कुनै पनि वस्तु, व्यक्ति, विचार वा घटनाको जन्म, विकास र मरण वा विनास तीभित्र अन्तर्निहित जीवनशील र मरणशील, सकारात्मक र नकारात्मक, अग्रगामी र पश्चगामीजस्ता विभिन्न दुई विपरीत पक्ष/तत्वहरुबीच चल्ने अन्तरसंघर्ष वा द्वन्द्वमा भर पर्दछ । यही नियम वामपन्थी क्रान्तिकारी र माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका सन्दर्भमा पनि सत्य हो । कुनै कम्युनिष्ट पार्टी भित्र मूलतः दुईथरी शक्ति, प्रवृत्ति, पक्ष वा तत्व रहेका हुन्छन् । ती हुन् क्रान्तिकारी र अवसरवादी, वामपन्थी र दक्षिणपन्थी वा सच्चा मार्क्सवादी र नक्कली/संशोधनवादी/सुधारवादीजस् ता गैरमार्क्सवादी आदि । यस्ता दुई विपरीत व्यक्ति, शक्ति र प्रवृत्ति, पक्ष वा तत्वहरुबीच चल्ने स्वस्थ वा अस्वस्थ, रचनात्मक वा विध्वंसात्मक र मैत्रीपूर्ण वा दुश्मनीपूर्ण अर्थात् सही वा गलत अन्तर्संघर्ष वा द्वन्द्वले गर्दा नै पार्टीको विकास वा विनास, प्रगति वा दुर्गति सबल वा दुर्बल हुने हुन्छ । त्यो अन्तरसंघर्षमा आन्तरिक र बाह्य दुई प्रकारका कारणले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । ती दुइथरी कारणमध्ये पनि मुख्य भूमिका आन्तरिक कारणको नै हुन्छ भने बाह्य कारणको भूमिका महत्वपूर्ण त हुनसक्छ तर त्यसको भूमिका सहायक नै हुन्छ, मुख्य र निर्णायक हुन सक्तैन र हुँदैन पनि । यो मार्क्सवाद-लेनिनवाद-माओवाद वा विचारधारा मान्ने कम्युनिष्ट क्रान्तिकारीहरुको द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता नै हो ।
कुनै क्रान्तिकारी पार्टीभित्र स्वाभाविक रुपले क्रान्तिकारीहरु बहुसंख्यक, सुदृढ र निर्णायक अवस्था र शक्तिमा भए पनि त्यहाँ सानो, कमजोर र अदृश्य शक्तिको रुपमा गैरक्रान्तिकारीहरु रहेकै हुन्छन् वा भनौं क्रान्तिकारीहरुभित्रै पनि व्यक्ताव्यक्त, दृश्यादृश्य र जानअन्जान रुपमा उग्रवामपन्थी, मध्यपन्थी वा दक्षिणपन्थीजस्ता गैरक्रान्तिकारी प्रवृत्ति विद्यमान हुन्छन् । यी क्रान्तिकारी र गैरक्रान्तिकारी शक्ति र प्रवृत्तिहरुबिच निरन्तर संघर्ष चल्दछ । यो संघर्ष विचार-राजनीती केन्द्रित, देस र जनताको मुक्ति-स्वतन्त्रता लक्षित, रचनात्मक, सत्यान्वेषी, तथ्यसंगत र इमान्दारीपूर्ण भयो भने त्यस्तो संघर्ष/अन्तःसंघर्षले पार्टीलाई गतिशील, विकसित, सुदृढ, सबल र सक्षम बनाउँछ । त्यसैले त अन्तसंघर्ष वा पार्टीभित्र चल्ने दुई लाइनसंघर्षलाई चालक शक्ति, जीवनशक्ती वा प्राणशक्ति भनी मानिएको हो । यो संघर्षमा क्रान्तिकारी पक्षका तर्फबाट हुने सबल वा दुर्बल, सही वा गलत, क्रान्तिकारी वा गैरक्रान्तिकारी, वस्तुवादी वा अवस्तुवादी, उदार वा अनुदार विचार र व्यवहार नै पार्टीलाई सफल वा असफल, सबल वा दुर्बल, विजयी वा पराजयी र क्रान्तिकारी वा प्रतिक्रान्तिकारी बनाउनमा निर्णायक भूमिका खेल्दछन् । यसरी स्पष्ट छ कि नेपालका क्रान्तिकारी भनिएका जनयुद्धकारी माओवादी लगायतका सबै कम्युनिस्ट पार्टी र आन्दोलनको उत्थान र पतन, सफलता र असफलता, विकास र विनास अर्थात् क्रान्ति र प्रतिक्रान्तिका मुख्य कारक पनि पार्टी भित्रका क्रान्तिकारीपक्ष र तीभित्र अन्तर्निहित वैचारिक, राजनीतिक, सांगठनिक, आर्थिक, सामाजिक, साँस्कृतिक र व्यावहरिक संस्थागत वा व्यक्तिगत जस्ता कतिपय कमीकमजोरीजन्य कारण नै हुन्छन् । भन्न खोजिएको यो हो कि एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको गठन वा विघटन, गतिशीलता वा गतिहीनता, विस्तार वा संकुचन अथवा विजय वा पराजय हुनुमा मुख्य जिम्मेवार पार्टीभित्रका क्रान्तिकारी पक्ष नै हुन्छन् भने अवसरवादी त तुलनात्मक रुपले सहायक हुन्छन् वा कम जिम्मेवार मानिन्छन् । यसरी नै पार्टीबाहिरका देसी-विदेसी संसदवादी वा प्रतिक्रियावादीहरु आदि कुनै पनि शक्ति, व्यक्ती वा प्रवृत्ति र तिनका आक्रामक कामकार्वाही र भूमिकाहरु एउटा कम्युनिस्ट क्रान्तिकारी पार्टीलाई बिगार्नमा निर्णायक कारण हुन सक्तैनन्, यद्यपि तिनको भूमिका महत्वपूर्ण हुन सक्छ तर प्रधान र निर्णायक हुन सक्तैन ।
कुनै कम्युनिष्ट क्रान्तिकारी पार्टीभित्र दुई पक्ष हुन्छन् । सही पक्ष र गलत पक्ष वा क्रान्तिकारी पक्ष र अवसरवादी पक्ष । यो हुनु भनेको एक दुईमा विभाजन हुन्छ भन्ने दृष्टिकोण हो अर्थात् क्रान्तिकारीका वा जो कसैका पनि सकारात्मक र नकारात्मक अर्थात् गुण र दोष हुन्छन् भनी मान्ने द्वन्द्ववादी दृष्टिकोण हो । एउटा कम्युनिस्ट क्रान्तिकारी पार्टीभित्र मुख्यतः दुई धार वा प्रवृत्ति हुन्छन् । हुन त बीचमा अर्को मध्यपन्थी धार वा प्रवृत्ति पनि हुन्छ तर क्रान्तिकारी र अवसरवादी धार, शक्ति, व्यक्ती वा प्रवृत्तिको बिचको लडाइमा त्यो मध्यपन्थी धार, शक्ति, व्यक्ति वा प्रवृत्ति सुरुमा ढुलमुल गर्छ तर निर्णायक लडाइको बेलामा त्यो मध्यपन्थी प्रवृत्तिको मूल नेतृत्व र शक्ति अन्ततः दक्षिणपन्थी/ अवसरवादी/सुधारवादी/संशोधनवादी/ प्रतिक्रान्तिकारी धारलाई