बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थालाई विस्तार गरी ठूलो बनाउने उदेश्यका साथ २०५० सालमा सुरु गरिएको हो र त्यही दिशामा संस्था अगाडि बढिराखेको पनि छ । संस्थामा ५९ हजार भन्दी बढी सदस्य आवद्ध भएका छन् भने १७ वटा सेवाकेन्द्रबाट सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवा दिँदै आएको छ । संस्थाले सुरुदेखि नै सहकारी मुल्य, मान्यता र सिद्धान्तमा सञ्चालित भएर सदस्य र समुदायलाई राम्रो सेवा दिइराखेको छ । ३३ बर्षसम्म आइपुग्दा संस्था सफलतर्फ नै अग्रसर छ ।
बिन्धवासिनी सहकारीले गरेको हेरेक क्रियाकलापलाई मैले हेरिराखेको छु । यस आर्थिक बर्षको पुससम्मको कार्यप्रगति मगाएर हेरेँ । संस्थाले गरेको कामप्रति म सन्तुष्ट नै छु । संस्थाले लघुवितको माध्यमबाट महिला सहभागितालाई बढाएर लगेको थियो । जसकारण संस्थामा पुरुष भन्दा महिलाको सहभागिता बढि थियो । लघुवितको क्षेत्रमा राम्रो काम गरेको भन्दै अकुले समेत संस्थालाई सम्मान गरेको थियो । तर एउटाले केही नयाँ काम गर्यो भन्ने अर्काले पनि त्यही कामको नक्कल गर्ने चलन छ । डुब्लिकेशनका भरमा एउटा संस्थाले राम्रो गरेको छ भन्दै अर्को संस्थाले पनि राम्रो गर्छ भन्ने हुँदैन ।
सहकारी भनेको सदस्यको हितमा काम गर्ने र उनीहरुलाई सेवा दिने संस्था हो । बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रीत हुँदा कतिपय संस्थामा बचत अपचलनका घटना भए । बचत ऋणको काम त बैंक तथा वित्तीय संस्थाले नै गरिहाल्छन् । सहकारीले त सदस्यहरुलाई हरेक क्षेत्रमा सेवा दिनुपर्छ । राजनीतिक आडमा ठुुलाबडा भनिएकाहरुले तल्लो वर्गले साग, आलु, दुध र चिया बेचेर जम्मा गरेको बचत अपचलन गरे । यो आपराधिक कार्य हो । राज्यले समेत सहकारीमा डुबेको बचत फिर्ता गराउन सकेको छैन । सहकारीको बचत अपचलन गर्ने व्यक्तिहरु अधिकांश पहुँचवाला नै छन् । उनीहरुको सम्पत्तिबाट असुलउपर गरी सदस्यहरुको बचत फिर्ता गर्नुपर्ने हो, त्यो काममा ढिलाई भइराखेको छ । यसले गर्दा सहकारीप्रति जनमानसमा नकारात्मक धारणा विकास भएर गएको छ । सहकारीप्रति नै वितृष्णा पैदा हुन पुगेको छ ।
हामीले बिन्धवासिनी सुरु गर्दा सदस्य र समुहमा आधारित संस्थाको रुपमा गरेका थियौं, त्यसैले सफल पनि भयौं । विशाल बिन्धवासिनीको परिकल्पना गरेकाले त्यो पुरा हुँदै गएको छ । संस्थामा १० तहसम्मका कर्मचारी कार्यरत छन् । सहकारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी दिएको छ । संस्था सफल छ तर समयसापेक्ष केही सुधार गरेर जान मेरो आग्रह छ ।
