाई मात्र सेवा दिन्छ, तल्लो वर्गलाई सेवा दिन सक्दैन । तर सहकारीले तल्लोस्तरका जनतालाई समेत सेवा पु¥याँउछ । तर अहिले सहकारी भनेपछि सबै क्षेत्रबाट अपहेलित बन्दै गएको छ । सबै पक्ष मिलेर सहकारीप्रति सकारात्मक भावना जगाउन लाग्नुपर्ने देखिन्छ । सहकारीलाई बिग्रनुदिनु भएन । 

मुलुकमा भएका १३ हजार बचत ऋण सहकारी मध्ये आधा पनि प्राधिकरणमा दर्ता हुन गएका छैनन् भन्ने मैले सुने । ती संस्थाको के हुन्छ भन्न सक्ने अवस्था छैन । तर बिन्धवासिनी प्राधिकरणमा दर्ता अभिलेखीकरण र कर्जा सूचना केन्द्रमा समेत सदस्य बनिसकेको सुने । यो राम्रो पक्ष हो । संस्थाले ४ जिल्ला कार्यक्षेत्र लिएर सदस्यहरुलाई सेवा दिइराखेको छ । संस्थाको प्रगतिप्रति म खुशी छु । 

संस्थामा सयौं कर्मचारी छन्, उनीहरु पनि लगनशील भएर सदस्य र संस्थाको हितको लागि काम गर्नुपर्छ । बैंक चलाए जस्तो गरी सहकारी सञ्चालन गरेर हुँदैन । सहकारी सदस्यको घर घरमा गएर उनीहरुको समस्या के छ भनेर बुझी उनीहरुको भलाइको लागि काम गर्नुपर्छ । बचत लिने ऋण लगानी गर्ने र ब्याज आर्जन गर्ने मात्र काम सहकारीको होइन । जसले गर्दा धेरै सहकारीहरु अहिले असफल भइराखेका छन् । आर्थिक मन्दीका कारणले सहकारीले ऋण लगानी बढाउन सकेका छैनन् भने लगानीमा रहेको ऋण पनि राम्रोसँग असुली हुन सकेको छैन ।

सहकारीमा धितो लिलाम गरेर असुली गर्ने कुरा साह्रै खराब प्रवृत्ति हो। सदस्यको भलाई अर्थात गाँस, बास र कपासमा सहकारीले टेवा पु¥याउनु पर्नेमा धितो लिलाम गर्नु राम्रो होइन । लिलाम गरेर बास नै उठाउने कुराप्रति मेरो विमति छ । अब संस्था राम्रोसँग सञ्चालन गर्ने हो भने अनुसन्धानलाई जोड दिनुपर्छ । सदस्यहरुले ऋण लिएर नतिर्ने प्रवृति किन बढेर गयो, त्यसको अनुसन्धान गर्नुपर्यो । किन ऋण लगानी भएन, ती विषयमा अनुसन्धानात्मक तवरले अगाडि बढ्नुपर्ने हुन्छ । यसो भयो भने संस्था सफल हुन्छ । 

अहिले देशकै अवस्था ठिक छैन, आर्थिक गतिविधि मन्द भएको अवस्थामा सहकारीको एकल प्रयासले मात्र के राम्रो हुन सक्छ र ? के गर्दा सदस्यको भलाई हुन्छ, त्यसमा संस्थाले अनुसन्धान गर्नुपर्यो । सहकारी भन्ने वितिकै आर्थिक अनुशासनमा नबस्ने संस्था भन्ने बुझाई समाजमा फैलिएको छ, त्यसलाई कसरी चिर्ने र समाजमा सहकारीलाई स्थापित गर्ने भन्नेतर्फ सोच्ने बेला आएको छ । त्यसका साथै कसरी विश्वसनीय संस्था बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान दिने बेला यही हो।