नै सघाउन पुग्छ । त्यसैले त्यसको त्यति गणना वा मान्यता हुन्न । यसरी नै पार्टीभित्र अन्य कतिपय चिन्तन-प्रवृत्तिहरु देखिइए पनि सारमा ती सबै यिनै क्रान्तिकारी र गैरक्रान्तिकारी दुई लाइनअन्तर्गत नै पर्दछन् । त्यसैले त कम्युनिष्ट क्रान्तिकारी भनिएका पार्टीहरुभित्रको संघर्षलाई गणना गर्दा मध्यमार्गी धारालाई आधा मात्र मानेर कतिपय मार्क्सवादी द्वन्द्ववादीहरुले दुई लाइनको संघर्षलाई अढाइ लाइनको संघर्ष पनि बताउने गरेको पाइन्छ । जे होस्, क्रान्तिकारी कम्युनिस्ट पार्टी र आन्दोलनको प्रगति वा दुर्गती, विजय वा पराजय अथवा क्रान्ति वा प्रतिक्रान्ति हुनुमा मुख्यत: क्रान्तिकारी पार्टी भित्रका पनि दुई पक्ष क्रान्तिकारी र अवसरवादीमध्ये क्रान्तिकारीहरुकै आन्तरिक विचार, राजनीति, सोंच, संगठन, संघर्ष, शैली, संस्कृति र काम-व्यवहार नै क्रान्ति वा प्रतिक्रान्तिका लागि निर्णायक कारण हुन्छन् । पार्टीभित्रका पनि अवसरवादी र क्रान्तिकारीमध्ये क्रान्तिकारीकै र बाह्य र आन्तरिक कारणहरुमध्ये आन्तरिक कारणकै प्रमुख भूमिका हुन्छ भने अन्य अवसरवादीहरु वा बाह्य पक्षको भूमिका त गौण नै हुन्छन्, यद्यपि ती कारणहरु महत्वपूर्ण हुन् तापनि ती सहायक नै हुन्छन् । यो कुरा विभिन्न कम्युनिस्ट पार्टी र आन्दोलनहरुमा बारम्बार प्रमाणित भएको सत्य हो ।
क्रान्तिकारीपक्ष र अझ त्यसमा पनि त्यसको मूल नेतृत्व सिद्धान्तनिष्ठ, व्यवहारकौशल, एकताप्रेमी, सबल र सक्षम हुने अनि देस, जनता र क्रान्तिप्रति साँच्चिकै इमानदार, जिम्मेवार, गम्भीर, सकृय र साहसी हुने हो भने क्रान्तिकारी आन्दोलन सफलता र विजयमा पुग्न सक्छ । त्यसरी नै नेतृत्व आग्रही, पूर्वाग्रही नहुने हो भने; निहित व्यक्तिगत, पारिवारिक, गुटगत, जातिगत, क्षेत्रगत वा लिङ्गगत आदिजस्ता गैरसर्वहारा चिन्तन, प्रवृत्ति र स्वार्थमा नलाग्ने हो भने; आफैमा सिमित, संकुचित वा यान्तृक अथवा उदार, अराजक वा निरंकुश नहुने हो भने तमाम जटिलता र चुनौतीहरुलाई सामना गरेर क्रान्तिकारी पार्टी र आन्दोलन अघि बढ्न सक्छ तर त्यसो गर्न नसकेमा किमार्थ अघि बढ्न सक्तैन र मूलतः यथास्थितिमै रहिरहन्छ वा क्रमशः मतभेद र अन्तरद्वन्द्व हुने मात्र होइन गुट निर्माण र टुटफुट हुँदै विघटन र विसर्जनको दिशामा गएर पतन पनि हुन जान्छ ।
माओवादी पार्टी, क्रान्तिकारीपक्षको नेतृत्व र समग्र पार्टी र आन्दोलनको समीक्षा पनि उपरोक्त द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका कसीमा घोटेर गर्नु नै वस्तुवादी र बैज्ञानिक हुन्छ । यस्तो जानकारी हुँदाहुँदै पनि जुन नेताको नेतृत्वमा क्रान्तिको लागि भीषण जनयुद्धको थालनी गर्ने साहसिक निर्णय गर्दै जनयुद्धको सुरुवात, विस्तार र विकास हुन्छ, उही नेताकै नेतृत्वमा प्रतिक्रान्तिको बीजारोपण, संरक्षण र सम्बर्द्धन भई सम्पूर्णरुपले संसदवादमा पतन हुन्छ भन्ने सोंच्न सकिएन । यस्तो होला कि भनी अनुमान र आशंका नगर्नु अनि सावधानी र सचेतता पनि अवलम्बन नगरिनु अथवा त्यसका विरुद्ध गरिएको संघर्ष कमजोर र प्रभावहीन हुनुसमेत क्रान्तिकारीकै कमजोरी हो । नेपालमा माओवादी पार्टी, जनयुद्ध र आन्दोलनका सन्दर्भमा पनि यही दुखद विडम्बना भएको छ । यसलाई गहिरोसँग, गंभीरता र निर्ममतापूर्वक आत्मबोध र आत्मसमीक्षा नगरी क्रान्तिकारी रुपान्तरण हुन सक्तैन र यस्तो रुपान्तरण अर्थात् पूर्णरुपले शुद्धीकरण, सर्वहाराकरण र क्रान्तिकारीकरण नगरी नेपालमा माओवादी आन्दोलन पुनर्जागृत भै उठ्न सक्तैन । यति मात्र होइन, यसको मर्म र महत्व बोध नगरी नेपालमा कुनै पनि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा अघि बढ्न-बढाउन समेत असम्भवप्राय: छ ।
दुःखद् विडम्बना त अझ के भयो भने जनयुद्धद्वारा क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने निर्णय, पहल र साहस गरेको नेतृत्वले त्यसलाई विचलन, विघटन र विसर्जनमा पुराउँने लक्षण र संकेत बुझ्न नसक्ने र जो बुझेको पनि त्यस्तो नेतृत्वको यथोचित र प्रभावकारी विरोध गर्नुको साटो उल्टै उस्लाई पूर्ण विश्वासका साथ अन्धसमर्थन र सहयोग गर्नमा कहिले दक्षिणपन्थी अवसरवादीहरुसँग प्रतिस्पर्धा गर्ने त कहिले तिनै दक्षिणीपन्थी अवसरवादीहरुसँग साँठगाँठ गरेर प्रतिशोध साँध्नेगरी अन्धविरोध र अन्धअसहयोग गर्नुजस्ता कमजोरीसमेत भए ।
स्मरणीय छ, पूर्ण समर्थनका नाममा अन्धसमर्थन गर्ने दौरानमा नेतृत्वको पक्षपोषण र केन्द्रीकरणमा प्रतिस्पर्धा नै गरी प्राधिकार बनाउन र देवत्वकरण गर्नसमेत क्रान्तिकारी पक्षको नेतृत्वबाटै अहं भूमिका निभाउनु त झन् क्रान्तिकारीहरुको तर्फबाट ब्लन्डर नै भएको हो ! कसैले यहाँनेर यो कमजोरी भयो भनेर तर्क र तथ्य पेस गरेमा त्यसलाई विभिन्न तर्कवितर्क र कुतर्क गरेर क्रान्तिकारीपक्षकै नेतृत्वबाट त्यस्ता गल्ती-कमजोरी ढाकछोप गर्ने प्रयास समेत हुनु झन् दुखद हो । यस्तो प्रवृत्ति नेपाली जनयुद्धकालीन माओवादी कम्युनिस्ट क्रान्तिकारी पार्टी र आन्दोलनमा मात्र होइन अन्य नेपाली कम्युनिस्ट क्रान्तिकारी भनिने पार्टी र आन्दोलनमा पनि प्रसस्तै हुने गरेको छ ।