समाजको लागि सहकारी धेरै राम्रो हो । मैले २०२८ सालेदेखि सहकारीमा काम गरेको हुँ । कृषि विकास बैंकमा जागिर खाँदा थुप्रै जिल्लाहरुमा पुगेर संस्थाहरुको निरीक्षण गरे । निरीक्षक पदमा नियुक्ति लिएर धेरै वटा संस्थाहरुको निरीक्षणका साथै ती संस्थाहरुलाई वित्तीय अनुसशासनमा सञ्चालन हुनको लागि प्रशिक्षण दिएँ । सर्वसाधारण जनताको लागि सहकारी अति नै उत्तम माध्यम हो । बैंकहरुले पुँजीपतिलाई मात्र सेवा दिन्छ, तल्लो वर्गलाई सेवा दिन सक्दैन । तर सहकारीले तल्लोस्तरका जनतालाई समेत सेवा पु¥याँउछ । तर अहिले सहकारी भनेपछि सबै क्षेत्रबाट अपहेलित बन्दै गएको छ । सबै पक्ष मिलेर सहकारीप्रति सकारात्मक भावना जगाउन लाग्नुपर्ने देखिन्छ । सहकारीलाई बिग्रनुदिनु भएन ।
मुलुकमा भएका १३ हजार बचत ऋण सहकारी मध्ये आधा पनि प्राधिकरणमा दर्ता हुन गएका छैनन् भन्ने मैले सुने । ती संस्थाको के हुन्छ भन्न सक्ने अवस्था छैन । तर बिन्धवासिनी प्राधिकरणमा दर्ता अभिलेखीकरण र कर्जा सूचना केन्द्रमा समेत सदस्य बनिसकेको सुने । यो राम्रो पक्ष हो । संस्थाले ४ जिल्ला कार्यक्षेत्र लिएर सदस्यहरुलाई सेवा दिइराखेको छ । संस्थाको प्रगतिप्रति म खुशी छु ।
संस्थामा सयौं कर्मचारी छन्, उनीहरु पनि लगनशील भएर सदस्य र संस्थाको हितको लागि काम गर्नुपर्छ । बैंक चलाए जस्तो गरी सहकारी सञ्चालन गरेर हुँदैन । सहकारी सदस्यको घर घरमा गएर उनीहरुको समस्या के छ भनेर बुझी उनीहरुको भलाइको लागि काम गर्नुपर्छ । बचत लिने ऋण लगानी गर्ने र ब्याज आर्जन गर्ने मात्र काम सहकारीको होइन । जसले गर्दा धेरै सहकारीहरु अहिले असफल भइराखेका छन् । आर्थिक मन्दीका कारणले सहकारीले ऋण लगानी बढाउन सकेका छैनन् भने लगानीमा रहेको ऋण पनि राम्रोसँग असुली हुन सकेको छैन ।
सहकारीमा धितो लिलाम गरेर असुली गर्ने कुरा साह्रै खराब प्रवृत्ति हो। सदस्यको भलाई अर्थात गाँस, बास र कपासमा सहकारीले टेवा पु¥याउनु पर्नेमा धितो लिलाम गर्नु राम्रो होइन । लिलाम गरेर बास नै उठाउने कुराप्रति मेरो विमति छ । अब संस्था राम्रोसँग सञ्चालन गर्ने हो भने अनुसन्धानलाई जोड दिनुपर्छ । सदस्यहरुले ऋण लिएर नतिर्ने प्रवृति किन बढेर गयो, त्यसको अनुसन्धान गर्नुपर्यो । किन ऋण लगानी भएन, ती विषयमा अनुसन्धानात्मक तवरले अगाडि बढ्नुपर्ने हुन्छ । यसो भयो भने संस्था सफल हुन्छ ।
अहिले देशकै अवस्था ठिक छैन, आर्थिक गतिविधि मन्द भएको अवस्थामा सहकारीको एकल प्रयासले मात्र के राम्रो हुन सक्छ र ? के गर्दा सदस्यको भलाई हुन्छ, त्यसमा संस्थाले अनुसन्धान गर्नुपर्यो । सहकारी भन्ने वितिकै आर्थिक अनुशासनमा नबस्ने संस्था भन्ने बुझाई समाजमा फैलिएको छ, त्यसलाई कसरी चिर्ने र समाजमा सहकारीलाई स्थापित गर्ने भन्नेतर्फ सोच्ने बेला आएको छ । त्यसका साथै कसरी विश्वसनीय संस्था बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान दिने बेला यही हो।
नेपालपत्र संवाददाता