स्मरणीय छ, पूर्ण समर्थनका नाममा अन्धसमर्थन गर्ने दौरानमा नेतृत्वको पक्षपोषण र केन्द्रीकरणमा प्रतिस्पर्धा नै गरी प्राधिकार बनाउन र देवत्वकरण गर्नसमेत क्रान्तिकारी पक्षको नेतृत्वबाटै अहं भूमिका निभाउनु त झन् क्रान्तिकारीहरुको तर्फबाट ब्लन्डर नै भएको हो ! कसैले यहाँनेर यो कमजोरी भयो भनेर तर्क र तथ्य पेस गरेमा त्यसलाई विभिन्न तर्कवितर्क र कुतर्क गरेर क्रान्तिकारीपक्षकै नेतृत्वबाट त्यस्ता गल्ती-कमजोरी ढाकछोप गर्ने प्रयास समेत हुनु झन् दुखद हो । यस्तो प्रवृत्ति नेपाली जनयुद्धकालीन माओवादी कम्युनिस्ट क्रान्तिकारी पार्टी र आन्दोलनमा मात्र होइन अन्य नेपाली कम्युनिस्ट क्रान्तिकारी भनिने पार्टी र आन्दोलनमा पनि प्रसस्तै हुने गरेको छ ।
जे होस्, क्रान्तिकारी पार्टी र नेतृत्वका नीति, विधि र प्रवृत्तिमा भैरहेका यसप्रकारका गलत कामकार्वाहीहरुका प्रकृयामा जब विचारगत र आचारगत, राजनीतिक र सांस्कृतिक, संगठनात्मक र कार्यक्रमिक आदि विविध पक्षहरुमा चौतर्फी विचलन, विघटन र विसर्जनका संकेतहरु बारम्बार देखिन थाले तब ती विषयमा सूचना र सन्देशका अतिरिक्त सुझाव र दवाव स्वरुप आन्तरिक र बाह्य रुपमा अनि गुप्त र खुला रुपमा समेत चेतावनी र चुनौती दिइएपनि तिनको अर्थ र औचित्य हुने स्तरमा दिन नसकिएकैले त्यसप्रकारका क्रान्तिविरोधी चिन्तन-प्रवृत्तिहरु नेतृत्वपंक्तिदेखि क्रमश: तलतिर देखिंदै, दोहोरिंदै र बढ्दै-बढ्दै जान थाले । अन्ततः चौतर्फीरुपमा विचलित बन्दै गएको मुख्य नेतृत्वमाथि निर्णायक दवाव र प्रभाव पर्ने/पार्ने हदसम्म क्रान्तिकारी भनिने पक्षबाट हस्तक्षेप र विजय प्राप्त गर्न नसक्नु पनि क्रान्तिकारी पक्ष र प्रवृत्तिकै कमजोरी भयो । यो कमजोरी सामान्यतया सबजसो क्रान्तिकारी पार्टी, धार र प्रवृत्तिमा पनि हुँदै आएको छ । जनयुद्धजस्तो भीषण र भयावह उथलपुथल कारी माओवादी पार्टी र आन्दोलनका क्रममा समेत झन् गम्भीर र विशेष रुपले हुनाले नै अहिले क्रान्तिकारी भनिएका माओवादी लगायतका सबैजसो कम्युनिस्ट पार्टीहरु विघटन र विसर्जन उन्मुख छन् !
कहाँसम्म विडम्बना भयो भने जनयुद्धका सुपृमोसमेतका मुख्य नेतृत्वका वरिपरिदेखि क्रमशः तलसम्मबाट समेत त्यसप्रकारका नीतिगत र कृतिगत कमजोरीहरुको पनि अधिमूल्यन र आदर्शीकरण गर्दै अवलम्बन र कार्यान्वयन गर्न थालियो । नेतृत्वका देस, जनता र क्रान्तिविरोधी हर्कतहरुको संसदवादी जोडकोणबाट विभिन्न तर्क, वितर्क र कुतर्कहरुद्वारा पूर्णरुपले पक्षपोषण र महिमामण्डन गरेर तिनै गलत, विकृत र विसङ्गत विचार-व्यवहार, सोंच-शैली र संस्कार-संस्कृतिको उदात्तीकरणसहित व्यापक विस्तार गरी कार्यान्वयन नै गर्न-गराउन अभिप्रेरित गरियो !
जनयुद्धमा ज्यानको बाजि लगाएर त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम गरी आएको माओवादी पार्टी र आन्दोलनमा यस्तो अति हुँदै गएपछि मात्र क्रान्तिकारी पंक्तिद्वारा सामूहिक र संगठित विरोध गर्न त थालियो तर नेतृत्वलाई सुनाउने र मनाउने हदसम्म त्यो संघर्ष चर्काउन पनि नसकिएकै सत्य हो । यसो गर्न नसक्नुमा पनि एकातिर क्रान्तिकारीपक्षका नेतृत्वदायी पंक्तिका कतिपय नेताहरुका महत्वाकांक्षा, अभिमान, यान्तृकता, संकीर्णता, आग्रह, पूर्वाग्रह र प्रतिशोधपूर्ण चिन्तन र चरित्रजन्य गल्तीकमजोरीहरुले काम गरेका थिए । उल्लेख्य छ कि कदाचित विचलित नेतृत्वले क्रान्तिकारीहरुका केही सुझाव-दवाव र असहमती-विरोधहरुलाई सुन्न, मान्न र संबोधन गर्न तयार भएको भएपनि त्यो लागू हुन गाह्रो हुने अवस्था नै विकसित भैसकेको थियो किनकी माथिदेखी तलसम्म राज्यसत्ता र पार्टीशक्तिमा रहेको एउटा ठूलो पंक्तिमा संसदवाद अर्थात् सुखसुविधा, मोजमजा र भोगविलासमा रम्ने चरम उपभोक्तावादी विकृत संस्कृति हावी भैसकेको थियो । त्यो संसदवादी भास र दलाल व्यवस्थाको आस रुपी दलदलबाट उम्कन निकैनै गाह्रो पर्दथ्यो ।

वास्तवमा माओवादीको क्रान्तिकारी पक्षले अन्तरसंघर्षको यो प्रकृयाको टुङ्गो लगाउने उपयुक्त समय सेनासमायोजन गर्नुभन्दा अघिसम्मको समय थियो तर त्यो समय घर्काइयो । यसरी सेनासमायोजन गर्नुअघिसम्म पनि निर्णायक रुपले जान नसक्नाले क्रान्तिको ठूलो उपलब्धिको रुपमा रहेको जनमुक्ती सेना नै नलिएर विद्रोह गरिंदा त्यो क्रान्तिकारी विद्रोह बन्न सक्तैनथ्यो र सकेन पनि । किनकि अन्तर्संघर्षको यो लामो प्रकृया चलिरहँदा यस अवधीमा पार्टीको माथिदेखि तलसम्म र यहाँसम्म कि समर्थक-शुभचिन्तकहरुसम्म पनि त्यो प्रतिक्रान्तिकारी चिन्तन-प्रवृत्ति र संस्कार-संस्कृतिले गहिरोगरी जरा गाडिसकेको थियो ! यस्तो हुँदासम्म पनि क्रान्तिकारी नेतृत्वपंक्तिका तर्फबाट त्यसका विरुद्ध प्रभावकारी कदम र कार्यक्रम अवलम्बन र कार्यान्वयन गर्न-गराउन नसक्नु पनि अर्को गम्भीर कमजोरी भयो । फलतः दस बर्षसम्म भीषण जनयुद्ध संचालन गरेको शक्तीको क्रान्तिकारी पक्ष फौजी रुपले निसश्त्र राजनीती गर्ने र सांस्कृतिक रुपले कमाओवाद हावी भएको भ्रष्ट संस्कृति अवलम्बन गर्ने बाध्यतालाई विरासतका रुपमा बोकेर विद्रोह बोल्न पुग्यो ।
यसबारे समयमै सचेत नहुनु र आफूलाई समर्थन गर्नेले जेजस्तो आचरण गरेपनी संरक्षण र सम्बर्द्धन गर्ने तर आफ्नो रचनात्मक आलोचना गर्ने सहयात्री र कार्यकर्तालाई बक्रदृष्टिले हेर्ने काम नेतृत्वबाटै अनपेक्षित र अस्वाभाविक रुपमा भयो । यस्तो हुने गर्नाले विद्रोही पक्षले पार्टीलाई ससश्त्रीकरण, क्रान्तिकारीकरण, सर्वहाराकरण र साँस्कृतिक रुपले उन्नत बनाउन सकेन । यसको स्वाभाविक परिणतीस्वरुप आज माओवादी आन्दोलनको यो क्षतविक्षत अवस्था आइपुगेको हो । यो अवस्था आउनुमा क्रान्तिकारीपक्षको भूमिका कमजोर हुनु नै मुख्य कारण देखिन्छ । किनकी विजातीय बाह्यय शक्ति वा आफ्नै मूल पार्टीको संस्थापन पक्षले क्रान्तिकारीमाथी कुनै अस्वाभाविक र अपृय कार्वाही गरेको अवस्था थिएन । यो अवस्थामा विद्रोह गर्दा पनि क्रान्तिकारी विद्रोहीपक्षलाई अधिक संख्याका सिनियर-जुनियर नेता-कार्यकर्ता र समर्थक-शुभचिन्तक जनसमुदायको साथ, सहयोग र समर्थन थियो । यस्तो अनुकूल बेला पनि त्यसलाई समेटेर समयमै निर्णायक रुपले अघि बढ्न नेतृत्वले साहस नगर्नु क्रान्तिकारीपक्षकै कमजोरी मुख्य भूमिकाको रुपमा थियो भन्ने निष्कर्ष निकाल्नु नै सैद्धान्तिक र व्यावहारिक रुपले स्वाभाविक र सही हो । यो कुरा भन्न एउटा मार्क्सवादी सिद्धान्त र द्वन्द्ववादी दृष्टिकोण राख्ने जो कोही पनि हिचकिचाउनु पर्दैन ।
नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको मुख्य धारा, शक्ति र प्रवृत्तिको रुपमा स्थापित जनयुद्धकारी माओवादी पार्टी र आन्दोलनमा माथि संकेत गरिएको मात्र होइन, त्यसमाथी पनि कहाँसम्मको कमजोरी भयो भन्ने यो एउटा कुरा चाहिँ अलि स्पष्ट हुनेगरी नै भन्नू आवश्यक छ किनकी यो खुला र सार्वजनिक रुपमै भए-गरिएकै कुरा हो । त्यो हो कुख्यात धोवीघाट भेला र गठबन्धन । अन्तर्संघर्षका दौरानमा माओवादी क्रान्तिकारी भनिने पंक्तिभित्र आवेग र प्रतिशोधको मात्रा र प्रकृया यति बढ्यो कि जिन्दगीभरीजस्तो दुई विपरीत धाराका अर्थात् क्रान्तिकारी र अवसरवादी वा भनौं स्वाभिमानी र दलाल प्रवृत्ति र धाराका बिचमा संघर्षरत दुईथरी नेतृत्वका रुपमा परिचित र स्थापित नेताहरुबीचमै सहमति गरिएर कुख्यात धोवीघाट भेला भएर पार्टीभित्र नितान्त अपवित्र, अनैतिक, अवान्छित, अस्वाभाविक र असैद्धान्तिक (५ अ) जन्य कमजोरी गर्दै गठबन्धन समेत भयो । स्पष्ट रुपमा भन्नुपर्दा किरण, गौरव, वादल, विप्लव र देव गुरुङहरुको क्रान्तिकारी भनिएको पक्षले बाबुराम, नारायणकाजीजस्ता आफैले दक्षिणपन्थी र अवसरवादीको बिल्ला भिराएकाहरुसँग सहमति गरेर मूल "क्रान्तिकारी" नेतृत्व प्रचण्डका विरुद्ध बहुमत बनाई बाबुरामलाई प्रधानमन्त्री बनाउन खुलेर चुनौती दियो । स्वेच्छाचारी संस्थापनपक्ष प्रचण्डहरुमाथि यसरी हमला गर्ने निर्णय र कार्य एकातिर आवेग र प्रतिशोधमा आधारित थियो भने अर्कातिर विपरीत शक्ति, व्यक्ति र प्रवृत्तिहरुबीच माथि भनिएझैं (५ अ जन्य) अपवित्र गठबन्धन भएकाले दुईदिन पनि टिकेन । फलतः त्यो गठबन्धन क्रान्तिकारी भनिएकाहरुको लागि एकछिनको लागि "प्रचण्डलाई ठिक गरियो" भन्नेसम्मको आत्मरतीको माध्यम त भयो तर दीर्घकालीन परिणामका दृष्टिबाट हेर्दा त्यहीँबाट नै पार्टी फुटको शृङ्खला सुरु भयो र त्यो अन्ततः विखन्डन, विघटन र विसर्जनको सन्निकट पुगेर प्रत्युत्पादक र आत्मघाती नै बन्न पुग्यो ।
नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको मुख्य धारा, शक्ति र प्रवृत्तिको रुपमा स्थापित जनयुद्धकारी माओवादी पार्टी र आन्दोलनमा माथि संकेत गरिएको मात्र होइन, त्यसमाथी पनि कहाँसम्मको कमजोरी भयो भन्ने यो एउटा कुरा चाहिँ अलि स्पष्ट हुनेगरी नै भन्नू आवश्यक छ किनकी यो खुला र सार्वजनिक रुपमै भए-गरिएकै कुरा हो । त्यो हो कुख्यात धोवीघाट भेला र गठबन्धन । अन्तर्संघर्षका दौरानमा माओवादी क्रान्तिकारी भनिने पंक्तिभित्र आवेग र प्रतिशोधको मात्रा र प्रकृया यति बढ्यो कि जिन्दगीभरीजस्तो दुई विपरीत धाराका अर्थात् क्रान्तिकारी र अवसरवादी वा भनौं स्वाभिमानी र दलाल प्रवृत्ति र धाराका बिचमा संघर्षरत दुईथरी नेतृत्वका रुपमा परिचित र स्थापित नेताहरुबीचमै सहमति गरिएर कुख्यात धोवीघाट भेला भएर पार्टीभित्र नितान्त अपवित्र, अनैतिक, अवान्छित, अस्वाभाविक र असैद्धान्तिक (५ अ) जन्य कमजोरी गर्दै गठबन्धन समेत भयो । स्पष्ट रुपमा भन्नुपर्दा किरण, गौरव, वादल, विप्लव र देव गुरुङहरुको क्रान्तिकारी भनिएको पक्षले बाबुराम, नारायणकाजीजस्ता आफैले दक्षिणपन्थी र अवसरवादीको बिल्ला भिराएकाहरुसँग सहमति गरेर मूल "क्रान्तिकारी" नेतृत्व प्रचण्डका विरुद्ध बहुमत बनाई बाबुरामलाई प्रधानमन्त्री बनाउन खुलेर चुनौती दियो । स्वेच्छाचारी संस्थापनपक्ष प्रचण्डहरुमाथि यसरी हमला गर्ने निर्णय र कार्य एकातिर आवेग र प्रतिशोधमा आधारित थियो भने अर्कातिर विपरीत शक्ति, व्यक्ति र प्रवृत्तिहरुबीच माथि भनिएझैं (५ अ जन्य) अपवित्र गठबन्धन भएकाले दुईदिन पनि टिकेन । फलतः त्यो गठबन्धन क्रान्तिकारी भनिएकाहरुको लागि एकछिनको लागि "प्रचण्डलाई ठिक गरियो" भन्नेसम्मको आत्मरतीको माध्यम त भयो तर दीर्घकालीन परिणामका दृष्टिबाट हेर्दा त्यहीँबाट नै पार्टी फुटको शृङ्खला सुरु भयो र त्यो अन्ततः विखन्डन, विघटन र विसर्जनको सन्निकट पुगेर प्रत्युत्पादक र आत्मघाती नै बन्न पुग्यो ।
यस्तो दुखद अवस्था हुनुमा पनि स्पष्ट छ कि मूल कारण त क्रान्तिकारी पक्षकै थियो, यद्यपि जाल-झेल, झुठ-फरेब, छल-प्रपन्च र षड्यन्त्र गर्न माहिर प्रचण्ड र विदेसी साम्राज्यवादी-विस्तारवादीहरुका गोटी बनिसकेका प्रचण्ड र बाबुरामलाई आपसमा मिल्न सुझाव-दवाव आएपछी प्रतिक्रान्तिकारी विश्वासघाती मूल नेतृत्व प्रचण्ड र दलाल बनिसकेको अवसरवादी सहायक नेतृत्व बाबुरामलगायतका व्यक्ति, शक्ति र प्रवृत्तिबीच नै पुन: गठबन्धन भयो र बाबुराम प्रधानमन्त्री त बने तर प्रचण्ड र विदेसीको प्यादा बनेर काम गरे । यसक्रममा फौजी रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण उपलब्धीको रुपमा निर्मित जनमुक्ती सेना जस्लाई शान्तिप्रकृयाका नाममा क्यान्टोनमेन्टमा राखिएका थिए, तिनै आफ्नै जनमुक्ती सेनालाई प्रतिक्रियावादी सेनाद्वारा घेरावन्दी गराई अन्तिम चेतावनी र चुनौती दिएर आक्रमण नै गर्न सुरु गरेपछि आत्मसमर्पण गर्न बाध्य तुल्याइयो । यसरी नै राजनीतिक रुपले रणनीतिक महत्वको उपलब्धिको रुपमा बनेको संविधानसभाको विघटन पनि किरणजीहरुको गलत स्टेपले गर्दा प्रधानमन्त्री बनेका बाबुरामको नेतृत्वमा नै गराइयो । यति मात्र होइन, क्रान्तिकारी पक्षको यही गल्तीका कारण नेपालको उल्लेख्य क्रान्तिकारी पार्टी र आन्दोलनको रुपमा विकसित र स्थापित माओवादी पार्टी र आन्दोलनमा क्रान्तिकारीहरु एक्लिने, अल्पमतमा पर्ने र कमजोर बन्ने प्रकृया सुरु भयो । क्रान्तिकारी पक्षमा खासगरी किरण-गौरव, बादल र विप्लवहरुमा आएको वैचारिक विचलन र भावनात्मक प्रतिशोधको रुपमा भएको उक्त धोवीघाट प्रकरण क्रान्तिकारी पार्टी र आन्दोलनलाई विभाजन, विघटन र विसर्जनको आजको अवस्थामा पुराउने एक मुख्य मोड नै साबित भयो । उक्त गठबन्धन संसदीय राजनीतिका हिसाबले स्वाभाविक नै भएपनि क्रान्तिकारी राजनीतिका हिसाबले पूर्णत: गलत थियो ।
यसैको परिणामस्वरूप प्रतिक्रान्ति र प्रतिक्रान्तिकारीहरु झन् सबल र सुदृढ भए भने क्रान्ति र क्रान्तिकारीहरु कमजोर र विशृङ्खलित । यसरी आफैलाई कमजोर र विशृङ्खलित पार्ने अनि दलालहरुलाई एकजुट बनाइदिएर शक्तिशाली र सुदृढ पारेर पार्टी र सत्तामा हालीमुहाली गर्ने स्थितिमा पुराउने गम्भीर गल्ती गर्नपुग्नु क्रान्तिकारीहरुको स्वयंमा आत्मघाती कार्य नै हुन गएकोमा शंका छैन । दुखद स्मरणीय कुरा के छ भने यो पंक्तिकारले बाबुरामहरुसँग मिलेर प्रचण्डका विरुद्धमा जाइलाग्ने यो कदम अराजनीतिक, अपवित्र र अपृय हुने हुनाले गर्नै नहुने मत क्रान्तिकारीपक्षको पीवीको अलग्गै बैठकमा राखेको थियो । तर विडम्बना "तैंले बुझेको छैनस्, हामीले बुझेका छौँ, पछि बुझ्छस् तैंले" भन्दै यो पंक्तिकारलाई थुम्थुम्याउन मन्त्री बन्ने निर्णय गर्दा यो पंक्तिकारले भनेको थियो- "म भन्दा सिनियर नेता क. हरिभक्त कँडेल ( प्रतीक) लाई बनाऔं किनकी उहाँ सांसद पनि हुनुहुन्न" ।यसो भन्दै गर्दा निर्वाचित नभएकाले शासन गर्ने अलोकतान्त्रिक र अनैतिक कुरा हुन्छ भन्दै सके दुवैलाई नसके पनि यो पंक्तिकारलाई मन्त्री बन्ने भनेर विचलित तुल्याउने प्रयत्न गरियो ।
त्यो एउटा गलत तरिका थियो । यस्तो गर्दा क्रान्तिकारी आन्दोलन ध्वस्त हुन्छ भन्दै यो पंक्तिकार एकप्रकारले व्यथित भै मन शान्त पार्न राज्य पुनर्संरचना आयोगका सदस्य माधव अधिकारीसहित केही साथीहरुको टोलीसँग केही समयको लागि सुदूरपश्चिम नेपालको भ्रमणमा गएर बझाङसम्म पुगी फर्किएको थियो । अझ विचित्रको कुरा यो पनि भयो कि यो पंक्तिकार र प्रतीकलाई मन्त्री बन्ने निर्णय सामूहिक रुपमा भएको भए पनि पछि मन्त्री बनाउने बेला विप्लवको सुझाव-दवाव खास गरि `यी सोझा मान्छेहरु गएर पार्टीलाई पैसा जम्मा गर्दैनन्, त्यसमा त प्रकाण्ड सक्षम छ´ भनी भ्रष्टाचार र कमिसनको मिसनमा पार्टी चलाउने नीति र नियतले स्थान पायो र प्रकाण्ड अर्थात् खड्गबहादुर विश्वकर्मा मन्त्री बनाइए । क्रान्तिकारीहरु भनिएका भेटरान नेताहरु किरण, गौरव, बादल, गुरुङ र विप्लवहरु नैतिक रुपमा यस्तो विचलनमा आउनु र अझ त्यो पनि विधिगतरुपमा पोलिटब्युरो स्तरको बैठकले गरेको निर्णयलाई हेडक्वाटरको निर्णय भन्दै यसरी प्रकाण्ड पुन: अर्कोपटक मन्त्री बनाइएका थिए । मन्त्रीले गरेका अनियमित र अनैतिक काम-दामबाट क्रान्तिकारीहरुको गुट चल्ने-चलाउने सोंच पलाएपछि सोअनुसार हुन थाल्यो र क्रान्तिकारीहरुमा गल्तिमाथी गल्ती थपिंदै गए ।
क्रान्तिकारी पक्षबाट हुने र भएका यस्ता प्रकारका गल्ती-कम्जोरीकै कारण के निहुँपाऊँ कनिका बुकाऊँ भन्ने भैरहेको संस्थापनपक्षद्वारा अन्तर्विरोधलाई थप अस्वस्थ, अमैत्रीपूर्ण र निषेधपूर्ण रुपमा चर्काएर तिक्त, दुश्मनीपूर्ण र प्रतिशोधपूर्ण हुँदै-गराइंदै लगियो । यसरी माओवादी क्रान्तिकारीपक्ष समेत सम्मिलित सरकारले आफ्नै जनमुक्ती सेना विघटन, आफ्नै बाहुल्य रहेको संविधानसभा विघटन र अन्य कैयौं भ्रष्टाचार र राष्ट्रहितविपरीका तथा कम्युनिस्ट नीतिनैतिकता र मूल्यमान्यता विरुद्धका गैरक्रान्तिकारी गतिविधीहरु गर्ने-गराउने काममा प्रत्यक्ष-अप्रत्यक्ष सहभागीता-समर्थन गर्न समेत दवावमा पारी बाध्य बनाइदियो । यो परिस्थितिको आँकलन गर्न नसक्नु र यो दवाव समेत क्रान्तिकारी पंक्तिबाट थेग्न र अघि बढ्न नसक्नु जस्ता कमजोरी पनि क्रान्तिकारी पक्षकै भए । त्यसपछी पनि सत्ताधारी दक्षिणपन्थी र क्रान्तिकारी वामपन्थी दुई पक्षबीच एकले अर्कालाई दोषारोपण गर्ने खालले अन्तर्संघर्ष बढ्यो । पार्टीको र्याङ्क एन्ड फाइलमा माथिदेखी तलसम्म आपसमा अविश्वास, वितृष्णा र विरोध बढाउने प्रयास गरियो र भ्रमित पारियो कि एकातिर प्रचण्ड-बाबुराम-नारायणकाजी लगायतका प्रतिक्रान्तिकारी र अवसरवादी दलाल नेतृत्वको गठबन्धनयुक्त पार्टीमा बस्नु, संघर्ष गर्नु र रुपान्तरण वा विजयको आशा गर्नुमा क्रान्तिकारी भनिनेहरुमा विश्वास भएन भने अर्कातिर प्रचण्डलगायतका शान्ती र संविधानवादीहरुको पंक्तिमा पनि क्रान्तिकारीहरुकाप्रति वितृष्णा र विरोधको भाव बढाउने काम भयो ।
फलस्वरुप केन्द्रीय समितिभन्दा तल रहेका थुप्रै क्रान्तिकारी कमिटी र सदस्यहरुसम्म स्पष्ट, साँचो र तथ्य र तर्कमा आधारित अन्तर्संघर्ष नचल्दै र उनीहरुलाई स्पष्ट पारेर समेट्ने वातावरण नबन्दै क्रान्तिकारीपक्षको नेत्रित्वपंक्ती भावना, आवेग र उत्तेजनामा आएर बदलास्वरुप हतारमा विद्रोहको नाममा पार्टीमा विभाजन ल्याउने वातावरण बनाइयो ! यसरी धोवीघाट भेलापछी क्रान्तिकारीपक्षको यसप्रकार को कमजोरीका कारण चर्किएको माओवादी पार्टी र आन्दोलन रुपी हाँडी अन्ततः २०६९ साउन पहिलो हप्तामा बौद्ध भेलापछि दुई फ्याक नै भयो । त्यो विद्रोह र विभाजन हठात् र बलात् भएको थियो । यसमा कतिपय नेताको कतिपय नेताविरुद्ध व्यक्तिगत आवेग र प्रतिशोध अनि कतिपयको महत्वाकाङ्क्षा कति मिसिएको थियो भन्ने कुरा विभाजनको तीन बर्ष पनि बित्दानबित्दै क्रान्तिकारी पंक्तिमै अर्थात् किरण-विप्लवसमूह (नेकपा-माओवादी) मा विप्लवकै प्रत्यक्ष नेतृत्वमा फेरि अर्को विभाजन आयो ! विचित्र विडम्बना त अझ के भयो भने संस्थापन क्रान्तिकारी भनिएको पंक्तिमै अर्को बर्ष वित्दानबित्दै पुन: अर्को विभाजन भयो र संस्थापनको तलदेखि माथिसम्मकै बहुमत पंक्ति बादल-गुरुङको नेतृत्वमा आफैले घोषणा गरेको प्रतिक्रान्तिकारी र लाल गद्दार प्रचण्डहरुसँग मिसिन पुगियो तर किरण आफैले तयार गरेका १३ बुँदामा सहमति भएमा एकता गर्ने भनेर सहमत भएर पनि पछि किरण पक्ष भने प्रचण्डसँग एकताबद्ध भएन !
यी सम्पूर्ण विभाजनहरु र समग्र विचलनका पछाडि मूल क्रान्तिकारी नेतृत्वले क्रान्तिकारीहरुको सही पहिचान र मूल्यांकन गर्न नसक्नु ; धूर्त, गुटवादी, षड्यन्त्रकारी, महत्वाकांक्षी र अवसरवादीहरुलाई अति विश्वास गर्नु र नेतृत्व नै हस्तान्तरणकै स्तरमा व्यवहार गर्नु, उत्तराधिकारी निर्माणमा कुनै एक निश्चित क्षेत्रका नेताहरुलाई प्राथमिकता, प्रोत्साहन र प्रमोसन गर्नु जस्ता उदारवादी कमजोरी रहे । त्यति मात्र होइन, इमान्दार क्रान्तिकारीहरुप्रती संकीर्णतावादी, पूर्वाग्रही र प्रतिशोधी चिन्तन-प्रवृत्तिहरु प्रदर्शन गर्ने कमजोरीहरु पनि क्रान्तिकारीपक्षकै मूल नेतृत्वबाटै भए । यी कमजोरीहरुकै कारण संसार हल्लाउने स्तरमा पुगेको माओवादी पार्टी र दसबर्षे जनयुद्धसहितको क्रान्ति आज यो स्तरमा विचलन, विभाजन, विघटन र विसर्जन उन्मुख हुन पुगेको दुखददतम अवस्था छ । यस्तो हुँदा पनि पार्टीभित्रकै क्रान्तिकारीपक्षका गल्ती कमजोरी र असक्षमता आदिजस्ता कुराहरु कम जिम्मेवार छन् भन्यो भने सैद्धान्तिक र दार्शनिक रुपले समेत अर्को गल्ती हुन पुग्छ ।
हो, यो कुरा पनि हो कि आफैले भरविश्वास गरिएका, काखमा सुताइएका समकालीन सर्वोच्च नेतृत्व र उत्तराधिकारी बनाइएका नेताहरुबाट नै आफू, क्रान्ति र क्रान्तिकारी नेतृत्वप्रति अन्तरघात र विश्वासघात गरी प्रहार गरिएको कृतघ्नी जाल र चालका कारण समेत नेपाली क्रान्तिकारी कम्युनिस्ट पार्टी र आन्दोलनको खासगरी माओवादीहरुको आजको यो क्षतविक्षत अवस्था भएको हो । यस्ता कमजोरीहरु हरेक पटकका माओवादी विद्रोह र विभाजनका सन्दर्भमा पार्टीका क्रान्तिकारीपक्ष भनिएकाहरुबाटै भएका थिए जो क्रान्तिकारीकै आन्तरिक कमजोरी नै थिए । यसैगरी क्रान्तिकारी आवरणमा आएका वा आउने यस्ता अवसरवादी, व्यक्तिवादी, महत्वाकांक्षी, उपभोक्तावादी र यहाँसम्म कि सुरुसुरुका भ्रमित भाट र अन्ततिरका भ्रष्ट, भँडुवा, दलाल र गद्दारहरुको जन्म र विकास हुनुमा पनि पार्टीपंक्तिलाई नीतिमा, नैतिकतामा, मूल्यमा र मान्यतामा चलाउन नसक्मुजस्ता कमजोरी पनि क्रान्तिकारी नेतृत्वकै अर्थात् आन्तरिक कमजोरी नै थिए । ठिक यहींनेर संसदवादी, साम्राज्यवादी-विस्तारवादीलगा यतका देसी-विदेसी प्रतिकृयावादी शक्तिकेन्द्रहरु र तिनका घुसपैठ, आश्वासन-प्रलोभन, जालझेल, चलखेल, षड्यन्त्र, दमन र समनजन्य विविध प्रकारका प्रभाव, दवाव र हस्तक्षेप पनि कम्युनिस्ट पार्टी र आन्दोलनलाई ध्वस्त र त्रस्त पार्नमा महत्वपूर्ण कारणहरु रहेका छन् भन्ने कुरा कहिल्यै बिर्सनु हुन्न । तर ती बाह्य पक्ष प्रमुख र निर्णायक भने होइनन् । किनकि आन्तरिक रुपमा कसैमा कुनै कमजोरी नभै उनीहरु यसरी छिर्न र बिगार्न सक्तैनन् ।
राजनीतिमा जब नेतृत्व पंक्तिबाटै विचार, सिद्धान्त र मूल्यमान्यताको अवलम्बनमा अनदेखा, अवमूल्यन र अवहेलना हुनथाल्छ अनि विधि, पद्धति र प्रक्रियाको उल्लंघन हुन थाल्छ तब स्वार्थ, सुविधा र अवसरले निर्णायक महत्व र स्थान पाउन थाल्छ र भयो पनि त्यस्तै । भन्नाले संसदवादी चिन्तन र उपभोक्तावादी संसदीय सुखसुविधाभोगको संस्कृतिजन्य आशा र लालसाप्रति क्रान्तिकारी भनिएकाहरु धेरै नै ग्रसित र आकर्षित भएर शान्तिप्रकृयामा आएपछिको माओवादी र अन्य क्रान्तिकारी भनिएकाहरुको यो एकता मात्र होइन कि पछिल्लो पटकको विद्रोही माओवादीले संस्थापनसंग गरेको एकता पनि यसै क्षुद्र स्वार्थमा केन्दृत भएको थियो । फलस्वरूप यो प्रवृत्ति संसदीय अभ्यास अर्थात् चुनावमा भाग लिने र आफू र आफ्ना आसेपासे र गासेदासे बने-बनाइएकालाई विभिन्न नियुक्तिहरुमा सेट गर्ने र सत्ता र शक्तिलाई उपयोग गरेर व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थ पूरा गर्ने अनि आफ्नो क्षेत्रका जनताका केही आर्थिक कामहरु गराएर दलाली खाने संसदीय शक्ति र सत्ता बिना बाँच्न नसकिने ठानेर गरिएको थियो भन्ने पुष्टि हुँदै गयो । विकास र निर्माणका कामक बहानामा कमिसन, सहयोग, चन्दा आदि पाउन राम्रैसँग आदत परेकोले नेतृत्वको एउटा पंक्ति पुन: पुरानै घरमा फर्किएर माओवादी केन्द्र बनाइएको थियो ! यो कुरा फर्किएका नेतृत्वपंक्तिका तीन दर्जनजति केन्द्रीय नेताहरुमध्ये क्रान्तिकारी चिन्तन र चरित्र अनि स्वभाव र शैली बरकरार राखेका स्वाभिमानी इमान्दार आधा दर्जनजति नेताबाहेक सबै सेट भएबाट पनि पुष्टि हुन आयो !
यो कुराको थप पुष्टि एमालेसँगको माओवादीको एकता र विभाजनका सन्दर्भमा पनि भएको छ ! यसप्रकारको क्रान्तिहीन, सिद्धान्तहीन, नैतिकताहीन र मूल्यमान्यताहीन नितान्त संसदवादी, अवसरवादी, व्यक्तिवादी र पदप्रतिष्ठावादी एकता र विभाजन हुँदापनि सबैजसोले यहाँसम्मकी आफूलाई क्रान्तिकारी भन्ने र चर्का र ठुला कुरा गर्नेहरुले पनि अन्ततः अन्धसमर्थन र वा अन्धविरोध गर्नु विचित्र विडम्बना भएको छ । डबल नेकपाको रुपमा एकीकरण प्रकृया पूरा नभैसक्दै पुन: विभाजनमा जाँदा पनि केही अपवादलाई छोडेर सबैका सबै क्रान्तिकारी भनिएकाहरु समेत एमाले वा माओवादी गुटमा सामेल भएर कस्तो र कत्रो गल्ती गरेका छन् ? स्वयंमा स्पष्ट छ । क्रान्तिकारीहरु नै संसदीय गोलचक्करमा फसेर केहीले औपचारिक रुपले नै जबर्जस्ति मध्यावधी निर्वाचन थोपर्ने भन्ने र केहीले संसद पुनर्स्थापना गर्ने भनेर पुरानो, डेट एक्स्पायर र असफल सिद्ध भैसकेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई संरक्षण र सम्बर्द्धन गर्न मरिहत्ते गर्नु र नेकाजस्तो चरम प्रतिक्रियावादी शक्तिसंग मिलेr सत्तासुखभोग गर्नु, चुनावमा पनि त्यही शक्तिसँग देसव्यापी अपवित्र मोर्चा बनाएर लड्नु अनि आफूहरुलाई अझैपनि एक नं.कै क्रान्तिकारी भनी आत्मरती गर्नु केकस्तो हास्यास्पद कमजोरी हो स्वयंमा छर्लङ्ग छ ।
उल्लेख्य छ माओवादी धाराका प्रचन्ड, किरण, बाबुराम, विप्लव, धर्मेन्द्र, पूर्ण आदिका नेतृत्वमा गठित पुनर्गठीत वा एकीकृत जे जे रुप वा नाममा भएका पार्टी वा समूहहरुमा एक पटक होइन पटक पटक विद्रोह र फुटहरु भएका छन् । यस सन्दर्भमा ध्यानदिन लायक एउटा उदाहरण लक्ष्मण उप्रेतीको नेतृत्वमा विप्लवबाट विद्रोह गरेर बनेको नेकपा मालेमाकेन्द्र भने नेकपा रातो तारा, अखिल नेपाल कम्युनिस्ट पार्टी आदिमा एकीकृत, ध्रुवीकृत र पुनर्गठित हुँदै हाल लोक नारायण सुवेदी नेतृत्वको नेकपामा नेकपा (मार्क्सवादी) लगायतका शक्ति, समूह र व्यक्ती-व्यक्तित्वहरुलाई एकीकृत गर्दै अघि बढेको छ । जे होस्, क्रान्तिकारी भनेर चिनिएका र मानिएका ठुला नेताहरु स्वयं संसदवादको भासमा डुबेर यस्ता भेंडा र हनुमानदास होलान् र क्रान्तिलाई पूरै तिलान्जली दिदै उफ्रिएलान् भन्ने कल्पनासम्म पनि गर्न नसक्नु समेत सच्चा क्रान्तिकारी भन्नेहरुको पनि त गम्भीर कमजोरी नै हो !
आजसम्म आइपुग्दा यी क्रान्तिकारी कम्युनिस्ट भनिनेहरु जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु जोगाउने बहानामा आफ्नो खाइपाई आएको संसदवादी पदप्रतिष्ठा र हैसियत जोगाउन टुप्पिदेखिको बल लगाइरहेका छन् र संसदवाद, संविधानवाद, विधिपद्धतिवाद र लोकतन्त्रवाद जस्ता उही गन्हाएको संसद, संसदीय व्यवस्था र संसदीय मूल्यमान्यताको संरक्षण र सम्बर्द्धनमा ज्यान छाडेर लागेका छन् । त्यतिमात्र होइन आफूलाई देसभक्त, क्रान्तिकारी र सच्चा साम्राज्यवाद-विस्तारवाद तथा तिनका MCC र खुकुलो नागरिकता विरोधी भनेर डङ्का पिट्दै आएको यो पंक्तिको नेतृत्वले त अन्तत: महा राष्ट्रघाती MCC र नागरिकता विधेयकलाई समेत संसदबाट पास र कार्यान्वयन गरेर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका अगाडि घुँडा टेक्नाले आज देस विश्वकै नं एक दुश्मन अमेरिकी साम्राज्यवादको प्रत्यक्ष पंजामा पर्न थालेको छ ।
यसरी हरेक कम्युनिस्ट घटकका क्रान्तिकारी भनिने प्रायः सबैले वैकल्पिक क्रान्तिकारी सोंच, सिद्धान्त, शक्ति, संगठन, संघर्ष, सत्ता, शैली र संस्कृति आदि पूरै बिर्सिएबाट क्रान्ति त तिनका दिलदिमागदेखि नै पूर्णरुपले डिलिट गरेको भन्ने छर्लङ्ग भएको छ । क्रान्तिकारी भनिएका यस्ता दुईजिब्रेहरुलाई इमान्दार क्रान्तिकारीले समयमै चिन्न र यो संसदीय भ्रम, भ्रष्टता, भास र भाँडभैलोलाई समयमै चिर्न नसक्नु स्वयंमा ठूलै कमजोरी हो जो ज्यादै दुखद विडम्बना पनि हो । यहाँसम्म आइपुग्दा मूलधाराका भनिएका पटकपटक सत्तामा पुगेका तर राष्ट्रघात र भ्रष्टाचारभन्दा बढी केही नगरेका कम्युनिस्ट नामका यथास्थितिवादी दक्षिणपन्थी शक्ति, व्यक्ति र प्रवृत्तिको कुनै भ्रममा पर्न नहुने छर्लङ्ग छ । यसरीनै साम्राज्यवादी र प्रतिगमनकारी आदि सम्पूर्ण प्रतिक्रियावादीहरुका विरुद्धमा सदन, सकार र सत्ताबाहिर रहेका माओवादी स्कूल र अन्य क्रान्तिकारी धाराका सैद्धान्तिक र व्यावहारिक दुवैथरी क्रान्तिकारी भनिएका हामी क्रान्तिकारीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने पनि स्पष्ट नै छ । तथापि यस दिशामा गम्भीरतापूर्वक र दृढतापूर्वक अघि बढ्नुपर्नेमा उल्टो मौनता, अन्यौलता र ढुलमुलपना व्यक्त गर्नु र अझ अघि बढेर आपसी अन्तर्द्वन्द्व, अन्तरकलह र निषेध गर्दै टुटफुट र विभाजनसम्म पुग्ने कामकुरालाई बिराम लगाउनेतिर केन्द्रित हुन नसक्नु पनि हाम्रो सानो कमजोरी होइन । संसदवादी अवसरवादीहरु बिचमा टुटफुट र निषेधको हदसम्म अन्तर्विरोध र अन्तर्ध्वंश चर्किरहेको यो बेलामा वैकल्पिक क्रान्तिकारी बाटो देखाएर छरिएर रहेका र निस्कृय हुँदैगरेका क्रान्तिकारीहरुलाई समेटेर अघि बढ्नुपर्नेमा कतिपय शक्तिहरु चुनाव उपयोगका नाममा र कतिपय शक्तिहरु बहिष्कारका नाममा सीमित रहेर यस दिशामा अग्रसर हुनुभन्दा रहस्यमय ढङ्गले चुप लाग्नु पनि क्रान्तिकारी भनिएकाहरुको कम कमजोरी होइन ।
हो, अहिले सच्चा कम्युनिस्ट क्रान्तिकारीको अभाव नै छ र त्यस्ता क्रान्तिकारीको शक्ति र संगठनात्मक स्थिति कम पनि छ र। अनि उनीहरुलाई घेरावन्दी, नाकावन्दी, दमन र धरपकड पनि छ तथापि ती सबै प्रतिकूलतालाई अनुकूलतामा बदल्ने पहल र प्रयत्न पनि नदेखिनु वा जो देखिएको आशाका त्यान्द्रारुपी कार्यगत एकता र बन्दै गरेका रणनीतिक र दीर्घकालीन संयुक्त मोर्चा पनि निरन्तरतामा लैजाने पहल र हिम्मत नगरेर आफू पनि केही खास नगर्ने र अरुलाई पनि केही गर्न वातावरण नबनाइदिने गरी अनिर्णयको बन्दी बन्ने-बनाउनेजस्तो आत्मघाती काम हुँदै गएको छ जो पछिल्ला हामी क्रान्तिकारीहरुको एक अर्को हदसम्मको दुखद कमजोरी हो ! अन्तमा, दस बर्षे जनयुद्धका दौरानमा देस, जनता र क्रान्तीको लागि क्रान्तिकारी भनिएकाहरुको नीति-निर्देशन र कार्यक्रम-कार्ययोजनाका कार्यान्वयनका क्रममा हाँसीहाँसी बलिदान दिन तत्परहुने सम्पूर्ण ज्ञातअज्ञात अमर सहिद, बेपत्तायोद्धा, घाइते-अपाङ्ग, जेलहिरासतमा परेका र यातना भोगेका बन्दी तथा सम्पूर्ण रुपलेसमर्पित भएर लाग्नुभएका सबै नेता, कार्यकर्ता, योद्धा र आमजनताप्रती जनयुद्धको ३०औं बार्षिकोत्सव दिवस (जनयुद्ध दिवस) को सन्दर्भमा हार्दिक क्रान्तिकारी अभिनन्दन गर्दछु ।
साथै विगतका क्रान्तिकारीहरुले गरेका सकारात्मक कामकुराहरुलाई पच्छ्याउँदै, नकारात्मक कामकुराहरुलाई पन्छाउँदै र तिनबाट पाठ सिक्दै छरिएर र छिन्नभिन्न भएर रहेका सच्चा क्रान्तिकारीहरुबीच एकीकरण, ध्रुवीकरण वा गठबन्धन गरेर राष्ट्रिय राजनीतिमा सशक्त हस्तक्षेप गरी देसमा अधुरो छाडिएको नयाँजनवादी क्रान्तिलाई हाम्रो आफ्नो मौलिकता र विशिष्टतामा सिर्जनात्मक रुपले अघि बढाएर गुणात्मक रुपले पूरा गर्नको लागि सम्पूर्ण न्याय, समानता, स्वतन्त्रता र स्वाधीन राष्ट्रका पक्षधर आम जनसमुदायहरु एकतबद्ध हुन सकौं भन्ने हार्दिक शुभकामना दिंदै विदा चाहन्छु ।
परिमार्जित मिति २०८२ फागुन १
नोट : लेखक ततकालीन नेकपा (माओवादी) का संस्थापक एवं जनयुद्ध थालनीकर्तामध्येका एक केन्द्रीय नेता हुनुहुन्छ । विगतमा भिन्नै शीर्षक र सन्दर्भमा लेखिएको यो लेख हाल उहाँद्वारा नैपरिमार्जित र अद्यावधिक गरी सान्दर्भिक समेत तुल्याएर पठाइएकोले हामीले छापेका हौं - संपादक ।
नारायणप्रसाद शर्मा